स्मृतिको रक्तिम पानामा कमरेड गमबहादुर मोक्तान ‘पहाड’

प्रकाशित मिति : २०७५ चैत्र २०

- सिंहबहादुर गोले

अहिले यतिबेला म कमरेड गमबहादुर मोक्तान ‘पहाड’ को क्रान्तिकारी जीवन, जहाँ उहाँ सबै परीक्षाहरूमा विशिष्ट श्रेणीमा उत्तीर्ण हुनुभयो, को स्मरण गरिरहेको छु । उहाँ नेपाली क्रान्तिको एक होनहार व्यक्तित्व हुनुहुन्थ्यो । यस पटक उहाँको क्रान्तिकारी निष्ठा र योगदानसहित उहाँको संक्षिप्त जीवनीका केही हरफ कोर्ने जमर्को गरेको छु ।

कमरेड गमबहादुर मोक्तान ‘पहाड’को नाम उच्चारण गर्दा चितवनको वर्ग सङ्घर्ष र त्यसको प्रतिविम्बको ताजा अनुभूत हुन्छ । उहाँ मालेमावादी विचारमा प्रतिबद्ध एक होनहार तार्किक व्यक्ति हुनुहुन्थ्यो । २०१८ सालमा चितवनको अति विकट पहाड तात्कालीन कोराक गा.वि.स. वडा नं. ४ मा पर्ने नलुमटारको एक झुपडीमा उहाँको जन्म भएको थियो । गरीब किसान परिवारमा बुवा गोपिलाल र आमा देवकन्या तमाङको कोखबाट उहाँको जन्म भएको थियो । उहाँको परिवारले चरम गरीबी र अभावको सामना गर्नु पर्दथ्यो र यही स्थितिमा उहाँको बाल्यकाल बित्यो ।

शिक्षादीक्षाका लागि गाउँमा एउटा पनि विद्यालय थिएन । उहाँले प्रारम्भिक शिक्षा हासिल गर्न पनि ठूलै सङ्घर्ष गर्नुपर्यो । अध्ययनका लागि उहाँ कहिले धादिङ र कहिले चितवनका गाउँहरूमा धाउनु हुन्थ्यो । विभिन्न विद्यालयहरू चाहार्दै उहाँले कक्षा ८ सम्मको प्रमाणपत्र हासिल गर्नुभयो । गाउँमा विद्यालय नभएकाले उहाँकै पहलमा र अगुवाईमा नलुमटामा स्थापना भएको एउटा प्रा.वि. सञ्चाभलन भइरहेको छ ।

उहाँ परिवारमा माहिलो हुनुहुन्थ्यो । उहाँका चार दाजुभाइ र तीन दिदीबहिनी हुनुहुन्छ । जेठा दाजु क. गुञ्जबहादुर मोक्तान, साहिंलो भाइ क. बमबहादुर मोक्तान र कान्छो भाइ क. कर्णबहादुर मोक्तान हुनुहुन्छ । सबै दाजुभाइ ऐ.ने.क.पा.(माओवादी) को सदस्य एवम् विभिन्न तहको जिम्मेवारीमा क्रियाशील हुनुहुन्छ । दिदीबहिनीका सबै परिवार पार्टीका समर्थक तथा शुभचिन्तक हुनुहुन्छ । सहिद कमरेड गमबहादुर मोक्तानको विवाह २०४६ सालको प्रारम्भमा सीतामाया तमाङ (रुम्बा) सँग भयो । उहाँहरूका ३ छोराहरू र एक छोरी छन् ।

जेठा दाजु क. गुञ्जबहादुर मोक्तानको प्रेरणाबाट कम्युनिष्ट राजनीतिमा प्रवेश गर्नुभएका क. गमबहादुर मोक्तान २०३८ सालदेखि तत्कालीन रूपलाल विश्वकर्मा नेतृत्वको सर्वहारावादी श्रमिक सङ्गठनमा सङ्गठित भइ क्रियाशील हुनुभयो । कम्युनिष्ट पार्टीहरू फुट र विभाज हुने क्रमसँगै क्रान्तिकारी धार तथा विचारको नेतृत्व गर्ने ने.क.पा.(मशाल), ने.क.पा.(एकताकेन्द्र) हुँदै ने.क.पा.(माओवादी)को विभिन्न तहमा रहेर काम गर्नुभयो ।

