वर्ग संघर्षको विकासमा सर्वहाराको कार्यभार

वर्ग संघर्षको विकासमा सर्वहाराको कार्यभार

मानव समाजको आजसम्मको इतिहास वर्ग संघर्षको इतिहास हो । आजसम्म पनि विरोधी वर्गहरु यो समाजमा अस्तित्वमा रहि आएका छन् । यो वर्गीय समाजमा वर्ग अनुसारका विपरीत स्वार्थहरु टक्कराउने र आफ्नो स्वार्थ अनुरुपको वर्चस्व र प्रभुत्वकारी हैसियत समाजमा खोज्ने भएकाले वर्गहरुबीच एकआपसमा वर्ग संघर्ष चलिरहन्छ ।

यो टकरावपूर्ण वर्ग संघर्षमा पुरानोले नयाँलाई रोक्न र आउन नदिन राज्यका सबै संयन्त्रहरु प्रयोग गर्दछ । तर नयाँले भने अघि बढ्नका लागि वर्ग संघर्षलाई नयाँ नयाँ रुपमा निरन्तर अघि बढाइरहन्छ । यो वैरभावपूर्ण वर्गसंघर्षको प्रक्रियाबाट अन्ततः नयाँ तथा उदीयमान वर्गले विजय प्राप्त गर्दछ । पुराना र यथास्थितिवादीहरु पराजित हुँदै जान्छन् । पुरानो जनविरोधी वर्ग आफैमा मरणशील अवस्थाबाट गुज्रिइरहेको हुन्छ भने नयाँ वर्ग आफैमा जीवनशील र उदीयमान हुन्छ । वर्गहरुबीचमा चल्ने यो टकरावपूर्ण संघर्ष वर्गीय हुन्छ र द्वन्द्वात्मक विधि र प्रक्रियाबाट चुनौतीहरुको सामना गर्दै संभावनातिर निरन्तर अघि बढिरहन्छ ।

माथि उल्लेख गरिए झैं, मानव समाजमा चल्ने गरेका र चल्दै आएका यी दुई विपरीत वर्गीय दृष्टिकोणहरुमध्ये पुरातनहरुको सोंच आदर्शवादी रहेको हुन्छ भने नवीन तथा उदीयमानहरुको द्वन्द्वात्मक भौतिकवादी हुन्छ । दर्शन र विश्वदृष्टिकोणका आधारमा पुरातनका विचारलाई ऐतिहासिक आदर्शवाद र नुतन तथा उदीयमान विचारलाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद गरी दुई विपरीत शिराबाट अध्ययन गरिँदै आएको छ ।

वर्गहरुका बीचमा चल्ने संघर्षका क्रममा उत्पन्न हुँदै जाने भौतिक शक्ति उदीयमान वर्गका पक्षमा स्वतः पर्दै जाने र पुरातन वर्गका पक्षमा घट्दै जाने द्वन्द्ववादी नियम नै हुन्छ । इतिहासमा चल्दै आएको वर्गसंघर्षले समाज विकासका ठूलाठूला चरणहरु र युगहरु पार गरेको छ । त्यसभित्र विशिष्ट चरणहरु पनि रहने गरेका छन् । आदिम साम्यवादी युगपछि अस्तित्वमा आएका दास युग, सामन्ती युग, पुँजीवादी युग तथा त्यसैको विकास मानिएको वर्तमान साम्राज्यवादी युग समाज रुपान्तरणका ठूलाठूला चरणहरु हुन् । यी सबै दुई विपरीत कुराहरुको आपसी टक्करले मानव समाजलाई एकपछि अर्को प्रकृतिको समाजमा रुपान्तरण गर्न सहयेग पुर्याएको देखिन्छ ।

सामाजिक जीवनमा व्यवहारमा हामीहरुले भोग्दै आएका विपरीत कुराहरु जस्तो गति–अगति, आक्रमण–प्रत्याक्रमण, घात–प्रतिघात, क्रिया–प्रतिक्रिया, धनात्मक–ऋणात्मक आदि व्यवहारमा भोग्दै आएका छौं । यिनै क्रिया प्रतिक्रियाले सामाजिक रुपान्तरणको प्रक्रियालाई गतिप्रदान गरिरहेका हुन्छन् । आन्दोलन, संघर्ष वा द्वन्द्वलाई यिनीहरुले आरोहअबरोहका रुपमा कहिले पछि र कहिले अघि पार्ने गरिरहेका छन् ।

पुराना शोषक वर्गले आफ्नै उत्पीडनमूलक शासन व्यवस्था कायमै राख्न प्रयास गरिरहेका हुन्छन् । तर नयाँ र उदीयमान वर्ग वर्गविहीन समाजको परिकल्पना र यसको स्थापना गर्ने लक्ष्यसहित वर्गसंघर्षका माध्यमबाट अघि बढिरहेको हुन्छ । वर्गरहित, शोषणरहित र अन्त्यमा राज्यविहीन समाजको परिकल्पना र स्थापना यसको ध्येय र आदर्श दुवै हुन् । दास व्यवस्थामा दासहरुले दासमालिकका विरुद्धमा गरेको ‘आदि विद्रोह’ (स्पार्टाकस विद्रोह) एक अभूतपूर्व ऐतिहासिक विद्रोह थियो । यसको उद्देश्य दासहरुलाई संपूर्ण शोषण उत्पीडनबाट मुक्त गरेर समानताको समाज निर्माण गर्नु थियो । तर यसले विजय हासिल गर्न सकेन । तथापि दासयुग सामन्तवादी युगमा बदलियो । दासहरु क्रमशः अर्धदास तथा जोताहाहरुमा परिणत हुँदै गए । पछि ती किसान तथा रैतीका रुपमा सामन्ती शासनको मातहतमा रहे । दासहरुको अवस्थाभन्दा यो केही खुकुलो र केही अधिकार प्राप्त भएको अवस्था भने थियो ।

