उत्तरआधुनिकतावाद : नव आदर्शवादी कला चिन्तन

उत्तरआधुनिकतावाद : नव आदर्शवादी कला चिन्तन

उत्तर आधुनिक, उत्तर आधुनिकता र उत्तर आधुनिकतावाद बिसौं शताब्दीको उत्तरार्धतिरबाट ज्ञान र व्यवहारका विभिन्न क्षेत्रमा प्रचलित हुँदै आएका विशिष्ट पदावली हुन् । यससँगै गाँसिएर आउने अन्य विशिष्ट पारिभाषिक पद पदावलीहरूमा उत्तर संरचनावाद, उत्तर उपनिवेशवाद, बहुलवाद, सांस्कृतिक अध्ययन, नव इतिहासवाद आदि पनि उल्लेख्य रहेका छन् । यसो भए पनि उत्तर आधुनिकतालाई एउटा बृहत् छाता र अन्य सबै यसैभित्र अटाउने चिन्तन तथा अवधारणा विशेषसग सम्बन्धित पद पदवालीकै रूपमा रहेका छन् ।

त्यसमा पनि उत्तर आधुनिकता अवधारणा र व्यवहार वा पद्धतिको समष्टि हो भने यसलाई खास सैद्धान्तिक आधार वा पीठिका प्रदान गर्ने काम उत्तर संरचनावादले गरेको छ । निनु चापागाईं उत्तर आधुनिकतावादलाई व्यवहार र उत्तर संरचनावादलाई सिद्धान्त भन्छन् (२४) भने चैतन्यले उत्तर आधुनिकतावादको दार्शनिक पद्धतिका रूपमा विसङ्घटनवाद (अर्थात् उत्तर संरचनावाद, ले.)लाई स्वीकार गरेका छन् ।

वास्तवमा औपचारिक एवम् शास्त्रीय दृष्टिले हेर्दा पनि उत्तर आधनिकतावादकै नाउँबाट सिद्धान्तको व्याख्या पाइँदैन, यसलाई ज्ञानको दशा र व्यवहारकै रूपमा प्रस्तुत गरिएको पाइन्छ र जब यसको सिद्धान्तको प्रश्न आउँछ, त्यसको जवाफ उत्तर संरचनावादबाटै खोज्नु पर्ने वा लिनु पर्ने अवस्था रहेको देखिन्छ । व्यवहारतः उत्तर आधुनिकतावादलाई ठोस आकार दिने वा यसका निर्माणमा मुख्य भूमिका निर्वाह गर्ने प्रमुख चिन्तकहरू ज्याक डेरिडा, मिसेल फुको, बौद्रिलार्द, ल्योतार आदि मूल रूपमा उत्तर संरचनावादी नै भएबाट उत्तर आधुनिकतालाई सैद्धान्तिक दार्शनिक आधार भूमि प्रदान गर्ने काम उत्तर संरचनावादले नै गरेको कुरामा शङ्का रहन्न ।

उत्तर आधुनिकतावाद अब धेरै नौलो र अबोधगम्य कुरा भने रहेन । यद्यपि यसले अझै पनि कला एवं विचारधाराका क्षेत्रमा आफ्नो वर्चस्व कायम गरि रहेकै छ तर सँगसँगैे यससँग माक्र्सवादको सोझो सङ्घर्ष पनि छ । उत्तर आधुनिकतावाद के हो भन्ने सन्दर्भमा फ्रेडरिक जेमेसनले भनेको कुरा सम्झन सकिन्छ ।