उहाँ संशोधनवाद, नव संशोधनवाद र प्रतिक्रियावादमा पतनहुँदै गएका कम्युनिष्ट नामधारी पार्टी वा गुटहरूको उहाँ कडा विरोधी हुनुहुन्थ्यो । जुनसुकै कठिन मोडमा पनि उहाँ क्रान्तिकारी विचार र कार्यदिशाको पक्षमा उभिनु हुन्थ्यो । महान् जनयुद्धको प्रारम्भदेखि नै चितवनको पहाडमा जे जति फौजी तथा प्राविधिक तालिमहरू हुन्थे, ती सबै महत्वपूर्ण योजनाहरू उहाँकै व्यवस्थापन, सुरक्षा र भूगोल छनौटको आधारमा सम्पन्न हुने गर्दथे ।

लेखम चुलीको फौजी सामग्री उत्पादन तालिम, कान्दाको फौजी तालिम, परेवाकोटको फौजी तालिम, कामीटारको हतियार तथा प्राविधिक तालिम आदि मुख्य छन् । ने.क.पा.(माओवादी)का सबै फौजी, गैरफौजी तालिम तथा सानाठूला केन्द्रीकरण तिनै विकट पहाडका गाउँ, बस्ती, कुना, कन्दरा, ओढार र जङ्गलमा हुने गर्दथ्यो । ती महत्वपूर्ण योजना तथा कार्यक्रमका लागि आवश्यक खाद्यान्न, फौजी तथा बन्दोवस्तीका सामग्रीहरू मैदानदेखि करिब २ दिनको पैदल यात्राबाट ढुवानी गरिन्थ्यो ।

त्यस कार्यमा उहाँको भूमिका महत्वपूर्ण र निर्णायक हुने गर्दथ्यो । उहाँ हाम्रो पार्टीको अथाह सम्पत्ति अर्थात् मूल्यावन मोती जस्तै हुनुहुन्थ्यो । जनयुद्धको प्रारम्भसँगै भएको सोमीटार साना किसान बैंकमाथिको कारबाही लगायतका फौजी, गैरफौजी सङ्घर्षमा हामीसँगै हुन्थ्यौँ र उहाँको भूमिका मुख्य रहन्थ्यो ।

नेपाली क्रान्तिको ऐतिहासिक आवश्यकतासँगै ने.क.पा. (माओवादी)को नेतृत्वमा सञ्चालित महान् जनयुद्धले आधा दशक पार गर्दा राज्यको प्रहरी शक्ति एकपछि अर्को गरी परास्त भैसकेको थियो । गाउँगाउँबाट सामन्त, जाली, फटाहा र भ्रष्टाचारीलाई पत्तासाफ गर्दै स्थानीय सत्ताहरू पार्टीले कब्जा गर्न सफल भयो । दुश्मनका गुप्तचर, प्रहरी प्रशासक गाउँमा टिक्न नसकी सहर र सदरमुकाममा केन्द्रित हुँदै थिए । विसाल जनताको सहयोग र समर्थनमा अगाडि बढेको महान् जनयुद्धले दुश्मनका जङ्गल सर्च अप्रेशन, किलो शेरा टु अप्रेशन, लगायतका हिंसात्मक हत्या र दमनको प्रतिरोध गर्दै अगाडि बढ्दै थियो ।

दुश्मनको अगाडि शाही सेना परिचालन गर्नुको अर्को विकल्प बाँकी थिएन । त्यही पृष्ठभूमिमा शाही सेना परिचालन गर्न अनिच्छुक उदारवादी राजा वीरेन्द्रको षड्यन्त्रपूर्वक वंश नाश गरी अर्को कोतपर्वको मञ्चन गरियो । साम्राज्यवाद तथा विस्तारवादको मुख्य योजना र निर्देशनमा जनयुद्धलाई समाप्त पार्ने दुस्साहससहित कथित राजाको रूपमा ज्ञानेन्द्र शाही सत्तामा आए । त्यस लगत्तै तात्कालीन संसद र सरकारको बिघटन गरी ज्ञानेन्द्र स्यवम्ले सरकारको नेतृत्व पनि आफ्नै हातमा लिए ।

