साम्राज्यवादी ध्रुवीकरण : अन्तर महादेशीय छिनाझपटी

प्रकाशित मिति : २०७५ माघ २८

काठमाडौं । बहुध्रुवीय साम्राज्यवाद अहिले प्रकट रुपमा विश्वमा भौगोलिक तथा सांगठनिक पकड विस्तारका लागि होडबाजीमा लागेका छन् । अहिले स्वरुपमा देख्दा व्यापार युद्ध जस्तो देखिए पनि यिनीहरुको यो युद्ध अन्ततः हतियारबद्ध युद्धमा परिणत हुन सक्ने संभावनालाई संकेत नकार्न सकिदैन ।

पहिलो र दोस्रो विश्व युद्ध एशियाको भूगोलमा लडेको अमेरिकी तथा युरोपीय साम्राज्यवाद तेस्रो विश्व युद्ध पनि एशियाको भूगोलमा लड्न चाहन्छ । यसका लागि पश्चिमा साम्राज्यवादीहरुले तयारी गरिरहेका अनुभूत हुन्छ । यसको संभावित छनौटमा कोरियाली प्रायद्वीप, साउथ चाइना सी र हिन्द महासागर रहेका देखिन्छन् ।

यसका साथै अरब देशहरु हान्ने योजनामा अमेरिका र युरोपीयनहरु रहेका पनि देखिन्छन् । त्यो विश्व युद्धका लागि नभइ एकतर्फी तेल लिनका लागि बढी केन्द्रित रहेको देखिन्छ । यदि अरब देशहरुका विश्वयुद्ध गरिएमा त्यो महाशक्ति देशहरु कसैका लागि पनि फाइदा छैन । तर अमेरिकी तथा युरोपीयहरु भने अरब देशहरुमा ‘तेल युद्ध’ लडिरहने देखिन्छ ।

क) एशियामा वार्ता दक्षिण अमेरिकामा आक्रमण 

संयुक्त राज्य अमेरिकालगायत पश्चिमा साम्राज्यवादी देशहरु अहिले आफ्ना वरिपरि रहेका तर चीन अमेरिकाका समर्थनप्राप्त गरेका देशहरुबाट भोलि लडाइँका बेलामा र हालको अवस्थामा पनि खतरा रहेको देखिरहेका छन् । त्यसैले उनीहरु सबै लागेर ती देशहरुमा चीन–रुस समर्थन प्राप्त सरकारहरुको तख्ता पल्टाउनतिर एकजुट भएर लागि परेका छन् ।

हाल ल्याटिन अमेरिकामा भेनेजुयलाका सत्तासिन मादुरोको निर्वाचित सरकारलाई अमेरिकासहित युरोप र दक्षिण अमेरिकी देशहरु सत्ताच्युत गराउन लागिपरिरहेका छन् ।

यो सँगसँगै आफूहरुको कालो अनुहार छोप्नका लागि अमेरिकी राष्ट्रपति ट्रम्पले एशियामा अवस्थित उत्तर कोरियासँग वार्ताको नाटक गरिरहेका छन् । यसले एशियामा अल्झाउने र दक्षिण अमेरिकामा आफ्नो क्षेत्र क्लियर पार्ने उद्देश्यले यसो गरेको देखिन्छ ।

ख) सेफ्टी जोन निर्माण 

संभावित विश्व युद्ध वा ठूला खालका युद्धहरुको तयारी गर्दै गर्दा अमेरिका लगायतका पश्चिमा साम्राज्यवादी शक्तिहरुले कम्तिमा युरोप तथा उत्तर–दक्षिण अमेरिकालाई आफ्नो ‘सेफ्टी जोन’ का रुपमा विकास गर्न चाहेको देखिन्छ । भेनेजुएलामाथि जाइलागेपछि त्यहाँको मिसन सफल भएपश्चात् यिनीहरु मेक्सिको र क्युवामाथि जाइलाग्ने देखिएको छ ।

यो उनीहरुका लागि आफ्नै महादेशभित्रको संभावित बाधा फुकाउन गरिएको कदम हो । यसले एक त उनीहरुको एकछत्र बजार कायम गर्नलाई सहयोग पुर्याउनेछ । अर्कोतर्फ, यसले संभावित अलायन्स निर्माणमा सहयोग पुर्याउने छ । भेनेजुएला पछि मेक्सिकोसँग हुनसक्ने अमेरिकी हस्तक्षेप र दादागिरीका लागि हाल अमेरिकी सदनमा ‘मेक्सिकोको पर्खाल’ले चर्को लफडा खडा गरिरहेको छ ।

