
काठमाडौं । कृष्णदास श्रेष्ठ फाउन्डेसनले चैत्र ३० गते कमरेड कृष्णदास श्रेष्ठको श्रद्धाञ्जली सभा गर्ने भएको छ । फाउन्डेसनको हालै बसेको बैठकले चैत्र ३० गते प्रज्ञा भवन कमलादीको प्रवचन कक्षमा श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको छ ।
प्राप्त समाचार अनुसार श्रद्धाञ्जली सभामा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’, पूर्व प्रधानमन्त्री तथा डबल नेकपाका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, पुष्पकमल दाहाल‘प्रचण्ड’, वयोवृद्ध नेता विष्णुबहादुर मानन्धर, मोहनविक्रम सिंह, सीपी गजुरेल, सिपी मैनाली, लोकनारायण सुवेदी, स्वनाम साथी, लोककृष्ण भट्टराईलगायतका नेताहरु उपस्थित रहने फाउन्डेसनले जनाएको छ ।
कमरेड कृष्णदास श्रेष्ठकी जीवन संगिनी अर्थात् कृष्णदास फाउन्डेसनकी अध्यक्ष महालक्ष्मी श्रेष्ठका अनुसार सबै फाउन्डेसनका प्रमुखहरु, वाम बुद्धिजीवीहरु, लेखक तथा पत्रकारहरुको समेत श्रद्धाञ्जलीसभामा उपस्थिति रहनेछ । कार्यक्रम दिनको १ बजेबाट सुरु गरिने बताइएको छ ।





























