ग्लोब अवार्डको मनोनयमा रानाल्डो, ग्रिजम्यान र एम्बापे

ग्लोब अवार्डको मनोनयमा रानाल्डो, ग्रिजम्यान र एम्बापे

काठमाडौं । पोर्चुगल तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, फ्रान्स तथा एथ्लेटिको मड्रिडका एन्टोइन ग्रिजम्यान र फ्रान्स तथा पिएसजीका केलियन एम्बापे ग्लोब सकर अवार्ड अन्तरगको उत्कृष्ट खेलाडीको विधामा मनोनयन भएका छन् ।

युरोपियन क्लब एसोसिएसन (इसीए) र युरोपियन एसोसिएसन अफ प्लेयर एजेन्ट (इएफएए) को आयोजनामा हुने अवार्डका लागि आयोजकले सोमबार राती विभिन्ना विधाको मनोनयन सार्वजनिक गरेको हो ।

सन २०१० देखि सुरु भएको ग्लोब अवार्डलाई स्पेनिस पत्रिका मार्काले समेत प्रायोजन सहयोग गर्दै आएको छ । रोनाल्डोले यसअघि चारपटक यस अवार्ड जिति सकेका छन् ।

आठ पटक मनोनयनमा परेका रोनाल्डोले सन् २०११, २०१४ र सन् २०१७, २०१८ मा लगातार दुई पटक यस अवार्ड जितेका थिए । एक एक पटक जित्नेमा राडामेल फाल्काओले २०१२, फ्रान्क रिबेरीले २०१३ र लियोनल मेसीले २०१५ छन् ।

यसैगरी, ग्लोब अवार्ड अन्तर्गत उत्कृष्ट प्रशिक्षकको मनोनयनमा विश्वकप विजेता फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प, रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान, एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमिओनी, लिभरपुलका प्रशिक्षक योर्गन क्लोप र युभेन्ट्सका प्रशिक्षक मासिमालियानो एलिग्री परेका छन् ।

उत्कृष्ट क्लबको मनोनयनमा रियल म्याड्रिड, लिभरपुल र एट्लेटिको परेका छन् । आयोजकले उत्कृष्ट खेलाडी, प्रशिक्षक र क्लब सहित विभिन्न १३ विधामा अवार्ड प्रदान गर्दछ । उक्त अवार्ड सन् २०१९ को जनवरी ३ प्रदान गरिने छ ।