वास्तवमा द्वितीय विश्व युद्धोत्तर कालमा पुँजीवादको चरित्रमा आएको परिवर्तन र स्वतन्त्रता, समानता र भ्रातृत्वको नारा लिएर विकसित भएको पुँजीवादको पूर्ववर्ती चरित्रको विस्थापनसँगै वित्तीय पुँजीवाद र उपभोक्तावादी समाजको विकास पश्चिममा जसरी भयो अनि त्यसको सांस्कृतिक अभिव्यक्ति जुन रुप र पद्धतिमा भयो, त्यसलाई उत्तर आधुनिकतावाद भनेर जेमेसनले बुझाउन खोजेका हुन् । उनले यसलाई वृद्ध पुँजीवादको सांस्कृतिक तर्क  भनेर यही आशय व्यक्त गर्न खोजेका हुन् । त्यसैले यो उत्तर आधुनिकतावादको चेतना आजको पुँजीवाद अर्थात् नयाँ खाले आजको साम्राज्यवादको सांस्कृतिक चेतना नै हो ।

राजनीतिक रुपले यो मार्क्सवादविरुद्ध छ र दार्शनिक रुपले यो भौतिकवादविरुद्ध नव आदर्शवादी धरातलमा उभिएको छ (चैतन्य, पृ. ) । मूल्यपद्धतिका दृष्टिले यो आधुनिक युग खास गरी प्रबोधन काल मा विकसित रहस्यवाद विरोधी वैज्ञानिक तथा मानवकेन्द्रीत चेतना, मूल्य र आदर्शका विरुद्ध छ अनि रचनाधर्मिताका दृष्टिले यो सार्थक र सङ्गत लेखनका विरुद्ध भाषा खेलको उपक्रममा संलग्न छ । यसका विशेषतालाई निम्न कोणबाट अझ स्पष्ट पार्न सकिन्छ ।

ल्योतार (ल्योतार्ड )

यसलाई दार्शनिक दृष्टिले औपचारिकता प्रदान गर्ने काम फ्रान्सेली चिन्तक ज्याँ फ्राँस्वा ल्योतारको दि पोस्ट मोडर्न कन्डिसन : ए रिपोर्ट अन नलेज भन्ने कृतिले गर्यो । फ्रान्सेली भाषामा सन् १९७९ मा र अङ्ग्रेजीमा १९८४ मा प्रकाशित यो कृति क्यानाडा (क्युबेक) सरकारका अनुरोधमा पश्चिमी ज्ञान स्थितिबारे चर्चा गर्नका लागि तयार पारिएको हो । यस कृतिले उत्तर आधुनिकतालाई औपचारिक बनाउने काम त गर्यो नै ल्योतारलाई उत्तर आधुनिकताका प्रणेता र व्याख्याताका रूपमा पनि स्थापित गर्यो।

ल्योतारले यस कृति (प्रतिवेदन)मा उत्तर औद्योगिक समाजको चरित्र र त्यसको ज्ञानदशाबारे चर्चा गर्ने क्रममा भाषाको परम्परागत रूप र सामथ्र्यको अन्त्य र खेलमय नयाँ भाषिक साम्राज्य, साइबर संस्कृति र ज्ञानको कम्प्युटर निर्भरता तथा ज्ञान लगायत मार्क्सवाद जस्ता महावृत्तान्तको समीचीनताको अन्त्यको सन्दर्भलाई प्रमुख रूप प्रस्तुत गर्दै त्यस स्थितिलाई उत्तर आधुनिक स्थितिका रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन् ।

उनी के भन्छन् भने अब ज्ञान शास्त्रहरूमा वा ज्ञान हासिल गरेका कुनै व्यक्तिमा नभएर कम्प्युटरमा आधारित हुन्छ । सूचना नै ज्ञानको परिचायक हुन्छ र जमिनका निम्ति हिजोका दिनमा गरिने युद्ध अब सूचना प्राप्तिका लागि र सूचनामाथि अधिकार जमाउनका लागि गरिन्छ । सूचनाको उत्पादन तथा बिक्री हुन्छ र त्यसमा राज्यको भूमिका कमजोर हुनुका साथै ठूला बहुराष्ट्रिय निगमहरूले आधिपत्य कायम गर्ने छन् ।

