रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला

काठमाडौं । रेशम चौधरीसहित ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । कैलालीको टिकापुरमा ८ जनाको ज्यान जाने गरि भएको घटनामा राज्यले राजपा नेपालका नेता समेत रहेका रेशम चौधरीलाई मुख्य आरोपी ठहर्याएको थियो ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा एक बालकसहित आठ जनाको निधन भएको थियो । सो घटनामा मुख्य दोषी रेशम चौधरीलाई देखाएपछि उनी फरार थिए । भारतको विभिन्न ठाउँमा लुक्दै बस्दै आएका रेशम चौधरीले भारत भ्रमणमा रहेका तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई २०७३ भदौ ३१ गते दिल्लीको ताज होटेलमा भेटेपछि उनको मुद्दा कमजोर हुँदै गइरहेको थियो । त्यसपछि चौधरीलाई नेपाल फर्काएर मुद्दा फिर्ता लिन लगाउने योजना शुरु भएको थियो ।

पार्टीको सल्लाहमा कैलाली जिल्ला अदालतमा हाजिर हुन जाँदा उनलाई पूर्पक्षका लागि थुनामा राखिएको थियो । उनी फरार रहेकै अवस्थामा कैलाली १ बाट प्रतिनिधिसभाको चुनाव जितेका थिए । उनी प्रतिनिधिसभा चुनाव जितेपनि निर्वाचन आयोगले प्रमाणपत्र दिएको थिएन । यता संसद सचिवालयले प्रतिनिधिसभा सदस्यको रुपमा सपथ पनि खुवाएको थिएन ।

थुनामा रहेका रेशम चौधरीको रिहा र थुनामुक्त गर्न राजपा नेपालले दवाव दिएपछि सरकारले पुस १९ गते सपथग्रहण गराएको थियो । मंगलवार कैलाली जिल्ला अदालतमा बहस हुँदा उनीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालतले चौधरीसँगै हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, रनजेश चौधरी, वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भन्ने सीताराम चौधरी, श्रवण चौधरी र गंगारमक डगौरा चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३०) अनुसार जन्दकैदको सजाय सुनाएको हो । उनीहरु मध्ये श्रवण नावालक भएकाले बालबालिकासम्बन्धी ऐन २०४८ को दफा ११ (३) अनुसार १० वर्ष मात्र कैद हुनेछ ।

जिल्ला अदालतले लक्षण थारुसहित १२ जना प्रतिवादीलाई तीन वर्ष कैद सजाय सुनाएको छ । लक्षणसँगै लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भन्ने जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किशानलाल चौधरी, दिलबहादुर चौधरी, संगम भन्ने सन्तोष थारु चौधरी, विश्राम चौधरी, चुन्कीराम चौधरी र रामप्रसाद चौधरीलाई यो सजाय सुनाइएको हो ।