अविश्वासको घेरामा स्थानीय न्यायिक समिति

अविश्वासको घेरामा स्थानीय न्यायिक समिति

काठमाडौं । स्थानीय सरकार निर्माण भएपछि जनताका घरघरमा न्याय पुग्ने विश्वासका साथ निर्माण गरिएको स्थानीय न्यायिक समितिप्रति जनताको आकर्षण बढ्न सकेन । नगरपालिकाको उपमेयरको संयोजकत्वमा र गाउँपालिका उपप्रमुखको संयोकत्वमा हरेक स्थानीय सरकारहरुमा स्थानीय न्यायिक समिति रहेको छ । सुरुमा यो न्यायिक समितिप्रति स्थानीय जनताको केही आशा र भरोसा तथा आकर्षण बढ्दै गइरहेको देखिए तापनि स्थानीय सरकारले सत्ता सञ्चालन गरेको एकवर्ष पुगिसक्दा यसमा ह्रास आउँदै गएको छ ।

लामो समयसम्म स्थानीय सत्ता खाली रहनु, न्यायिक कामहरु सम्पादन हुन नसक्नु र जनताहरु अदालतमा जान र मुद्दाहरु फैसला गर्न बानी परिसक्नुका कारणले पनि यसो हुन पुगेको विज्ञहरुको भनाइ रहेको छ । यसका साथै गाउँघरमा सामान्य असमझदारी वा झैझगडामा कमी आउनु र झगडा तथा खिचलोहरु केही माथिल्लो तहका हुनजानु र त्यसको अदालती तथा स्थायी समाधान खोजिनुका कारणले पनि जनताको स्थानीय न्यायिक समितिप्रति ध्यान जान सकिरहेको छैन ।

अर्को कुरा, केन्द्रीय वा संघीय सरकारले पूर्णतः अधिकार प्रादेशिक तथा स्थानीय सरकारलाई दिइसकेको छैन र उल्टै अंकुश लागाएर व्यवधान खडा गरिरहेको छ । यस्तो अधिकारविहीन सत्ताप्रति जनताको चासो त्यसै पनि बढ्न सक्दैन । न्यायालयहरु केन्द्रीय सरकारका मातहतमा चलिरहेकाले पनि स्थानीय जनताको न्यायप्रतिको मनोवैज्ञानिक विश्वास स्थानीय न्यायिक निकायमा सर्न सकेको छैन ।

योसँग जोडिएको अर्को महत्वपूर्ण कुरा भनेको स्थानीय न्यायिक निकायले पक्षविपक्षबीच मेलमिलाप मात्र गर्छ र गराउँछ । तर अदालतमा फैसलासम्म गर्ने अधिकार छ । यो सापेक्षतामा स्थायी र झन्झट टुंगिने प्रक्रिया पनि हो । तथापि गाउँघरमा हुने न्यायसम्बन्धि सबैजसो समस्याहरु मेलमिला गर्ने खालका नै हुन्छन् । यी कुराहरुलाई मनन गरेर स्थानीय न्यायिक निकायलाई नायिक सम्पादनका हिसाबले सशक्तिकरण गर्नु जरुरी छ । यसका लागि उच्चस्तरको तालिम, छलफल, पुस्तकालय निर्माण तथा गाउँघरमा न्यायिक जनसचेतनाका अभियानहरु चलाइनु पर्दछ ।

तत्कालका लागि स्थानीय जनप्रतिनिधिहरुमा रहेको न्यायिक सम्पादन कार्यमा देखिएका केही अपुग तथा कमी कमजोरीका कारण पनि स्थानीय जनताको चासो र आकर्षण नबढेको देखिन्छ । यसका साथै निर्वाचित स्थानीय न्यायिक समिति मार्फत् न्याय सम्पादन कार्य नेपालको इतिहासमा पहिलो पटक भएकाले पनि बानी लाग्न समय लाग्ने देखिन्छ ।