काठमाडौं । अफ्रिकी मूलुक आइभरी कोस्टका स्टार खेलाडी अग्लो शरीर, भ्याप्ले कपाल, मैदानमा डटेर खेल्ने र विपक्षीलाई हैरान बनाउन माहिर । डिडियर ड्रोग्बा आइभोरी कोस्टका यिनै महान फुटबलर ड्रोग्बाले बुधबार राती सबैखाले फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
चार बर्षअघि नै राष्ट्रिय टोलीबाट सन्यास लिइसकेका ४० बर्षीय ड्रोग्बाले क्लब फुटबलबाट पनि सन्नास लिएका हुन् । उनले भने, ‘२० बर्ष लामो फुटबल खेललाई मैले विट मार्ने निर्णय गरें । फुटबलले दिएको सफताबाट म सन्तुष्ट छु । बाँकी समय फुटबलमै कुनै न कुनै भूमिकामा रहनेछु ।’
सन् २००२ देखि २०१४ सम्म आइभोरी कोस्टको राष्ट्रिय टोलीमा रोजाईका खेलाडी ड्रोग्बाले टोलीलाई महत्वपूर्ण योगदान दिए । सन् २००६, २०१० र २०१४ को विश्वकपमा उनी आइभोरी कोस्टका खम्बा थिए । उनकै नेतृत्वमा आइभोरी कोस्ट सन् २००६ र २०१२ मा अफ्रिकन कप अफ नेशनको फाइनलमा पुग्यो । तर, संयोगवस दुवै पटक आइभोरी कोस्ट फाइनलमा पेनाल्टीमा पराजित भयो ।
आइभोरी कोस्टका लागि १०४ खेल खेल्दै ६५ गोल गरेका ड्रोग्बाले सन् २०१४ को ब्राजिल विश्वकप पछि राष्ट्रिय टोलीबाट सन्यास लिएका थिए ।
जवानीमा उनले इङ्लिस प्रिमियर लिग टोलीे चेल्सीका लागि नौ बर्ष खेले । चेल्सीका लिजेण्ड उनले चेल्सीमा खेलेका तीन सय ८१ खेलमा एक सय ६४ गोल गरेका थिए । उनले चार पटक त चेल्सीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए । क्यारियरको पछिल्लो १८ महिना उनी अमेरिकी फुटबल क्लब फोनिक्स राईजिङमा सक्रिय थिए ।