सरकार किन मौन छ खतराको पूर्व संकेत दिने मौसमी संयन्त्र राख्न ?

प्रकाशित मिति : २०७५ चैत्र १८

नेपालमा हावाहुरी, भूकम्प र ज्वालामुखी तथा अन्य प्राकृतिक प्रकोपहरुको पूर्व जानकारीका आवश्यक संयन्त्रहरुको निकै अभाव छ । यसतर्फ न त सरकारको न त कुनै निजी संघसंस्थाहरुको ध्यान गएको छ । राज्यका हर्ताकर्ताहरु खर्बौको कमिसन कहाँबाट आउँछ भन्ने कुरामा जति पूर्व सचेत र सतर्क छन्, तर देशको जनधनको क्षतिहुने कुरामा पूर्व सचेत र सतर्क छैनन् ।

आइतवार बारा, पर्सालगायतका तराईका जिल्लाहरु आएको भीषण हावाहुरीमा २८ को मृत्यु हुनुका साथै ४०० बढी घाइते हुन पुगेका छन् । घाइतेहरुका लागि स्थानीय अस्पताल तथ स्वास्थ्य चौकीहरुमा उपचारका लागि ठाउँको अभाव र गम्भीर घाइतेहरुका लागि रगत अभाव रहेको कुराहरु प्रकाशमा आइरहेका छन् ।

हावाहुरीका कारण बारा जिल्लाका विभिन्न गाउँमा २५ जना र पर्सामा २ जनाको ज्यान गएको हो । हावा हुरीले घरका छानाहरू उडाउनुका साथै रूखहरू ढल्नु, पोलहरु ढल्नु तथा उडाइएका बस्तुहरु लाग्न पुगी घाइतेहरुको संख्या निकै बढेको छ ।

सामान्य घाइतेदेखि गम्भीर प्रकृतिका घाइतेहरुका सबैभन्दा बढी चाप वीगरगञ्जको नारायणी अस्पतालमा छ । चिकित्सकका अनुसार त्यहाँ २ सय जना भन्दा बढीको उपचार भइरहेको छ । उपचारका लागि बेडको अभाव भएकाले अस्पतालको बरण्डा, पेटी तथा अस्पताल परिसरमा पाल टाँगेर पनि उपचारलाई निरन्तरता दिइएको छ ।

साँझ करीब साढे ७ बजेको समयमा आएको भीषण हवाहुरीले बस्तीहरु, खेतीबारी, बालीनाली, फलफूल, नर्सरी तथा वनजंगगलमा पनि ठूलो क्षति पुर्याएको छ ।

मौसमी पूर्वामानुमानका आधुनिक संयन्त्रहरु नहुनु र त्यसका बारेमा सररकार गम्भीरता नहुनुका कारणले यति ठूलो नोक्सानी हुन पुगेको मौसमविदहरुको भनाइ रहेको छ । आफूहरुलाई नेपालभर हेर्नसक्ने र पूर्वानुमान गर्न सक्ने प्रविधि प्राप्त नभएकाले र भएको सिमित क्षमताको संयन्त्रमा स्थानीय हावाको चापका कारण देशैभरको पूर्वानुमान लगाउन नसकिने भएकाले यो हावाहुरीका बारेमा आफूहरुले पूर्वसूचना दिन नसकेको उनीहरुको स्पष्टोक्ति रहेको छ ।

तर सरकारले घटनापछि सबै सम्बन्धित संयन्त्रहरुको परिचालन गरिएको दाबी गरेको छ । स्थानीय जनता भने पूर्व जानकारी दिने आधुनिक सूचना संयन्त्रहरु प्राकृतिक प्रकोपका संभावित इलाका तथा क्षेत्रहरुम छिट्टै जडान गरिनु पर्ने कुरामा विश्वस्त देखिनछन् ।