नेपाललाई पराधीन बनाउने आक्रमणकारी योजनाविरुद्ध जवाबी क्रान्तिकारी अभियान

नेपालको वर्तमान चरणमा क्रान्ति जनवाद हो, समाजवादी होइन । पार्टीको वर्तमान अभिभारा आम जनतालाई आफ्नो पक्षमा तान्नु हो, त्यसो भनेर फेरि तुरुन्तै बिद्रोह गर्नु होइन । तथापि क्रान्तिको छिटो विकास हुनेछ र हामीले सशस्त्र जनबिद्रोहका लागि आफ्नो प्रचार र तैयारिमा सकारात्मक रुख अपनाउनु पर्छ । वर्तमान अस्तव्यस्त परिस्थितिमा हामीले सकारात्मक नारा र कार्यक्रमका साथ सकारात्मक रुख अपनाएर मात्र जनताको नेतृत्व गर्न सक्छौँ । यस्तो रुख अपनाएर मात्र पार्टीले आफ्नो जुझारु क्षमता फेरि प्राप्त गर्न सक्छ ।

आजको नेपाली समाज अर्ध–औपनिवेशिक र अर्ध–सामन्ति समाज नै कायम छ भन्ने कुरो प्रष्ट छ । नेपाली समाजको स्वरुपलाई राम्रोसँग बुझेपछि मात्रै हामीले नेपाली क्रान्तिको प्रहारका निशाना, अभिभारा र प्रेरक शक्तिहरु तथा यसको स्वरुप, यसका भावी सम्भावनाहरु र यसको संक्रमणलाई प्रष्टसँग बुझ्न सक्ने छौँ । त्यसकारण नेपाली समाजको प्रकृति अर्थात् यसका परिस्थितिहरुको प्रष्ट जानकारी हासिल गर्नु क्रान्तिका सबै समस्याहरुको प्रष्ट हासिल गर्ने गाँठी कुरा हो ।

वर्तमान नेपाली समाजको स्वरुप अर्ध–औपनिवेशिक तथा अर्ध–सामन्ति हो भने नेपाली क्रान्तिको यस चरणको प्रहारका मुख्य निशानाहरु वा मुख्य शत्रुहरु कुन–कुन हुन त ?

यसको प्रहारका निशानाहरु वा मुख्य शत्रुहरु साम्राज्यवाद, भारतीय विस्तारवाद तथा दलाल नोकरशाहि पुँजीपति र सामन्ती, साम्राज्यवादी, विस्तारवादी देशहरुका पुँजीपति वर्ग र हाम्रो देशका दलाल पुँजीपति र सामन्ति वर्ग हुन् । कारण, यी दुई शत्रुहरु नेपाली समाजको वर्तमान चरणका मुख्य उत्पीडकहरु नेपालको प्रगति पथका तगाराहरु हुन् । नेपाली जनतामाथि थिचोमिचो गर्न यी दुईले आपसमा मिलेमतो गर्छन्, अनि साम्राज्यवाद, विस्तारवादद्वारा गरिने राष्ट्रिय उत्पीडन अत्यन्तै कष्टदाई हुने हुनाले यिनीहरु नेपाली जनताको एक नम्बरको अत्यन्तै खतरनाक शत्रु हो ।

विगत देखि साम्राज्यवाद विस्तारवादसँग मिलेमतो गर्ने विशेषतः नेपाली काँग्रेस, र अन्य दलहरु, खुलेआम आत्मासमर्पण गरिसकेका एमाले र माके हाल आएर यी दुवै मिली बनेको डबल नेकपा वा त्यसको तयारीमा लागेका यस्तै अरु सबै नेपाली देशद्रोहीहरु र प्रतिक्रियावादीहरु क्रान्तिका प्रधान शत्रु हुन् । यिनीहरुलाई निर्मूल पारी पठाउन क्रान्तिकारी जनता र क्रान्तिकारी राजनैतिक पार्टी (कम्युनिष्ट पार्टी) ले हाम्रा राष्ट्रिय स्वार्थहरुप्रति गद्दारी गर्ने यस्ता कुतत्वहरुलाई क्रान्तिको प्रहारको एउटा निशाना बनाउन क्रान्तिकारीहरुलाई करै लागेको छ । तर, बहुसंख्यक जनता राजनैतिक चेतनाको अभावमा देशव्यापि असंगठित रुपले छरिएर रहेका छन् । यिनीहरुमा राजनैतिक चेतना जगाई सुसंगठित पाुर्न नितान्न जरुरी छ ।

