कञ्चनपुर । नेकपा क्रान्तिकारी माओवादीले युवाहरुको रातो मार्च पाससहित देशभर जनयुद्ध दिवस मनाउने तयारी गरिरहेको छ । युवाहरुलाई अग्रपंक्तिमा सारेर माओवादीले जनयुद्ध दिवसको तयारी गरिरहेको शायद शान्ति प्रक्रियापछिको यो पहिलो पटक हो । वर्षका हिसाबले २४ औं जनयुद्ध दिवस भव्य बनाउने तारी भइराखेको बताइएको छ ।
सुदूरपश्चिम प्रदेशको तयारी पनि भव्य रुपमा भइरहेको छ । यस प्रदेशको चर्चित नगरी धनगढीमा युवाहरु जम्मा गरेर फागुन १ गते प्रदेशस्तरीय युवा मार्चपाससहित जनयुद्ध दिवस मनाउने तयारी भइरहेको नेकपा (क्रान्तिकारी माओवादी) का प्रदेश सचिव क.अटलबाट थाह हुन आएको छ । सचिव क. अटलका अनुसार २४ औं जनयुद्ध दिवस सुदुर पश्चिममा भव्यतापूर्वक सम्पन्न गरिंदै छ ।
२०५२ साल फागुन १ गते सुरु गरिएको जनयुद्ध २०७५ सालमा आइपुग्दा २४ औं वर्षमा पुगेको छ । यसकै स्मरणमा २४ औं जनयुद्ध दिवस मनाउन लागिएको क.अटलको भनाइ छ । २०५२ साल फागुन १ गते मोहन वैद्य किरण, सीपी गजुरेल गौरव, पुष्पकमल दाहाल प्रचण्डलगायत देशै भरिबाट ७५ जना पूर्णकालिन योद्धाहरुको पहलमा जनयुद्ध सुरु गरिएको थियो ।
२०५२ माघ ३० गते राती देशका तीनवटा प्रहरी चौकीहरु तथा अन्य गैरफोजी निशाना माथि आक्रमण गरेर जनयुद्ध सुरु गरिएको थियो । निशानामा राखिएका यी चौकीहरु लगायत अन्य पनि कब्जामा आएका थिए । आक्रमणमा परेका प्रहरी चौकीहरुमा रुकुमको आठबीसकोट प्रहरी चौकी, रोल्पाको होलेरी प्रहरी चौकी र सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी रहेका थिए ।
तात्कालिन पार्टी महासचिव पुष्पकमल दाहाल प्रचण्ड रहे पनि पार्टीमा सामूहिक नेतृत्व निर्माण गर्ने स्पिरिट कायम थियो । राजनीतिक तथा सांगठनिक रुपमा जनयुद्धको नेतृत्व प्रचण्डले गरेका थिए भने वैचारिक र दार्शनिक रुपमा मोहन वैद्घ किरणले सिंगो पार्टी डोर्याउने कामलाई अघि बढाएका थिए । तर काम गराइमा युनिफाइड नेतृत्वको अवधारणा पूर्ण रुपमा लागु गरिएको थियो । युनिफाइडको अर्थ नै नेतृत्व तहका सबै नेताहरु एकगठ हुनु भन्ने थियो ।
बिडम्बना, अहिले पुष्पकमल दाहाल प्रचण्डले आफनो पार्टीलाई तत्कालिन ऐमाले पार्टीमा लगेर बिलय गरेका छन् । मोहन वैद्य किरणको नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी) ले भने जनयुद्धबाट केही मात्रात्मक परिर्वन मात्र हुन सकेको र जनताले गरेको बलिदानको खासै उपलब्धि नभएको भन्दै नयॉजनवादी क्रान्तिको तयारी गरिरहेको छ ।
यही तयारीको क्रममा युवा मार्च पासको सम्पूर्ण तयारी पूरा भएको र युवाहरु सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आउने क्रम जारी रहेको छ । युवा नेता तथा अखिल क्रान्तिकारीका केन्दिय सचिव रामबहादुर महराका अनुसार युवा मार्चपास भव्यरुपमा गरिने तयारी भइरहेको छ ।