विज्ञानका सन्दर्भमा उनले के भने आफूभित्रको निरन्तर विकासले गर्दा विज्ञान पनि सत्य र वस्तुनिष्ठ छैन र यसमाथि अविश्वास जन्मिएको छ । विज्ञानमा सत्य उद्घाटित गर्ने सामथ्र्य अब छैन (किनभने त्यो स्वयं अन्तर्विकसित छ) । यसै गरी फ्रान्सेली क्रान्तिले जन्माएको मानव स्वतन्त्रताको महाख्यानदेखि अठारौं शताब्दीको ज्ञान प्रसारण कालका दार्शनिक चिन्तन हुँदै मार्क्सवादले विकसित गरेका सर्वहारा मुक्ति र समाजवादको क्रान्तिकारी महाख्यान(महावृत्तान्त) को पनि समीचीनता समाप्त भइसेकेको र तीप्रति अविश्वास व्याप्त भएको भन्ने धारणा उनले अगाडि सारे । त्यसैले न अब (उत्तर औद्योगिक युगमा) विज्ञानकै नायकत्व (वा सर्वोपरिता) कायम रहेको छ न स्वतन्त्रता र क्रान्तिकारी दर्शनकै वृत्तान्तहरू अब विश्वसनीय रहेका छन् ।

डेनियल बेल

उत्तर आधुनिकतावादलाई सैद्धान्तिक आधार दिने डेनियल बेलले सन् १९६० मा विचारधाराको अन्त्यको घोषणा गरे र १९७३ मा उत्तर औद्योगिक समाजको परिकल्पना गर्दै प्रविधिका सामु मानिस तथा उसको चेतना अनावश्यक भएको बताए ।

फुकोयामा

सन् १९९० मा सोभियत संघको विघटनलाई आधार बनाएर फुकोयामाले १९९२ मा इतिहासको अन्त्य र उदार पँजीवाद चिरञ्जीवी भएको अवधारणा प्रस्तुत गरे ।

डेरिडा र रोलाँ बार्थको भाषिक अर्थको सन्दर्भ

अर्थको एकत्वको विरोध र अमूर्तन तथा विरोधहरुको अनन्त शृङ्खलाबाट विरोधकेै अन्त्य

डेरिडाली उत्तर संरचनावादको सबभन्दा महत्वपूर्ण विशेषता भनेकै भाषा वा पाठको अर्थमा निश्चिचता र एकत्वको विरोध हो । यसले पाठको अर्थ निश्चित हुँदैन, त्यसमा संशय  र अनिश्चितता मात्र हुन्छ भन्ने धारणा राख्दछ । डेरिडाले भिन्नता  र अनुपस्थिति  को सिद्धान्तका आधारमा अर्थको अनिश्चितता वा संशयसम्बन्धी अवधारणा प्रस्तुत गरेका छन् । भाषाका शब्दहरु, सङ्केतकहरु बीच भिन्नता छ र यो भिन्नता केवल द्विचर विरोधमा होइन, अनन्ततामा छ । विरोधमा वा व्यतिरेकमा आउने शब्दहरु, सङ्केतकहरु बिच अनन्त भिन्न्ता र विरोध मात्र छ र शब्दहरुले टेक्ने वा अडिने ठाउँ नै छैन भन्ने मान्यता डेरिडाको छ ।