मार्क्सवादले युगौं देखिको धर्म–कर्म (आध्यात्मवाद) रिति–रिवाज, राजनीतिक दाउँपेच जटिल कानुनहरु, धूर्त विद्याहरु जस्तो बाधाबन्धनहरुको पर्दा पछाडि लुकेर रहेको वर्ग संघर्ष, विभिन्न सम्पन्न वर्गहरु र गरीब जन–समूह बीचको संघर्ष, त्यस सर्वहारासँग जसले समस्त गरीब (उत्पीडित) जनसमुदायको नेतृत्व गर्दै आएको छ परिचित हुन मद्दत गर्यो । यस गहन विषयलाई गम्भीर रुपले चिन्तन् मनन् गरी संघर्षमा उत्रनु र उतार्नु सच्चा क्रान्तिकारी कम्युनिष्टहरुको दायित्व हो ।

आजको यो आधुनिक समाजले अन्धकार, अज्ञान तथा अन्धविश्वासहरुको पञ्जामा जकडिएर बसेका वर्तमान समाज विशेष गरेर किसानहरु तथा स–साना दफ्तरहरुका कामदार र अन्य कालिगढहरु करोडौं मानिसहरु विशुद्ध मार्क्सवादी शिक्षाको सिधा बाटोबाट त्यस अन्धकारबाट निस्कन सक्छन् भन्ने सोच्नु एक मार्क्सवादीको लागि सबभन्दा ठूलो गल्ती र एक अत्यन्त खराब गल्ती ठहरिन जानेछ । अनिश्वरवादी प्रचारसम्बन्धी विभिन्न प्रकारका सामग्रीहरु यस जनसमुदाय समक्ष पुर्याउनु पर्छ ।

उनीहरुलाई जीवनका विभिन्न क्षेत्रहरुसँग सम्बन्धित तथ्यहरुबाट परिचित गराउनु पर्छ, । विभिन्न तरिकाले उनीहरुको नजिक पुग्नु पर्छ । यसले गर्दा उनीहरुको अभिरुची जगाउन सकियोस् । उनीहरुलाई धार्मिक निद्राबाट बिउँझाउन सकियोस् । उनीहरुलाई विभिन्न दृष्टिकोणले, विभिन्न तरिकाले झट्कार्न सकियोस् । यस मानेमा क्रान्तिकारीहरु अत्यन्तै गम्भीर हुनु जरुरी छ ।

नेपाली क्रान्तिका शत्रुहरु कमजोर छन् भनेर नजरअन्दाज गर्न मिल्दैन । तिनीहरु देख्नमा ज्यादै बलिया र भयङ्कर स्वरुप देखिन्छ । शत्रुका पङ्तिभित्र साम्राज्यवादी, विस्तारवादी तथा तिनीहरुकै आड भरोसामा तङ्ग्रिंदै आएका दलाल पुँजीपति र सामन्ती मात्र पर्दैनन् तर खास–खास समयमा जनताको विरोध गर्न साम्राज्यवादी, विस्तारवादी र दलाल पूँजीपति तथा सामन्ती शक्तिहरुसँग साँठगाँठ गर्ने पुँजीवादी प्रतिक्रियावादीहरु पनि यसैभित्र पर्दछन् ।

