संसदीय समितिका सभापतिहरुमा महिला नेतृत्वको बाहुल्यता

संसदीय समितिका सभापतिहरुमा महिला नेतृत्वको बाहुल्यता

काठमाडौं । प्रतिनिधिसभामा बनाइएका १० वटा विषयगत समितिहरुका सभापतिहरु सर्बसम्मत चयन भएका छन् । यी विषयगत समितिहरुमा एक एक जनाको मात्र उम्मेदवारी परेपछि सर्वसम्मत चयन भएको हो ।

तर त्यसको अनुमोदन र घोषणा भने शुक्रवार बस्ने प्रतिनिधिसभाको वैठकले मात्र गर्ने छ । महिलाको नेतृत्व कतै पनि सुरक्षित र सुनिश्चित गरिएन भनेर आवाज आइरहेका बेला यी समितिहरुमा अधिकांश नेतृत्व भने महिलालाई दिइएको छ । महिला सांसदहरुलाई मन्त्री नदिइए पनि यी समितिहरुमा भने मन नै फुकाएर दिइएको देखिएको छ । व्यवस्थापन र सन्तुलनमा महिलाको भूमिका नेपालका सन्दर्भमा सह्रानीय रहंदै आएको देखिएको पनि छ ।

पूर्वउपसभामुख पूर्णकुमारी सुवेदी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा सर्वसम्मत भएकी छन् । त्यसै गरी राज्य व्यवस्था समितिको सभापतिमा शशी श्रेष्ठ, महिला बालबालिका समितिको सभापतिमा निरु पाल, शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा जयपुरी घर्ती, अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सभापतिमा पवित्रा निरौला खरेल र विकास समितिको सभपतिमा कल्याणीकुमारी खड्का रहेकी छन् ।

हाल निर्विरोध भएका १० मध्ये अन्य समितिहरुमा अर्थ समितिमा कृष्णप्रसाद दाहाल र कानुन न्याय तथा मानवअधिकार समितिमा कृष्णभक्त पोखरेल रहेका छन् । त्यसै गरी उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा विमल श्रीवास्तव रहेका छन् । भरतकुमार शाह सार्वजनिक लेखा समितिको सभापतिमा सर्वसम्मत भएका छन् ।

निर्वाचित यी विभिन्न समितिका सभापतिहरू राज्यमन्त्री सरह मानिन्छन् । यिनीहरुले गाडी, सचिवालय र सुरक्षाको सुविधा पनि राज्य मन्त्रीसरह हुने व्यवस्था छ ।