भालुको आक्रमणबाट बाजुरामा दुई जना घाइते

प्रकाशित मिति : २०७५ मंसिर १८

बाजुरा । भालुको आक्रमणबाट खप्तड छेडेदह गाउँपालिका–४ खातीगाउँका दुई महिला घाइते भएका छन् ।
उक्त आक्रमणमा परी ५२ वर्षीया जलु धामी र १६ वर्षीया शान्ति धामी गम्भीर घाइते भएको खप्तड छेडेदह गाउँपालिका–४ का वडाध्यक्ष हर्क रावतले जानकारी दिए ।

रावतका अनुसार जलुको आँखामा चोट लागेको छ भने शान्तिको पिठ्युमा चोट लागेको छ । मंगलबार बिहान गाउँ नजीकैको छडीखोलामा घाँस काट्न जानेक्रममा भालुले आक्रमण गरेको हो ।

घाइते दुवैको गुदुखाती स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि अछामको बयलपाटा अस्पताल लगिएको छ ।