काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट सहिद तथा बेपत्ता योद्धा परिवार समाज, नेपालले एक वक्तव्य जारी गरी वर्तमान राज्यले जनयुद्धका महान सहिदहरुको घोर अपमान गरी जनयुद्धका क्रममा मारिएका सेना, प्रहरीहरुलाई सहिद घोषणा गर्ने रवैयाप्रति आपत्ति प्रकट गर्दै परिवर्तनका बाहक महान सहिदरुलाई राज्यको तर्फबाट तत्काल ‘सहिद’ घोषणा गर्न जोडदार माग गरेको छ ।
समाजका संयोजक दिनेश शर्माले निकालेको वक्तव्यमा जनयुद्धका क्रममा राज्यले बेपत्ता बनाएका योद्धाहरुको छानबिन गरी सत्य, तथ्य बाहिर ल्याउन गठित आयोगको काममा ढिला सुस्ती हुनुमा स्वयम् सरकार जिम्मेवार रहेको ठहर गरिएको छ । वक्तव्यमा सरकारको उक्त रवैयाको घोर विरोध गर्दै तदारुकताका साथ काम अगाडि बढाएर सत्य, तथ्य बाहिर ल्याउन जोडदार माग गरिएको छ ।
समाजको १८ माघमा सम्पन्न बैठकले पार्टीको सम्बन्धित तहसँग समन्वय गरी सहिद पार्क निर्माण, बाटिका निर्माण, शालिक निर्माण तथा सहिद बेपत्ता योद्धाहरुको जीवनी प्रकाशन गर्न समेत पहल गर्ने निर्णय गरेको वक्तव्यमा उल्लेख गरिएको छ । समाजले आगामी बैशाखसम्ममा संगठनको राष्ट्रिय भेलाको तयारी गर्ने समेत संयोजकद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।