जुम्लाबाट मात्रै १७ करोडको स्याउ निर्यात

जुम्लाबाट मात्रै १७ करोडको स्याउ निर्यात

जुम्ला, मंसिर ६ । चालू आर्थिक वर्षमा जुम्लाबाट मात्रै झण्डै १७ करोड बराबरको स्याउ निर्यात भएको छ । यो वर्ष भदौ १० गतेदेखि स्याउ टिप्न किसानलाई सुचित गरिएको थियो । जसले गर्दा गुणस्तरिय स्याउ उत्पादनमा टेवा पुगेको थियो । जसको कारण गत भदौ महिनादेखि कार्तिकसम्म यहाँबाट १७ करोडको स्याउ निर्यात भएको हो ।

यस वर्ष स्याउ बेचेर जिल्लाका प्रति स्याउ कृषकले ५० हजारदेखि १० लाखसम्म आम्दानी गरेको तथ्यांक छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोन जुम्लाका अनुसार जिल्लामा झण्डै ३ हजार ४ सय टन स्याउ उत्पादन भएको थियो । जसमा २ हजार ३ सय टन स्याउ बाहिरी जिल्लामा निर्यात भएको हो । कृषि ज्ञान केन्द्रका विज्ञ बालकराम देवकोटा स्याउको क्षेत्रफलका आधारमा निकै कम फलेपनि गत वर्षको तुलनामा यो वर्ष उत्पादन बढेको बताउँछन् । उनले भने, “यो पटक ठिक समयमा स्याउ टिपेकोले गुणस्तर स्वादिलो र रसिलो स्याउ बजारमा पुगेको हो ।”

जिल्लाका आठवटा स्थानीय तहबाट स्याउ निर्यातका लागि करिब ३ सय जना व्यापारीले अनुमति लिएको स्थानीय सरकारको तथ्यांकमा उल्लेख छ । स्थानीय तहले प्रति किलो स्याउ निर्यातको ५० पैंसाका दरले कर संकलन गरेको थियो । यहाँका स्याउ किसानले बगैचामै ६० रुपैयाँ प्रतिकेजी स्याउ बेचेका हुन ।

जुम्ली स्याउ नेपालगंज, सुर्खेत, विराटनगर, पोखरा महेन्द्रनगर, लगायत देशका प्रमुख व्यापारिक सहरमा समेत पुगेको छ । यहाँको स्याउ लेवलिङ, ग्रेडिङ र प्योकेजिङ आधारमा बजारमा लिने चलन छ, कृषि बिज्ञ देवकोटाले भने,“गे्रड ए, बी र सी आकारको स्याउ बजारमै लैजान गरिएकोमा डी ग्रेड भन्दा सानो स्याउको चाना, जाम, जुस, जेली र ब्राण्डी बनाउने गरिन्छ ।

जुम्लाको ३ हजार ४ सय ५० हेक्टर जमिनमा स्याउ खेती भएकोमा ९ सय हेक्टरमा लगाइएको स्याउले फल दिन्छ । गत वर्ष ३ हजार ७ सय टन स्याउ निर्यात भएको थियो । जुम्लाका कुल १८ हजार घरधुरीमध्ये १४ हजार घरमा स्याउ बगैचा छन् । न्यूनतम २५ देखि माथिको संख्यामा स्याउ विरुवा रहेकोलाई बगैंचाको रुपमा दिने गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोनका बरिष्ठ कृषि अधिकृत टिकाराम शर्माले स्याउ फुल्ने समयमा असिना पर्ने, हिउँ कम पर्ने, पानी बढी पर्ने र विभिन्न रोगका कारण स्याउ उत्पादन वर्षेनी ओरालो तिर लाग्ने गरेको बताए । स्याउ खेतिको क्षेत्रफल बढेदै जादा उत्पादनमा गिरावट आउन थालेपछि किसान चिन्तित छन । यहाँका किसानलाई बगैचा व्यवस्थापन, रेखदेख र बजारीकरणका वारेमा थुप्रो ज्ञान छ, तर व्यवहारमा कार्यन्वयन नगर्दा गुणस्तरिय उत्पादन हुन सकेको छैन् ।

पछिल्लो समयमा यहाँका स्थानीय तहले स्याउ र सिमीलाई लक्षित गर्दै कृषिका कार्यक्रम तर्जुमा गरेका छन् । गत वर्ष किसानले स्याउ आफैं बाहिरी बजारसम्म लिने गरेकोमा यो वर्ष व्यापारीलाई बगैंचामै दिएका हुन् । स्थानीय तहले स्याउमा कर लगाएपछि किसानले स्याउ निर्यात नगरेका हुन् ।