आप्रवासनको मुद्दासँग जोडिएको यो कुरा छिमेकी देशहरुले थोरै पनि अडानका साथ चलाए भने संयुक्त राज्य अमेरिका अप्ठेरोमा पर्ने भने देखिन्छ । यो छिमेकी देशहरुको रबैयामा केही हदसम्म भर पर्दछ ।

ग) किलिङ जोन निर्धारण

‘सेफ्टी जोन’ निर्माणसँगै अमेरिकी तथा युरोपीयहरु किलिङ जोन निर्माणका लागि स्थान छनौटमा लागेका छन् । उनीहरु यी स्थानहरु एशियामा पार्न चाहन्छन् । अमेरिका पहिलेजस्तो जे पनि म गर्छु र मैले नै बजेट खर्च गर्छु भन्ने हैसियतमा देखिएको छैन । उसले विश्वमा स्रोत कब्जाका लागि साझेदारी शक्ति निर्माण गर्ने र ती सबैबाट डलर उठाई कोष जम्मा गर्ने प्रक्रियामा लागेको देखिन्छ ।

यसले अमेरिका र युरोपका बीचमा केही असमझदारी त कायम गरेको छ, तर यो प्रक्रिया अबका दिनहरुमा अनिवार्य हो भन्ने कुरा पनि स्थापित गराउँदै लगेको देखिन्छ ।

लडाइँका निशाना एशियामा साँधिएका छन् । स्रोतहरु पनि एशियामा नै बढि देखिएका र ती स्रोत कब्जाका लागि अमेरिकी लगायतका पश्चिमा शक्तिहरुका आँखा पनि त्यसैमा गडिएकाले निशानाका क्षेत्रहरु एशियाका देशहरु नै पर्ने देखिएको छ ।

घ) ‘न्युट्रल’ वा ‘रिजर्भ जोन’मा ध्यान

वर्तमान शक्ति सन्तुलनको अवस्थालाई लिएर पहिलेका विश्वयुद्ध, पहिलो होस् वा दोस्रो, भन्दा ठूलो समर्थन युद्ध लड्ने देशहरुलाई आवश्यक हुने छ । विज्ञान र प्रविधिले गरेको विकास र सञ्चार जगतमा आएको आमूल परिवर्तनका कारणले पहिले जस्तो सबै कुरा वर्षौं गुपचूप र गुमनाम रहने देखिदैन ।

यसका लागि पनि विश्व जनमत लडाइँ गर्ने देशहरुका पक्षमा देखिनु जरुरी छ । यसलाई मध्यनजर गरेर वर्षौंपछि हुने लडाइँको तयारी साम्राज्यवादीहरुले गरिरहेका छन् । यसका लागि अफ्रिका महादेशमा अमेरिका लगायत रुसचीनहरु निकै ठूलो लगानी लिएर भित्रिइरहेका छन् । यो प्रक्रियासँगै बजार बिस्तार र अलायन्सको दुवै कामहरु एकै पटक विकास र समृद्धिको नाममा गरिरहेका छन् ।

ङ) ‘वार अन ट्रेड’ सँगै ‘वार अन थ्रेट’

अमेरिकालगायत पश्चिमा जगतले एकै पटक दुईवटा कदमहरु चालेका छन् । उनीहरुले एकतिर ‘वार अन ट्रेड’ अर्थात् व्यापार युद्ध चलाइरहेका छन् भने अर्कोतिर ‘वार अन थ्रेट’ अर्थात् चुनौति विरुद्ध युद्ध एकसाथ लगिरहेका छन् । सामूहिक तथा व्यक्त रुपमा आएको उनीहरुको यो डबल कदम हाल भेनेजुएलामाथि ठोक्किएको छ ।

यो हेर्दा निकै सामान्य जस्तो देखिए पनि यसैलाई विश्वमा रुसचीन समर्थन सिध्याउने तरिका र साधनका रुपमा यिनीहरुले अघि बढाउने देखिएको छ ।