यस्तालाई इङ्गित गर्दै सर्वहारा वर्गीय नेता माओले भन्ने गर्नुहुन्थ्यो । यिनीहरु खासमा कागजि बाघ हुन् । तर पनि, क्रान्तिकारी नेपाली जनताका शत्रुहरुलाई होच्याएर आँक्नु गलत कुरा हो । यसो भनेर फेरि ती शत्रुको पङ्ति प्रतिक्रियावादी (प्रतिक्रान्तिकारी) हरुको त्यो सुरक्षाको नाउँमा लट्केको क्रान्तिको फन्दालाई सहज र सरल रुप मानी बस्नु पनि ठीक होइन ।

क्रान्तिकारीहरुको दायित्व भनेको निस्सन्देह, यी शत्रुहरुमाथि प्रहार गर्नु नै हो र प्रहार गर्नुको अर्थ साम्राज्यवाद, विस्तारवाद तथा दलाल पुँजीपति एवम् सामन्ती वर्गको उत्पीडनको तख्ता पल्टाउन जनवादी क्रान्ति गर्नु हो ।

हाम्रा शत्रुहरु साम्राज्यवाद, विस्तारवाद, नेपाली गद्दारहरु, आत्मासमर्पणवादी तत्वहरु र ट्राटस्कीपन्थीले, नेपालमा हामीले गर्न लागिरहेको जनवादी क्रान्तिको तयारी अभियानलाई नष्ट भ्रष्ट पार्न यिनीहरु आफूले भ्याएसम्मको हरतरहका हथ्कण्डा मचाउँदै आइरहेका छन् र मच्चाइरहने छन् ।

मातृभूमिको रक्षा, देश र जनताको आवश्यक्ता र चाहनालाई मूर्त रुप दिन हामीले गर्न लागिरहेको सशस्त्र जनविद्रोह (जनवादी क्रान्ति) लाई विफल पार्नु र नेपाललाई पराधीन बनाउने उनीहरुको आक्रमणकारी योजनालाई ध्वष्त पारी, जनवादका लागि आफ्नो संघर्षमा, हामीले साम्राज्यवाद, विस्तारवादका कट्टरपन्थीहरु र जनताका पिछडिएका अंगहरुतर्फ परिलक्षित प्रचार आन्दोलन तथा आलोचना गर्ने काममा मात्र लाग्ने होइन ।

तर साम्राज्यवाद, विस्तारवाद र नेपालमाथि जबर्जस्त हस्तक्षेप गर्ने काममा तिनका पाल्तु कुकुर बनेर मद्दत गर्ने ती कुकर्मी तत्वहरुको अस्तित्व नामेट गरी पठाउनु, मातृभूमिको रक्षाका लागि अत्यावश्यक छ भन्ने कुरालाई स्पष्टसित बुझ्न सकेनौं र त्यसको लागि हामीले हाम्रो संघर्षलाई आवश्यकताअनुरुप जुझारु ढङ्गले अगाडि बढाउनुको उल्टो शिथिल पार्र्यौं भने मातृभूमिको रक्षा होइन, बरु तिनका ती देशद्रोही पाल्तु कुकुरहरुलाई हौसला बढाउने काम हुनजाने कुरा निश्चित छ । तसर्थ, समयछँदै सचेतभई बुद्धिमानीपूर्ण ढङ्गले क्रान्तिकारी जोश र जाँगरका साथ अविलम्ब, त्यस्ताको बिरुद्ध जुझारु क्रान्तिकारी कदम चाली त्यस्ता कुतत्वहरुलाई निर्मूल पारी पठाउनु, क्रान्तिकारीहरुको नैतिक दायित्व हो ।

