लोकतान्त्रिक गणतन्त्र ल्याएर नयाँ जनवादी क्रान्ति पुरा भयो भन्नु बकवास मात्र हो, त्यसका लागि जनयुद्ध भएको थिएन : सीपी गजुरेल ‘गौरव’

महान् जनयुद्धको २४ औं दिवसको अवसर पारेर देशैभर ‘रातो मार्चपास’ प्रदर्शनको तयारी गरिरहनु भएको छ । यो ऐतिहासिक दिनको सन्दर्भमा गर्न लागिएको रातो मार्चपासमार्फत् नेकपा (क्रान्तिकारी माओवादी)ले दिन खोजेको सन्देश के हो ? स्पष्ट पारिदिनुस् न ।

देशैभर रातो मार्चपास गरेर महान् जनयुद्धको २४ औ दिवस मनाउने जुन कार्यक्रम हाम्रो पार्टीले तय गरेको छ, त्यसको विशेष महत्व छ । इतिहासको कुनै कालखण्डमा जनयुद्धका नायक भनिनेहरु र तिनका संगठनले जनयुद्धलाई धरासायी पारेर पनि नपुगेर सकेसम्म अपमानित गरिरहेको अहिलेको अवस्थामा त्यो महान् क्रान्तिको महत्वलाई स्थापित गर्नका लागि यो रातो मार्चपास महत्वपूर्ण सावित हुनेछ भन्ने हामीले आशा गरेका छौं ।

फागुन ७ देखि २१ सम्म गरिने मेची–महाकाली अभियानको बारेमा पनि केही बताइदिनुस् न ।

अहिले देशको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षाको प्रश्न संगीन अवस्थामा पुगेको छ । संघीयताको नाममा संघीयतालाई नै कुरुप बनाउने र दलाल, नोकरशाही पुँजीपति वर्गको गणतन्त्रलाई नै जनयुद्धको माग हो भनेर जनतामा भ्रम पार्ने काम शाषक वर्गका पार्टीहरुबाट भइरहेको अहिलेको अवस्थामा क्रान्तिका लागि उत्सर्ग गरेका महान नेपाली जनतालाई वास्तविकता बुझाउने काम अत्यन्त महत्वपूर्ण बन्न गएको छ ।

काठमाडौं, पोखरा, झापाको काँकडभिट्टा, कंचनपुरको गड्डा चौकीबाट फागुन ७ गते एकसाथ उद्घाटन गरिने, पूर्व र पश्चिमबाट अभियान संचालन गर्दै फागुन २१ गते चितवनमा भव्य समारोहका बीच समापन गरिने कार्यक्रम छ । यो अभियानमार्फत् हामी यो प्रतिक्रियावादी राज्यव्यवस्थाका विकल्पमा प्रगतिशील राज्यव्यवस्था र पश्चगामी संविधानका विकल्पमा अग्रगामी संविधान, लोकतान्त्रिक गणतन्त्रको विकल्पमा संघीय जनगणतन्त्रलाई प्रस्तुत र स्थापित गर्नेछौं ।

यसका साथै यो अभियानको अर्को काम आगामी चैत्र २४ गते काठमाडौंमा विशाल जनसहभागिता र जनप्रदर्शनका बीच देशभक्त जनगणतान्त्रिक मोर्चाको ऐतिहासिक राष्ट्रिय सम्मेलनको उद्घाटनको तयारी समेत हुनेछ ।

२४ बर्ष अगाडि जनयुद्ध सुरु गर्दाको त्यो ऐतिहासिक दिनलाई आजको राजनीतिक धरातलमा उभिएर स्मरण गर्दा कस्तो अनुभूति गर्नु हुन्छ ?
त्यो दिन हाम्रो लागि अबिस्मरणीय दिन थियो । त्यो रामाञ्चकारी क्षण हाम्रो मानसपटलमा आइनै रहनेछ । त्यतिबेला र अहिलेको राजनीतिक धरातलमा निश्चित रुपमा अन्तर छ । तथापि, नेपाली क्रान्ति नयाँ परिवेशमा तीब्रतामा अघि बढ्ने कुराका पर्याप्त संकेतहरु देखापरेका छन्, जसले हामीलाई उत्साहित बनाइरहेको छ ।

अब नेपालको राजनीतिमा ‘जनयुद्धको जग’ अर्थात् त्यसको आयाम र रापताप कति बाँकी छ जस्तो लाग्छ कमरेडलाई ? संक्षिप्तमा चर्चा गरिदिनुस् न । त्यसलाई संगठित गरी क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने सम्भावना कति छ ?

