काठमाडौं, मंसिर ६ । नेपाली युवा लेग स्पिनर क्रिकेटर सन्दीप लामिछानेले युएईमा जारी टि–१० लिगको पहिलो खेलमा नै ३ विकेट लिदै उत्कृष्ट सुरुवात गरेका छन् । केरला किंग्सले पख्तून्सलाई ८ विकेटले पराजित गर्दा सन्दीपको प्रदर्शन निकै महत्वपूर्ण रह्यो ।

सारजाहा क्रिकेट मैदानमा बुधबार राति टस जितेर पहिलो ब्याटिङ गरेको शाहिद अफ्रिदीको टोली पख्तून्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो । जसमा स्पिनर सन्दीपले २ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिएका थिए । उनले पहिलो ओभरमा नै २ विकेट लिएका थिए ।

हार्दिक शुभकामना !

पहिलो ओभरको पहिलो बलमा नै एन्ड्री फ्लेचरलाई आउट गरेका सन्दीपले अन्तिम बलमा कोलिन इनग्रामलाई पवेलियनको बाटो देखाए । फ्लेचरले सर्वाधिक ३२ रनको योगदान दिए । उनले १४ बलमा ३ चौंका र २ छक्का प्रहार गरे । कोलिन भने १ रन जोडेका थिए । दोस्रो ओभरमा सन्दीपले मुहम्मद कलिमलाई खाता पनि खोल्न नदिइ आउट गरे ।

पख्तून्सका केम्रोन डेलपोर्टले नटआउट २८, चाडविक वाल्टनले १२, लियम डसनले २५ र कप्तान अफ्रिदीले नटआउट ३ रनको योगदान दिए । जवाफमा केरलाले ७ ओभर ५ बलमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । केरलाको सहज जितमा कप्तान इयोन मोर्गानले सर्वाधिक ४६ रनको योगदान दिए । उनले २० बलमा २ चौंका र ५ छक्का प्रहार गरे । त्यस्तै पउल इस्टर्लिङले १४ बलमा ३ चौंका र ४ छक्काको मद्दतमा ४०, क्रिस गेलले १३ र किरोन पोलार्डले ११ रन बनाए ।

पख्तून्सका सोहिल खान र लियम डसनले एक–एक विकेट दिए । ३ विकेट लिएका सन्दीप खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए ।

प्रतिक्रिया

सम्बन्धित खवर