यतिखेर सिंगो देशका क्रान्तिकारी जनताको आँखा हामीमाथि परेको छ । नेपालमा अधुरो रहिरहेको नयाँ जनवादी क्रान्तिलाई टुङ्गोमा पु¥याउने अभिभारा जो हामीले हाम्रो काँधमा लिएका छौँ । यो कार्यभार पूरा गर्नु हाम्रो नैतिक दायित्व हो । उक्त कार्यभार पूरा गर्नकै निम्ति हामीले देशको वर्तमान वस्तुस्थितिमाथि मध्यनजर राख्दै नेपाली बिशिष्टतामा आधारित सशस्त्र जनविद्रोह कार्यदिशा निर्माण गरी, क्रान्तिकारी युद्धको तयारी अभियानमा जुझारु ढङ्गले जुट्दै गरेको वर्तमान स्थिति हो यो ।

यसै सन्दर्भमा इतिहासले हामीलाई के बताउँछ भने सही राजनीतिक नीति तथा क्रान्तिकारी कार्यदिशाहरुको उत्पत्ति र विकास स्वयंस्फूर्त तथा शान्तिपूर्ण ढङ्गबाट हुँदैन, बरु संघर्षको क्रममा मात्र हुन्छ । यी कार्यदिशाहरुले एकातिर ‘बामपंथी’ अवसरवादविरुद्ध र अर्कोतिर दक्षिणपन्थी अवसरवाद तथा दलाल र अन्य ती पाल्तु कुकुरविरुद्ध संघर्ष त गर्नैपर्छ । क्रान्ति र क्रान्तिकारी युद्धलाई क्षति पुर्याउने यस्ता हानिकारक प्रवृत्ति र कुतत्वविरुद्ध संघर्ष नगरिकन र त्यस्तालाई पूरै खत्तम् नपारिकन क्रान्तिकारी युद्धमा विजय प्राप्त गर्नु असंभव हुनेछ । तसर्थ क्रान्तिकारी अभियानमा जुटिरहनु भएका प्रत्येक जिम्मेवार कामरेडहरु यस मानेमा सचेत हुनैपर्छ ।

हाम्रो सही राजनैतिक नीति हाम्रो सुदृढ उद्देश्य लाखौं जनतालाई साम्राज्यवाद विस्तारवाद, दलाल पुँजीपति र सामन्तविरोधि क्रान्तिकारी युद्धको पक्षमा तान्नु हो । सर्वहारावर्ग, किसानहरु र सहरी निम्नपुँजीपतिवर्गका ब्यापक जनसमुदायहरुको निम्ति हाम्रो प्रचार–कार्य, आन्दोलन कार्य र संगठन कार्यको खाँचो छ । पार्टीको नीतिलाई आम जनताको नीति बनाउनको लागि हामीले लामो समयसम्म दृढ, अविचल, अविरल, धैर्यपूर्ण तथा कष्टदायक प्रयत्न गर्नुपर्छ । यस्तो प्रयत्न नभएमा हामीले कुनै सफलता पाउने छैन ।

साम्राज्यवाद, विस्तारवादविरोधी क्रान्तिकारी जनसमुदायलाई सुदृढ बनाउनु, क्रान्तिकारी सुनामी सृजना गर्नु र नेपालमा जनवादी गणराज्यको स्थापना गर्नु यी सबै कामहरु जनतालाई आफ्नो पक्षमा तान्ने हाम्रो प्रयत्नबाट एकदमै अभिन्न छन् । यदि हामीले यस्तो प्रयत्न गरेर लाखौं जनतालाई आफ्नो नेतृत्वमुनि ल्याउन सक्यौं भने हाम्रो क्रान्तिकारी अभिभारालाई छिटोसित पूरा गर्न सकिन्छ । आफ्नो प्रयत्नद्वारा हामीले अवश्य पनि साम्राज्यवाद, विस्तारवाद तथा नेपाली देशद्रोही कुतत्वहरुलाई परास्त गर्ने छौं र पूर्ण राष्ट्रिय तथा सामाजिक मुक्तिका साथ नयाँ नेपाल निर्माणमा जनवादी गणराज्य स्थापना गर्ने छौं ।