२४ औं जनयुद्ध दिवसमा क्रान्तिकारी माओवादीको देशैभर ‘रेड मार्चपास’को तयारी

प्रकाशित मिति : २०७५ माघ २९

काठमाडौं । नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने ऐतिहासिक दायित्वबोधसहित त्यसको तयारी गरिरहेको नेकपा (क्रान्तिकारी माओवादी)ले यही उद्देश्य प्राप्तिका लागि भएको दशवर्षे महान् जनयुद्धको २४ औं दिवसको अवसरमा देशैभर ‘रेड मार्चपास’ गर्ने तयारी गरेको छ । दशवर्षे जनयुद्ध र झापा विद्रोह समेतको सच्चा उत्तराधिकारीको रुपमा आफूलाई प्रस्तुत गर्दै आएको क्रान्तिकारी माओवादीले गर्ने भनेको यो ‘रेड मार्चपास’लाई विशेष महत्वका साथ हेरिएको छ ।

प्राप्त जानकारी अनुसार क्रान्तिकारी माओवादी ३ नं. प्रदेशले उपत्यकाका तीनवटा जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरंलाई केन्द्रित गरी काठमाडौंको रत्नपार्कबाट रेडमार्चपासको तयारी गरेको छ भने उपत्यकाबाहेकका जिल्लाहरु चितवन, काभ्रे, सिन्धुली, रामेछाप, दोलखा, नुवाकोटलगायतका जिल्लामा पनि रेड मार्चपासको तयारी गरिएको छ । मकवानपुरमा भने रेडमार्चपासहित पार्टी जिल्लाको भेलासमेत राखिएको छ भने सिन्धुपाल्चोकमा पनि पार्टीको बैठक राखिएको छ ।

त्यसैगरी २ नं. प्रदेशले सिरहाको लहान, रौतहटको चपुर र महोत्तरीको बर्दिबासमा रेड मार्चपासको तयारी गरेको पार्टी प्रदेश कार्यालयले जनाएको छ । अन्य जिल्लाहरुमा पनि विकेन्द्रित रुपमा मार्चपास प्रदर्शनको तयारी भइरहेको सम्बद्ध स्रोतले जनायो ।

क्रान्तिकारी माओवादीको १ नं. प्रदेशले कतै मशाल जुलुस तथा कतै रेड मार्चपासको तयारी गरेको छ । प्राप्त जानकारी अनुसार मोरङको विराटनगर, सुनसरीको इटहरी, उदयपुरको गाईघाट, ओखलढुंगा, खोटाङ, तेह«थुम लगायतका जिल्लामा प्रदर्शन गर्ने तयारी गरेको छ ।

त्यसैगरी ५ नं. प्रदेशका नवलपरासी, रुपन्देही, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, गुल्मी लगायतका जिल्लामा ‘जनयुद्ध जिन्दावाद’ लेखिएको रातो फेटासहितको रेड मार्चपास गर्ने भव्य तयारी गरिएको छ भने रोल्पा, अर्घाखाँची, पाल्पालगायतका जिल्लामा गोष्ठीको आयोजना गरी जनयुद्ध दिवस मनाउने तयारी गरिएको छ ।

त्यसैगरी ७ नं. अर्थात् सुदुरपश्चिम प्रदेशले धनगढीमा केन्द्रित र अन्य जिल्लाका सदरमुकाम तथा मुख्य सहरहरुमा विकेन्द्रित गरी रेड मार्चपास गर्ने तयारी गरेको छ ।

यता ६ नं. प्रदेश अर्थात् कार्णाली प्रदेशले पनि दैलेख, सुर्खेत लगायतका जिल्लामा रेड मार्चपासको तयारी गरेको छ । प्राप्त जानकारी अनुसार दैलेखमा मार्चपासहित देशभक्त जनगणतान्त्रिक मोर्चाको जिल्ला सम्मेलन गर्ने र उक्त अवसरमा जनयुद्धका सहिद तथा वेपत्ता परिवार, घाइते अपाङ्ग लागतलाई सम्मान गर्ने समेत कार्यक्रम तय गरिएको छ ।

त्यसैगरी ४ नं. प्रदेशले १ गते समापन हुने गरी प्रदेश स्तरीय युवाहरुको वैचारिक तथा राजनीतिक प्रशिक्षणको आइतबार उद्घाटन गरेको छ र १ फाल्गुनमा विशेष मार्चपाससहित प्रशिक्षणको समापन गर्ने तयारी गरेको छ । प्रदेशका जिल्लाहरु कास्की, नवलपुर, तनहुँ, गोरखा, बाग्लुङ, पर्वतलगायतका जिल्लामा पनि रेडमार्चपासको तयारी गरिएको बुझिएको छ ।

तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि सुरु भई २०६२ सालसम्म सञ्चालित महान जनयुद्धले अढाइसय वर्षदेखिको सामन्ती राजतन्त्रको अन्त्य गरी मुलुकमा लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी जस्ता मुद्दाहरुलाई स्थापित ग¥यो तर जनयुद्धमाथि तत्कालीन नेतृत्वहरुले नै गरेको गद्दारीका कारण जनयुद्धले धक्का खान पुग्दा मरणासन्न अवस्थामा पुगेको संसदीय व्यवस्था पुनस्र्थापित हुन पुग्यो र जनयुद्धले उठाएका मुद्दाहरु एकपछि अर्को गरी किनारा लगाइयो । जनयुद्धका उपलब्धिहरुको रुपमा रहेका जनमुक्ति सेना, आधारइलाका, जनकम्युन लगायतका संरचनाहरु विघटित हुन पुगे । मुख्य नेतृत्वले नै जनगणतन्त्रको मुद्दालाई छोडेर लोकतान्त्रिक गणतन्त्रलाई अँगाल्न पुगेपछि माओवादी आन्दोलन पनि टुट फुट विभाजन हुँदै गुज्रन पुग्यो । पछिल्लो पटक माओवादी केन्द्रको एमालेकरण भएपछि अहिले नेपालमा मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) मात्र ‘माओवादी’ पार्टीको रुपमा रहेको छ । र, यो मात्रै यस्तो पार्टी बन्न पुगेको छ कि तत्कालीन जनयुद्धको मूल मुद्दा ‘नयाँ जनवादी क्रान्ति’लाई नै मूल मुद्दा बनाएर त्यसको तयारीको प्रक्रियामा अगाडि बढिरहेको छ । यही सन्देश प्रवाह गर्ने र दशवर्षे जनयुद्धको ऐतिहासिक महत्वलाई स्थापित गर्ने उद्देश्य राखी यो पार्टीले देशैभर रेड मार्चपासको आयोजना गरी जनयुद्ध दिवस मनाउने निर्णय गरेको हो ।

रेड मार्चपासकै महत्वमाथि प्रकाश पार्दै पार्टी स्थायी समिति सदस्य कमरेड गौरवले वर्गदृष्टिसँगको कुराकानीमा भनेका छन्, “ देशैभर रातो मार्चपास गरेर महान् जनयुद्धको २४ औ दिवस मनाउने जुन कार्यक्रम हाम्रो पार्टीले तय गरेको छ, त्यसको विशेष महत्व छ । इतिहासको कुनै कालखण्डमा जनयुद्धका नायक भनिनेहरु र तिनका संगठनले जनयुद्धलाई धरासायी पारेर पनि नपुगेर सकेसम्म अपमानित गरिरहेको अहिलेको अवस्थामा त्यो महान् क्रान्तिको महत्वलाई स्थापित गर्नका लागि यो रातो मार्चपास महत्वपूर्ण सावित हुनेछ भन्ने हामीले आशा गरेका छौं ।”