किन हुँदैन वास्तविक एकता संसदीय पार्टीहरुमा ?

किन हुँदैन वास्तविक एकता संसदीय पार्टीहरुमा ?

काठमाडौं । वर्तमान संसदीय पार्टीहरुमा एकताको कुनै पनि मनोविज्ञान र भावनात्मकता देखिदैन । सत्ताधारी नेकपा र प्रतिपक्षमा रहेका नेपाली कांग्रेस दुवै संघीय निर्वाचनका वरिपरि एकताको प्रक्रियामा जोडिएर बनेका हुन् । समयावधि र प्रक्रियाका हिसाबले पूर्व एमाले र पूर्व माओवादी केन्द्र मिलेर बन्न पुगेको नेकपाभन्दा पहिले नै नेपाली कांग्रेस र फोरम लोकतान्त्रिक मिलेर नेपाली कांग्रेस बनेका हुन् ।

तर हालसम्म न त नेपाली कांग्रेस न त सत्ताधारी पार्टी नेकपा भावनात्मक र मनोवैज्ञानिक एकताको अवस्थामा छन् । यिनीहरुमा माथिका नेताहरु मिलेपछि तलका कार्यकर्ताहरु कच्रघान परेका अवस्थामा छन् ।

नेकपामा एकताको प्रक्रिया निकै ढिला भएको अवस्थामा नेताहरुकै बखान हुने गरी पुष्पकमल दाहालले ‘ओलीजी र म त झ्याप्पै मिल्यौं, नेता भनेको यस्तो पो हुनु पर्छ’ भन्दै आफ्नै बखान गर्दै हिंड्ने गरिरहेका छन् । कार्यकर्ता समायोजनका लागि बनेको समिति आफैमा विवादित र असन्तुस्ट छ ।

अर्कोतिर प्रतिपक्ष भन्दा पनि प्रतिरक्षामा रहेको नेपाली कांग्रेसको प्रदेश तथा तल्ला तहमा हालसम्म एककता भएकै छैन । बल्लतल्ल करीब डेढ वर्षअघि एकताका बखत गरिएको बाचाअनुसार शेरबहादुर देउवाले विजय गच्छदारलाई उपसभापति बनाएका छन् ।

हेर्दा र भन्दा एउटा कम्युनिस्ट र अर्को कांग्रेस भनेर भिन्न वर्ग र सोचका जस्ता देखिए पनि यी दुवैको एकता तलसम्म हुन र पुग्न नसकेका कारणहरु भने एउटै प्रकृतिका रहेका छन् । यसका पछाडीको मुख्य वैचारिक कारण हो यिनीहरु दुवै सारतः संसदीय पार्टीहरु हुन् । तपसिलका कुराहरु अन्य कारणहरुमा पर्दछन् ।

क) केन्द्रीय गुटबन्दी : संसदीय पार्टीहरु भएका कारणले गुटबन्दी विना यी पार्टीहरुमा नेताहरुको अस्तित्व नै हुँदैन । नेकपामा माधव नेपालको थोरै मान्छे पर्नु र झनाथको एकजना पनि नपर्नु गुट कमजोर भएकै कारणले हो । नेपाली कांग्रेसमा रामचन्द्र अरु जुनियर नेताहरु विमेन्द्र निधि र विजय गच्छदारभन्दा पछि पर्नु गुट कमजोर भएकै कारणले हो ।

ख) भूमिका विहीनता : पाँच वर्षका लागि निर्वाचित गराइहाले, अब कार्यकर्ता जाबाको के काम ? यी त चुनावमा प्रयोग गरिने ‘हायर एण्ड फायर’ का झुण्डहरु न हुन् । अबका चारचार वर्षसम्म पैसा दिएर कसले पालोस् । बरु त्यो पैसाले चुनावका बेला जनतालाई कुहिनाबाट चुहिने गरी बोइलरको झोल खुवाउन आजैबाट जम्मा गरी राखे त काम लागिहाल्ने भयो ।

ग) संभ्रान्तता र संसदीयता : संभ्रान्त वर्गमा नेतृत्व रुपान्तरण भइसकेपछि केको काइकर्ताको खाँचो ? दिल्लीको दलाली जसले बढी गर्नसक्छ, ऊ स्वतः सत्तामा आउँछ । त्यसैले कार्यर्ताले दुख पाए भनेर केको औडाह ? लगाए पुग्छ दिल्ली दाडाह । यो पनि एक मात्र अर्जुन दृष्टि !