तर राज्यसत्ताको स्वरुपसँगै शोषणका केही स्वरुपहरु बदलिए पनि सामन्ती राज्यसत्ता मूलतः शोषणमूलक नै थियो । भूगोलहरु कब्जा गरेर विभिन्न देशहरुको निर्माण गर्दै राजा र महाराजाहरुले शासन गर्न थालेका थिए । यिनीहरुको अत्याचारका विरुद्ध किसानहरु संगठित रुपमा उठ्न थाले । सामन्तवादी शासन र अधिनाकत्वका विरुद्ध किसानहरुको बलिदानपूर्ण संघर्षबाट सामन्तवादी व्यवस्थाको अन्त्य त भयो, तर समानताको संसार फेरि पनि स्थापना भएन । यसको ठाउँमा पुँजीपतिहरुले शासन गर्न थाले । समाजमा पुँजीवादी अधिनायकत्व स्थापना हुन पुग्यो ।

विरोधी वर्गहरु र तिनका बीचमा निरन्तर चल्दै आएको संघर्षमा सहभागी दुई विपरीत शक्तिहरुलाई नियालेर हेरयौं भने दास युगमा दास र दासमालिक, सामन्तवादी युगमा किसान र जमिन्दार वा राजामहाराजा अनि हालको पुजीवादी युगमा पुँजीपति र सर्वहारा वर्ग आदि विपरीत सामाजिक वर्गहरु छर्लंग देख्छौं । अहिलेको समाजमा विश्वमा चलिरहेका संघर्षहरुलाई मूलतः मजदूर र मालिकहरु अर्थात् सर्वहारा वर्ग र धनीपुँजीपति वर्गका वीचमा वर्गीय संघर्षका रुपमा लिने गरेका छौं ।

सर्वहारा वर्ग मार्क्सले कम्युनिष्ट घोषणा पत्रमा भन्नुभए झैं सवैभन्दा पछिल्लो चरणमा विकास भएको उदीयमान वर्ग हो । अबको संसार भनेको यसैले निर्माण गर्ने शोषणरहित समाजवादी संसार हो । सर्वहारा वा मजदूर वर्ग हालको समाज विकासको प्रक्रियामा सबैभन्दा उर्जाशील, जीवनशील, संगठित, आशावादी, दूरदर्शी तथा बलिदान भावले ओतप्रोत भएको वर्गका रुपमा देखा परेको छ । समाज विकासको क्रममा उदय हुँदै जाने विभिन्न वर्गहरुमा अब सर्वहारा अन्तिम तथा निर्णयक युद्ध लड्ने वर्ग हो ।

यो सर्वहारा वर्गले द्वन्द्वात्मक भौतिकवादी विचारको वैचारिक अस्त्रसहित पुँजीवादी वर्गहरुमाथि निरन्तर ठूलाठूला र ऐतिहासिक आक्रमणहरु गरिरहको छ । नेपालको जनयुद्ध पनि यही वर्ग संघर्षभित्र पर्दछ । सर्वहारा वर्गलाई कसैको मोलाहिजासँग चासो छैन । यसलाई अरु कुनै वर्गसँग संझौता गर्नु पनि छैन । ‘परे हातमा हत्कडी, तर जिते सिंगो संसार’को सपनासहित यो आज अघि बढिरहेको छ । यो वर्ग आफैमा स्वन्त्र र सबैभन्दा बलशाली छ ।

मानव र मानव समाजको उत्पत्तिदेखि हालसम्मको वर्गसंघर्षका क्रममा हुँदै आएका सबै संघर्षहरुलाई सर्वहारा वा मजदूर वर्गले एउटा निर्णायक संघर्षका रुपमा अघि बढाउने निरन्तर प्रयास गरिरहेको छ । यसले हालसम्म मान्छेले मान्छेमाथि गर्दै आएका सबैखाले शोषणको अन्त्य गरी वैज्ञानिक समाजवादको स्थापना गर्न जुर्मुराइहेको छ । आज सर्वहारा वर्गका नेतृत्वमा मालेमावादी तथा सच्चा क्रान्तिकारीहरु सैद्धान्तिक, राजनीतिक तथा सांगठनिक रुपले एकतावद्ध भई अघि बढ्नु जरुरी भएको छ ।

लक्ष्य प्राप्तिको संघर्षमा संगठनलाई एक जुझारु, मिलिट्यानट र अनुशासित बनाउँदै अग्रदस्ताको रुपमा अघि बढाउनु जरुरी छ । आजको युग लेनिनले भने झैं साम्राज्यवादी र सर्वहारा वर्गको युग हो । त्यसैले यो सर्वहारा क्रान्तिको युग हो । साम्राज्यवाद लेनिनले भने झैं पुँजीवादको मरणसन्न अवस्था हो । यसको अन्त्य नवोदित सर्वहारा वर्गको हातबाट मात्र संभव छ ।

नेपालजस्तो अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा रहेको नेपाली समाजको रुपान्तरण मजदूर वर्गको नेतृत्वमा किसानसहितको एकतामा मात्र संभव छ । नेपालको क्रान्ति मूलतः पुँजीवादी जनवादी क्रान्ति भएकाले माओवादी विचारको दिशा निर्देशन र सामन्तवाद तथा दलाल पुँजीवादको विरुद्धमा संघर्षलाई घनिभूत बनाउँदै अघि बढ्नु जरुरी छ ।