मिल वर्ल्ड प्रतियोगिताको सेमिफाइनलमा पुगिन शृंखला

मिल वर्ल्ड प्रतियोगिताको सेमिफाइनलमा पुगिन शृंखला

काठमाडौं । हाल चीनको सान्यामा जारी मिल वर्ल्ड २०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल २०१८ शृंखला खतिवडा अघिल्लो चरणमा पुगेकी छिन् ।

उनी एक सय २१ देशका सुन्दरीहरु सहभागी प्रतियोगितामा उत्कृष्ट ३० मा छनोट हुँदै सेमिफाइनलमा प्रवेश गरेकी हुन् । टप मोडेल विधा अन्तर्गत उनी सेमिफाइनलमा पुगेकी हुन् । उनले बिहीबार साँझ आफ्नो फेसबुक पेजमार्फत् आफू सेमिफाइनलमा पुगेको बताएकी हुन् । उनले भनिन्, ‘सेमीमा प्रवेश गर्दा म अत्यन्त खुशी छु । प्रतिस्पर्धाको कठिन अवस्थालाई शानदार तरिकाले सम्हाल्न सकेकोमा प्रतिस्पर्धीले मलाई बधाई दिएका थिए ।’ उनले थपिन्, ‘नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिन चाहन्छु ।’

मिस वर्ल्डमा भाग लिन शृंखला नौ दिनअघि चीन गएकी हुन् । २२ वर्षे शृंखला पेसाले इन्जिनियर हुन् । यसपटकको मिस वल्र्डको प्रतिस्पर्धामा शृंखला यसअघिदेखि नै अगाडि छिन् । उनी एसियाबाट सबैभन्दा प्रभावशाली साबित भइसकेकी छिन् । डिसेम्बर ८ मा चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को अन्तिम प्रतिस्पर्धा हुँदैछ । मिस वल्र्डको काउन्ट डाउन सुरु भइसकेको छ । आशा गरौं नतिजा राम्रो नै आउने छ ।