घ) गुट अदलीबदली : कार्यकर्ता न हुन्, गुट अदलीबदली गरिहाल्छन् । यो नेताहरुलाई स्वाद लाग्दैन । झलनाथका मान्छे कहाँ पुगे ? माधवको के बिजोग भयो ? दाहालको कन्तविजोग छ । बादलको हरिबिजोग ! केको लठारो ?

ङ) परिस्थितिमा परिवर्तन : नेताहरुले न त जनताका काम गरे, न त कार्यकर्ताका काम गरे । एकता गर्न कार्यकर्ताका बीचमा जानु पर्छ । खाइन्छ झापट । जनता पनि निकै मुमुर्रिएका छन् । भूतले खाजा खाँदा को देखा परोस् !

च) आर्थिक खाँचो : नेताहरुको आफ्नै आर्थिक व्यवस्थापनका लागि पैसाको निकै खाँचो छ । भर्खरै संभ्रान्त वर्गको खुड्किलो चढेको । छोराछोरी, आफन्त, इस्टमित्र र अघिपछि लाग्नेका लागि भौतिक सुविधा घर, कार आदिसहित हैसियत उकास्नु छ । आफू त अब कता ? केको कार्यकर्ता एकता ?

छ) पदको अभाव : सबैलाई पद चाहिएको छ । तर दिनलाई पर्याप्त पद छैन । त्यसैले हतारमा केको एकता । बरु देश विदेश कतै आफ्नै काममा लागेछन् भने हाइ सञ्चो । बढार्नु पर्ने कसिंगर हावाले उडाए आनन्द !

७) ब्रेन होइन, ब्रेडको माग : चाकरी गर्ने गराउने सोचकै आवश्यक भए पनि सहयोग पुग्ने सल्लाह दिने होइनन् । सबैलाई ब्रेड चाहिएको छ, नेताहरुलाई चाकरीका नयाँनयाँ विधि र ब्रेन चाहिएको छ । यो बेलामा केको एकता ? झ्याप्पै नेता मिलिसकेको छ ।

८) नव दलालको प्रशस्ती : कार्यकर्ताहरुको पुरानै घुर्की, धम्की र बार्गेनिङ कयमै छ । यो नवसंभ्रान्त र संसदीय नेताहरुका लागि पाच्य छैन । तर कार्यकर्ताहरु नवदलालको प्रशस्ती गाउन जानेका छैनन् । त्यसैले जाओस् न त एकता भाँडमा ! फेरी सत्तामा आइसकेपछि नवदलालहरुको ओइरो छ नेताहरुको चरण पुज्न ।

९) पुरानामा वैचारिक विमति र संकीर्णता : नेताहरुमा पुराना वैचारिक विमति र संकीर्णताहरु कयमै छन् । त्यसैले तलसम्मको एकता किन ? भोली को कता लाग्छ को कता ? ठेक्का कसैले लिएको छैन । क्रान्तिस्रान्ति पनि गर्नु छैन ।

१०) छल र प्रपञ्चको प्रयोग : नयाँहरुलाई जति सजिलै छल र प्रपञ्चमा लोभ्याउन सकिन्छ, त्यति त पुरानालाई गर्न गाह्रो छ । उनले त बुझेका छन् । त्यसैले पर्खनु उत्तम मात्र होइन, अति उत्तम ! किनकि, उनीहरु कतै साइड लागि हालून् ।