यो कुरा सत्य हो कि नेपालको जनयुद्धले ठूलो धक्का खाएको छ । यसका मुख्य उपलब्धिहरुमाथि विश्वासघात भएको छ । तर त्यसका अनुभव र शिक्षाहरुलाई कसैले मेटौं भनेर पनि मेट्न सक्ने छैन । ठूलो धक्का खाएको बेला त्यसको रापताप पहिले जस्तो त हुने कुरा भएन । तर, शोषित पीडित जनताको ठूलो हिस्सा अहिले पनि त्यसका उपलब्धिलाई संझिरहेका छन् ।

यसका साथै शाषक वर्गका पार्टीका नेताहरुले दिएको नयाँ व्यवस्था र नयाँ संविधानमार्फत् “समृद्ध नेपाल” र ”सुखी नेपाली”को प्रलोभनको पनि मोहभंग भएको छ र जनता क्रान्तिकारी विकल्पको खोजी गरिरहेका छन् । यी सबै पक्षबाट विचार गर्दा क्रान्तिकारी आन्दोलनको तयारी र उठान गर्नु नितान्त सम्भव छ ।

क्रान्तिकारी माओवादीले दशवर्षे महान् जनयुद्धको मात्र होइन, ऐतिहासिक झापा विद्रोहको समेत आफूलाई सच्चा उत्तराधिकारीको रुपमा दावी प्रस्तुत गर्दै आएको छ । यसका पछाडिको आधार कसरी प्रस्तुत गर्नुहुन्छ ?

हाम्रो पार्टीले महान् जनयुद्धको उत्तराधिकारीका रुपमा प्रस्तुत गर्ने कुरा स्वतःसिद्ध तथ्य हो । जहाँसम्म झापा विद्रोहको कुरा हो, त्यसका कैयौं कमी र कमजोर पक्षहरु पनि थिए । तथापि तत्कालीन कम्युनिष्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवाद र जनआन्दोलनको गोलचक्करवादका बिरुद्ध सचेत ढंगले बल प्रयोगको नीतिलाई लागु गर्ने कुराको ठुलो महत्व रहेको छ । त्यतिखेर प्रारम्भ गरिएको सशस्त्र विद्रोहलाई पछिल्लो चरणमा गएर त्यस पार्टीका नेताहरुले बेवारिसे बनाएर छाडिदिएको अवस्थामा त्यसको उत्तराधिकार हामीले लिनु जायज काम हो ।

सामन्ती राजतन्त्रको अन्त्य, लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै नेपाली जनवादी क्रान्ति मौलिक र नौलो रुपमा पूरा भएको विश्लेषण गर्दै अब विकास र समृद्धिमार्फत् समाजवादी क्रान्ति पूरा गर्न सकिन्छ भन्ने सत्तारुढ नेकपालगायतको विश्लेषणलाई कसरी लिनु भएको छ ? संक्षिप्तमा चर्चा गरिदिनुस् न ।

सामन्ती राजतन्त्रको अन्त्य संसारमा विभिन्न किसिमले हुने गर्दछ । महान जनयुद्धको उद्देश्य नेपालमा राजतन्त्र समाप्त पारेर जनगणतन्त्रको स्थापना गर्नु थियो । अहिलेको जस्तो लोकतान्त्रिक गणतन्त्र र संसदीय व्यवस्था ल्याउनका निम्ति जनयुद्ध भएको थिएन । लोकतान्त्रिक गणतन्त्र ल्याएर नयाँ जनवादी क्रान्ति पुरा भयो भन्नु बकवास मात्र हो । नयाँ जनवादी क्रान्ति भनेको सर्वहारा वर्गको नेतृत्वमा मजदुर किसान एकताका आधारमा सम्पन्न गरिने पूँजीवादी जनवादी क्रान्ति हो ।