राजतन्त्रको हित हुनेगरी बनाइएको २०४७ को संविधानलाई “सरकारकै उत्कृष्ट संविधान” भनेर डिङ हाँक्ने नेपाली काँग्रेस, ने.क.पा.(एमाले) लगायतका संसदीय पार्टीहरूको अवस्था उक्त घटनापछि “हिस्स बूढी, हरिया दाँत” भनेजस्तै भयो । “घेरा हाल र सिध्याऊ” भन्ने दुश्मनको फौजी योजनाको पहिलो निशाना चितवनको पूर्वोत्तर पहाड बन्यो ।

धादिङको दक्षिणपश्चिमको जोगीमारा, धुसाको सीमा, मकवानपुरको पश्चिमोत्तर सीमा काँकडासँग जोडिएका ब्रोसबाङ, वाकराङ, पर्खाल, हुम्चुङ, तिरुवा, डिहिटार, कान्दा, ज्यारबाङ, नलुमटार क्षेत्रका चेपाङ, तमाङ बस्तीलाई चारैचिरबाट शाही सेनाको हजारौं युनिफाइड शक्तिले घेरा हाल्यो । सुनिन्थ्यो, त्यस क्षेत्रमा ने.क.पा.(माओवादी)को जिल्ला मुख्यालयको बास रहेको सूचना दुश्मनलाई थियो ।

तर दुश्मन खाली हात निरास भएर फर्कन बाध्य भयो । दुश्मनले प्राप्त गरेको सूचना पूरै गलत भने थिएन नै । त्यस क्षेत्रमा तात्कालीन गण्डक क्षेत्रीय ब्यूरोको सेल्टर थियो । जहाँ तात्कालीन चितवन जिल्ला इञ्चार्ज, क. श्याम, क. उत्तम, क. सिंहलगायतको नेतृत्वको निरन्तर जमघट हुने गर्दथ्यो । त्यहाँ धादिङ, गोरखा र चितवनको समग्र योजनाको तर्जुमा र समीक्षा हुने गर्दथ्यो । गण्डक क्षेत्रले पूर्वी कमाण्ड र पश्चिम कमाण्डबीच पुलको भूमिका निर्वाह गर्नु पर्दथ्यो ।

त्यसमध्ये पनि चितवनको उच्च पहाडका चेपाङ बस्ती, जो धादिङ र मकवानपुरसँग जोडिएको छ, ले महत्वपूर्ण भूमिका खेल्ने गर्दथ्यो । त्यो क्षेत्र महत्वपूर्ण ट्राफिक रूट भएकाले त्यस बखतमा मुख्य नेतृत्वसहितका महत्वपूर्ण नेताको पनि आवतजावत हुने गर्दथ्यो । त्यो अप्रेशनको बेला भने अखिल नेपाल किसान संघ (क्रान्तिकारी) का तात्कालीन अध्यक्ष ७२ वर्षीय क. शिवराज गौतम र क. श्यामसँगै हुनुहुन्थ्यो । स्टाफ र कार्यकर्ताको फौजी कुशलताका कारण उहाँहरू दुश्मनको घेरा तोडेर सुरक्षित इलाकातर्फ लाग्न सफल हुनुभयो ।