यद्यपि ती सबै शब्द वा सङ्केतकहरु उपस्थित हुँदैनन्, अनुपस्थित रहन्छन् र ती तिनका अर्थहरु स्थगित हुँदै र छरिँदै जान्छन् । भिन्नताका युग्मकमा वाचक÷सङ्केतकहरूमा सङ्केतितको उपस्थिति र अनुपस्थितिको खेल श्रृङ्खलाबद्ध रूपमा जारी रहन्छ । एउटा वाचकले अर्को वाचक, अर्को वाचकले अर्को वाचकमा क्रमशः अर्थ, सङ्केतितलाई सार्दै जान्छन् र अर्थ पर पर सर्दै जान्छ । त्यसैले अर्थको निश्चयात्मक रूप पाउन कठिन हुन्छ र त्यस कारण अर्थोत्पत्तिको खेल जारी रहन्छ– डेरिडा यस्तो व्याख्या गर्छन् र भाषामा हुने यही भिन्नता, विभेद, स्थगन, अनुपस्थिति र छरिने गुणले गर्दा अर्थ निश्चित हुँदैन भन्ने निष्कर्ष दिन्छन् ।

उत्तर संरचनावादको यस व्याख्याका आधारमा कतिपयले के पनि भनेका छन् भने सस्युरको द्विचर विरोधको युग्मकमा देखिने शब्दका बिचको भेदलाई डेरिडाको सिद्धान्तले विस्तार दिएको छ अर्थात् भिन्नता वा विरोधलाई बढाएको छ तर मार्क्सवादी सौन्दर्य चिन्तक चैतन्यका विचारमा डेरिडाले भिन्नतालाई विस्तार दिएका होइनन् अपितु भिन्नता र विरोधकै अन्त्य गरेका छन् ।

उनका सिद्धान्तमा अब शोषक र शोषित, उत्पीडक र उत्पीडितका बिचको तीव्र र प्रखर अन्तर्विरोधको अर्थ छैन । उत्पीडन छ भन्ने अर्थ नै स्थापित वा निरूपित हुन सक्तैन । वास्तवमा यसलाई सिङ्गो उत्तर आधुनिकतावादी चिन्तनका सन्दर्भमा हेर्ने हो भने यो अन्त्यकै अवधारणा हो– निश्चित अर्थको अन्त्य, वर्गको अन्त्य, वर्ग सङ्घर्षको अन्त्य अनि क्रान्ति हुन्छ भन्ने विश्वासको अन्त्य । यसबारे भारतीय मार्क्सवादी सौन्दर्य चिन्तक मैनेजर पाण्डेय भन्छन् :

वास्तवमा उत्तर आधुनिकतावादी अद्वैतवादमा हरेक किसिमका विरोधहरूको अस्त हुन्छ । उसका अनुसार शोषक र शोषित, दमनकारी र दमित, केन्द्र र परिधि(सीमान्त) तथा आवाजहीन र वाचालका बीच न कुनै द्वैत छ न कुनै विरोध न कुनै सङ्घर्ष । उनीहरू यो देख्दैनन् कि यी सबै द्वैत र विरोधहरूको जनक पुँजीवाद हो । उनीहरू मुक्तिको महाख्यानको अन्त्यको कुरा त गर्छन् तर तीन चार सय वर्षदेखि क्रियाशील गुलामीको विराट् वृत्तान्तका बारेमा केही भन्दैनन् ।

डेरिडा शब्दहरूको सम्बन्धका बीच कुनै कुरा अनश्वर छ भने मात्र विभेद छ र सङ्केतक तथा सङ्केतितका बिच कुनै एकत्व छैन, अर्थ सदैव विभेद र स्थगनमा आश्रित छ त भन्छन् तर विभेदको उनको अवधारणालाई उनकै स्थगन र अनुपस्थितिको अन्त्यहीन शृङ्खला सम्बन्धी अवधारणाले यति पातलो र अमूर्त बनाइ दिएको छ कि तात्विक रूपले नै विरोधको अर्थ र सन्दर्भ अर्थहीन बन्न पुगेको छ । वास्तवमा शब्द वा भाषाप्रतिको यति ठूलो मजाक अहिलेसम्म भएकै थिएन भन्दा पनि हुन्छ । यसले भाषाको सामाजिक शक्ति र त्यसका अर्थको सौन्दर्यलाई पूरै विद्रूप बनाइ दिएको छ ।