त्यसप्रकारको क्रान्ति नेपालमा सम्पन्न भएकै छैन । कुन मितिमा सम्पन्न भयो, कसैलाई थाहा छैन । जहाँसम्म (डबल) नेकपाको कुरा हो त्यो त कम्युनिस्ट आन्दोलनबाट विचलित नवप्रतिक्रियावाद उन्मुख नवसंशोधनवादी पार्टी हो । त्यो पार्टीका नेताले भनेको समाजवाद फगत प्रतिक्रियावादी समाजवाद हो । त्यसको बैज्ञानिक समाजवादसँग कुनै साइनु सम्वन्ध नै छैन ।

अहिलेको सत्ता तथा ओली सरकारको वर्ग–चरित्रलाई सरल भाषामा प्रष्ट पारिदिनुस् न । नेपालभित्र र बाहिर ओली नेतृत्वको सरकारलाई कम्युनिस्ट तथा वाम देख्नेहरुको पंक्ति अझै पनि रहेको देखिन्छ नि ?

ओली नेतृत्वको यो सरकारलाई वास्तवमा कम्युनिष्ट वा वामपन्थी सरकार हो भन्ने भ्रम राजनीतिक रुपमा स्पष्ट भएका मानिसहरुमा प्रायः कमैलाई छ । यो त दलाल र नोकरशाही पँुजीपति वर्गको सरकार हो । तथापि यसलाई कम्युनिष्ट सरकार हो भन्ने प्रचारबाजी भने भइनै रहेको छ । यो काम दुईथरिले गरिरहेका छन् ।

एकथरिले कम्युनिस्टको रुपमा यिनीहरुलाई उभ्याएर असली कम्युनिस्टहरुलाई नङ्ग्याउने काममा प्रयोग गरिरहेका छन् । अर्काथरि शाषक वर्ग र शाषक पार्टीले वामपन्थी समर्थक जनतालाई भ्रम पार्नका लागि प्रयोग गरिरहेका छन् । जेहोस्, सच्चा कम्युनिष्टहरुका लागि यिनीहरुको असली अनुहार जनतालाई चिनाउन यिनीहरुको भण्डाफोर गर्न केही मेहनत भने गर्नै पर्छ ।

भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको विरोधमा नेकपाको अध्यक्षको हैसियतमा प्रचण्डले जारी गरेको वक्तव्य र उनले ‘फेरि नयाँ माओवादी जन्मिन सक्छ’ भनेर दिएको अभिव्यक्तिलाई कसरी लिनु भएको छ ? त्यसले त जनता र राजनीतिक तहमा समेत थप भ्रम सिर्जना गरेजस्तो देखिन्छ नि ?

भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको विषयमा प्रचण्डको वक्तव्य त्यति उग्र अमेरिका विरोधी देखिँदैन । ट्रम्प सरकारसँग नजिकको सम्ब्न्ध भएको भारत सरकारले पनि लगभग त्यही स्तरको वक्तव्य दिएको छ । अमेरिकी सरकार केही उत्तेजित भएको देखिनका कारण त्यसले ओली सरकारलाई हेपेको कारणबाट बढी भएको देखिन्छ । अर्कातिर, त्यतिको वक्तव्यलाई पनि ओलीले ’प्रचण्ड चिप्लिएको’ भन्ने सार्वजनिक अभिव्यक्ति दिनुलाई पनि आफ्नो पार्टी एमालेमा लगेर बुझाएका प्रचण्डले थप अपमानित भएको ठानेको हुन सक्छ ।

उनले ‘फेरि अर्को माओवादी जन्मन सक्ने’ भनेर एमालेका नेताहरुलाई तर्साउन खोजेका छन्, त्यसमा कुनै तुक छैन । किनभने, नेपालमा माओवादी पार्टी धेरै पहिले नै बनिसकेको छ र त्यस प्रकारको पार्टी अहिले पनि क्रियाशील छ ।
त्यसैले यस घटनाबाट कुनै नयाँ भ्रम पैदा हुने त्यति धेरै देखिँदैन ।

नवसंशोधनवाद तथा दक्षिणपन्थी अवसरवादसँगै तमाम प्रतिक्रियावादीहरुको घेराबन्दी र भ्रमलाई तोड्दै नेपाली नयाँ जनवादी क्रान्तिको बाँकी कोर्स कसरी अगाडि बढ्न सक्छ ? यसमा क्रान्तिकारी माओवादीको भूमिका के हुन्छ ?