त्यस सिलसिलामा कोराकको रातोमाटे, पोखरी गाउँबाट क. जुना ढकाल र क. मिना चेपाङ ‘आस्था’ (जसलाई महिनौसम्म सामुहिक बलत्कार र यातनापछि हत्या गरी लाशसमेत गायब गरेका थिए) लाई गिरफ्तार गर्यो । उहाँहरूलाई अमानवीय यातना र बलत्कार गर्दै निर्वस्त्र रूपमा गाउँमा घुमाउँदै लिएर हिँडेका थिए । त्यो खबरले पीडा र आक्रोशको ज्वाला दन्केको अनुभूत हुन्थ्यो । उता २०५८ जेष्ठ ८ गते क. गमबहादुर मोक्तान दुश्मनको कब्जामा परेको खबरले अर्को पीडा र आक्रोश थपेको थियो । उहाँलाई हिलेपानी, दमाइटार गाउँको फेदी लोथर खोलामा शाही सेनाको आईएन्टी ग्रुपले गिरफ्तार गरेको रहेछ ।

खोलाको पानीमा डुबाउँदै निर्मम् यातना दिएकाले अर्धमृत अवस्थामा उहाँलाई डिहिटार गाउँको एउटा घरमा लगेर दिनैभरि चरम यातना दिएर तड्पाएका थिए । उहाँले ती जंगली कायरहरूसँग निरन्तर प्रतिवाद मात्र गरिरहनु भयो । “मबाट पार्टी र क्रान्तिलाई नोक्सान हुने गरी केही पाउँदैनौ, कायरहरू हो ! मलाई मार !” जस्ता चुनौतिपूर्ण शब्द वाणले दुश्मन कायल भएको रहेछ । उहाँबाट दुश्मनले केही पाउन सकेन । बरु दोहोर्याइरहनु भयो– “ने .क.पा.(माओवादी) जिन्दावाद ! नेपाली क्रान्ति जिन्दावाद !, जनताको जित सुनिश्चत छ, दुश्मन हो ! तिमीहरू एक दिन नष्ट हुने छौं ।”

अन्त्यमा, ती कायरले आफ्नो कब्जामा रहेका जननेता कमरेडलाई त्यही राती ब्रुम्ती खोला (कोराकतर्फको लोथर खोला किनार) मा लगेर गोली हानी कायरतापूर्वक हत्या गर्यो । क्रान्तिको होनहार प्रतिभा, पार्टीको कुशल कार्यकर्ता, जनताको प्यारो नेता कमरेड गमबहादुर मोक्तान “क.पहाड” को भौतिक शरीर सदाको लागि अन्त्य भयो । त्यो पीडामा लोथर खोलाको सुसाहट रोकियो, काठिन चुली, लेखम चुली अनि ब्रोसबाङ डाँडा पनि झुक्यो र चराचुरुङ्गीहरू मौन बसेको आभाष हुन्थ्यो ।

आज उहाँको क्रान्तिकारी विचार कामिनचुली पहाड झैँ अटल र अमर बनेको छ । क. माओले भने झैं “बलिदान क्रान्तिको उर्जा हो ।” उहाँको त्यो उच्च सहादत, पार्टी र क्रन्तिको लागि ठूलो उर्जा बनेको छ । त्यो सहादतले सर्वहारावर्गको मुक्तिका लागि हामीलाई मृत्यु रोज्न प्रेरित गरिरहेको छ ।

उहाँ हरेक समस्या र अन्तरविरोधलाई वर्गीय देख्नु हुन्थ्यो । वर्ग सङ्घर्ष र अन्तरसङ्घर्षलाई जीवन ठान्नु हुन्थ्यो । सम्झौताहीन सङ्घर्ष उहाँको अर्को पहिचान थियो । विचारमा स्पष्ट र तार्किक स्वभावका कारण विरोधी खेमाका मान्छेहरू उहाँदेखि आतङ्कित हुन्थे । उत्पीडित जनताको हकहितको पक्षमा निरन्तर उभिने कार्यशैलीले गर्दा उहाँ जनस्तरमा राम्रो स्थापित हुनुहुन्थ्यो ।

