काठमाडौं । दसैं भनेको माछामासु, जाँडरक्सी र जुवातास नै हो भन्ने कुरा हाबी भएर आएको छ । यसले दसैंमा विकृति भित्र्याएको छ । प्राय सबैको मनमा दसैं भनेको रमाइलो मनाउने मात्र न हो भन्ने पनि बढी नै परिरहेको देखिन्छ ।
मानिसहरु छोटो समयका लागि पूजाआजामा भुल्ने र अधिक समय खानपान र नाचगानमा रमाउने चलन छ । यस बेलामा लडाइँ, कलह र झगडा पनि निकै हुने गरेको देखिन्छ । समग्रमा दसैं खानपान र मोजमस्ती जस्ता कुराले घपक्क ढाकिएको छ ।
पुजाआजाका कुराहरु पनि निकै परम्परागत रहेका छन् । लेखेको शास्त्र त केही पनि पाइँदैन, तर प्रचलन विशेष गरी हिन्दुहरुमा यही नै देखा पर्ने गरिरहेको छ । दसैं सरसर्ती हेर्दा यसभित्र दुई खाले भिन्न मान्यताहरु देखिन्छन् । पहिलो हो, नित्य कर्म, तप, जप, ध्यान, पूजापाठ आदि गरेर सात्विक भोजन ग्रहण गर्ने अर्थात् माछामासु, नाचगान र रमाइलो नगर्ने । यो मान्यता राख्नेहरुले आगमन विधिलाई मान्ने गर्दछन् । यिनीहरुलाई दक्षिणमार्गी भनिन्छ । यिनीहरु वेदका अनुयायीहरुका रुपमा लिइन्छन् ।
अर्का थरिका वा बहुमत हिन्दु निगमन विधि मान्दछन् । यिनीहरुलाई वाममार्गी भनिन्छ । यिनीहरुले दसैं तान्त्रिक विधि विधा अन्तर्गत मनाउँछन् । तान्त्रिक विधामा मांस भोजन बढी पर्ने गर्दछ । माछा, मासु, अण्डा, मदिरा, मुद्रा र मैथुन यस विधा अन्तगत पर्दछ । भोजन बढी मासुको, सुरापान, नाचगान आदि यसका विशेषताहरु हुन् ।
बहुसंख्यक नेपाली रिति तथा संस्कार हिन्दु धर्मको मान्यता अनुसार चलिरहेको देखिन्छ ।