हरेक क्रान्तिले दुश्मन शक्तिहरुको घेरावन्दीलाई तोड्दै, भ्रमहरुलाई चिर्दैै अघि बढ्नु पर्ने यो ऐतिहासिक र्भातिकवादी नियम नै हो । नेपाली क्रान्तिले यसलाई पुरा गर्ने कुरा अनिवार्य छ । नेपालको सच्चा कम्युनिष्ट पार्टीको हैसियतले यो कार्यभार नेकपा (क्रान्तिकारी माओवादी)ले क्रान्तिको तयारी र लागु गर्ने दौरानमा पुरा गर्ने छ ।

नेपालको भूराजनीतिक स्थिति र नेपाली क्रान्तिको भविष्यको विषयमा संक्षिप्तमा प्रकाश पारिदिनुस् न ।

नेपाल विद्यमान भारतबाट तीनतिरबाट घेरिएको हुनु र त्यहाँको सरकारको चरित्र विस्तारवादी हुनु नेपाली क्रान्तिको निम्ति प्रतिकूल भूराजनीतिक अवस्था मानिन्छ । तर यसको अर्थ यति कारणले नेपालमा क्रान्ति नै सम्पन्न हुुन सक्दैन भन्ने निष्कर्ष निकाल्नु गलत हो । भारतमा क्रान्तिकारी शक्तिको विकास भएका खण्डमा त्यही कारण अनुकूल पनि हुन सक्दछ । अन्ततः नेपाली क्रान्तिको भविष्य नेपालका क्रान्तिकारी पार्टी र नेपाली जनतामा निर्भर हुन्छ ।

कमरेड, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको अध्यक्ष समेत हुनुहुन्छ । चैत्र २४ गते मोर्चाको राष्ट्रिय सम्मेलन राख्नु भएको छ । यसको आवश्यता, महत्व र तयारीका विषयमा केही बताइदिनुस् न ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल एउटा क्रान्तिकारी संयुक्त मोर्चा संगठन हो । यो नेपाली क्रान्तिको तीन जादुगरी हतियार मध्येको एउटा हतियार हो । यसको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन आगामी चैत्र २४ गते काठमाडौंमा सम्पन्ने गर्ने निर्णय भएको छ । यसको तयारी एउटा जनआन्दोलनका बीचमा हुँदैछ ।

फागुन ७ गतेदेखि २१ गतेसम्म ‘मेची महाकाली जनजागरण तथा जनपरिचालन अभियान’ सञ्चालनपश्चात बृहद् जनपरिचालनसहित सम्मेलनको उद्घाटन चैत्र २४ गते सम्पन्न गरिने कार्यक्रम रहेको छ ।

अन्तमा, यस ऐतिहासिक अवसरमा सहिद तथा वेपत्ता परिवार, घाइते तथा अपाङ्गलगायत जनयुद्धमा प्रत्यक्ष तथा परोक्षमा रुपमा जोडिएको जनताको विशाल पंक्तिलाई के अपील तथा आव्हान गर्न चाहनु हुन्छ ?

वहाँहरु सबै हाम्रा सम्मानित र प्रेरणाका स्रोत हुनुहुन्छ । केही जनयुद्धको नेतृत्व गर्ने नेताहरुले सहिद, बेपत्ता र अपाङ्ग तथा परिवारजनप्रति गरिएको विश्वासघात, धोका र अपमानले वहाँहरुमा जुन पीडाबोध भएको छ, त्यसको मर्म हामीले बुझेका छौं । वहाँहरुप्रति सच्चा सम्मान वहाँहरुले देखाएको बाटोमा अघि बढ्नु नै हो ।

त्यो काममा हामी निरन्तर अघि बढ्ने हाम्रो प्रतिबद्धता छ । वहाँहरु सबैलाई पनि फेरि हुने क्रान्तिकारी आन्दोलनलाई अघि बढाउनका लागि प्रेरणाका रुपमा अघि बढ्नका लागि हामी अपील गर्न चाहन्छौं ।