त्यसैले त वर्ग दुश्मनको पहिलो निशाना बन्नु भयो । स्थानीय स्तरमा उहाँसँग सहकार्य अत्यन्त उर्जाशील हुने गर्दथ्यो । चितवनको कोराकस्थित किसानमारा “साना किसान बैंक” माथिको कारबाहीमा सँगसँगै भरूवा बन्दुक पड्काउँदै किसानमारा राज्यविरुद्ध धावा बोल्दाको त्यो घडीलाई स्मरण गर्दा मलाई अहिलेझैँ लाग्छ । सो कारबाहीको क्रममा गोरखा र धादिङबाट छापामार दस्ता (स्क्वायड टिम) पनि सहभागी थियो । उहाँको व्यवस्थापन र रूट गाइडको भूमिका पनि हामी सँगै रहेर पूरा गरेका थियौँ ।

जति वर्ग सङ्घर्षप्रति उहाँको निष्ठा थियो अन्तरसङ्घर्षमा पनि उहाँ सतीसालझैँ जमेर लड्नुहुन्थ्यो । सायद २०५८ सालमा हुनुपर्दछ, चतवनको कोराकमा पार्टीको महत्वपूर्ण आन्तरिक कार्यक्रम थियो । जहाँ पार्टी अध्यक्ष क. प्रचण्डको उपस्थिति थियो । त्यहाँ क. गमबहादुर मोक्तानले जिल्ला पार्टीमा विद्यमान गलत चिन्तन र प्रवृत्तितर्फ सङ्केत गर्दै कार्यक्रमस्थलमा आक्रोश पोख्नु भएको थियो । सहकार्यको क्रममा मलाई बारबार भन्ने गर्नुहुन्थ्यो, “कमरेड विचार र राजनीतिलाई केन्द्रमा राखेर वर्ग सङ्घर्ष र अन्तर सङ्घर्ष लड्दै जानुस्, मैले भन्दा तपाईंले पार्टी क्रान्तिलाई धेरै योगदान पुर्याउनु पर्दछ ।

तपाईंको राजनीतिक भविष्य सुन्दर छ ।” महान् सहिद कमरेडको उक्त भनाइले मलाई जीवनका हरेक मोड र पाइलामा घच्घच्याइरहेको छ । त्यो अपेक्षात्मक निर्देशनले मेरो राजनीतिक जीवनमा मार्ग निर्देश गरिरहेको छ । कमरेडको सपना पूरा गर्ने अठोट लिएको छु । शब्द श्रद्धाको कुरा होइन, महान् सहिद कमरेडको निर्देशन र अपेक्षा पूरा गर्न सक्नु नै उहाँप्रतिको वास्तविक श्रद्धा र सम्मान हुने छ ।

हामीलाई पीडा हुन्छ, भैरहेको छ कि आज ती महान् सहिद कमरेडको झुप्रा घरमा ताला लागेको छ । कुनै बेला त्यो घर पार्टीको महत्वपूर्ण बास र कार्यालयको रूपमा रसिलो र रङ्गिन थियो । उहाँको परिवार आज अभिभावकविहीन बनेको छ । आवास, शिक्षा, स्वास्थ्य तथा जीवीकाको अधिकारबाट ससाना छोराछोरीहरू बञ्चित भैरहेका छन् । अभिभावकविहीन ती सहिद परिवारको भविष्य डाँबाडोल हुने स्थिति देखिन्छ । यो सबै सहिद परिवारको साझा समस्या हो ।

हाम्रो पार्टी ए.ने.क.पा.(माओवादी) त्यो परिवारको अभिभावक बन्न सकेको छैन । अभिभावक बन्न सक्नु पर्छ । क्रान्तिका ठूला ठूला कुरा गर्न सजिलै होला । तर महान् सहिदले जो जे लक्ष्य र सपना बोकेर आफ्नो रगतले धर्ती सिञ्चित गर्नुभयो, त्यो पूरा गर्न प्रतिबद्ध हुन सक्नु नै क्रान्तिकारिता हुनेछ । आदर्शमा होइन, ब्यवहार, कार्यशैली र जीवनशैलीमा क्रान्तिकारी बनौँ । त्यही नै महान् सहिदप्रतिको सच्चा श्रद्धा र सम्मान हुनेछ ।

महान् सहिद कमरेड गमबहादुर मोक्तान “पहाड” लाई पुनः एकपटक रातो सलाम !