क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय सम्मेलन जेठ १६ र १७ मा

क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय सम्मेलन जेठ १६ र १७ मा


बुटवल । क्रान्तिकारी पत्रकार महासंघको केन्द्रीय सचिवालयको बैठकले संगठनको राष्ट्रिय सम्मेलन जेठको १६ र १७ गते ५ नं. प्रदेशको बुटबलमा गर्ने भएको छ । महासंघको शनिबार बुटवलमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य राजवीरको विशेष उपस्थिति रहेको बैठकको अध्यक्षता तथा सञ्चालन संगठनका अध्यक्ष इन्द्र राउतले गरेका थिए । बैठकमा संगठनका सल्लाहकारद्वय हिरामणि दुःखी, टेकबहादुर मास्कीको समेत विशेष उपस्थिति रहेको थियो । संगठनका उपाध्यक्ष नारायण पंगेनी, सचिव रामकुमार श्रेष्ठ, कार्यालय सदस्य लोकराज जैसी, १ नं. प्रदेशका संयोजक मधुकर थापा, २ नं. प्रदेशका संयोजक शिवशंकर पाण्डे, ३ नं. प्रदेशका संयोजक रनसुर महतरा, ४ नं. प्रदेशका संयोजक गोपाल जिसी, ५ नं. प्रदेशका संयोजक दामोदर खनाल र ७ नं. प्रदेशका संयोजक धनञ्जय अवस्थीको बैठकमा सहभागिता रहेको थियो ।
बैठकले बैशाखभित्र बाँकी प्रदेशका भेला सम्पन्न गर्ने र सम्भव भएका जिल्लाहरुमा पनि सोही मितिभित्र भेला तथा सम्मेलनहरु सम्पन्न गर्ने निर्णय गरेको छ ।
सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न बैठकले तीनवटा संगठनका अध्यक्ष इन्द्र राउतको संयोजकत्वमा विधान तथा प्रतिवेदन लेखन उपसमिति, सचिव रामकुमार श्रेष्ठको संयोजकत्वमा आर्थिक तथा व्यवस्थापन उपसमिति र कार्यालय सदस्य लोकराज जैसीको संयोजकत्वमा प्रचार प्रसार तथा प्रकाशन उपसमिति निर्माण गरिएको छ ।
बैठकले साना तथा स्वरोजारमुखी मिडियाको जीवन समाप्त पार्ने गरी सूचना विभागले जारी गरेको परिपत्र खारेजी तथा श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन लगायतका विषयलाई लिएर ज्ञापन पत्र बुझाउनेदेखि धर्ना दिनेसम्मका कार्यक्रम गर्ने समेत निर्णय गरेको छ ।