मलेसिया । वैदेशिक रोजगारको लागि मलेसिया पुगेका चार नेपाली सहित १५ विदेशी कामदार ‘विषाक्त’ मदिरा सेवन कारण मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त मदिरा सेवन गर्दा ३३ जना बिरामी परेका छन् । सेलाङ्गार राज्यका प्रहरी प्रमुख मजलान मानसोरले बताए अनुसार मृतक तथा बिरामी परेका प्रायः सबै विदेशी कामदार रहेका छन् ।
मृत्यु हुने र बिरामी पर्ने सबैले दुई थरीका ह्वीस्की र एक थरीको वियर सेवन गरेका थिए । उक्त मदिरा सेवन गरी मृत्यु हुने पहिलो व्यक्ति एउटा फ्याक्ट्रिमा काम गर्ने श्रमिक थिए भने मंगलबार पनि एक जनाको मृत्यु भएको मलेसियाको बेर्नामा न्यूज एजेन्सीले जनाएको छ ।
सोमबार मृत्यु हुने सात जनामध्ये एक मलेशियाली, चार नेपाली, एक भारतीय र एक जना बङ्गलादेशी रहेका मजलानले बताए । प्रहरी प्रमुखद्वारा हस्ताक्षर गरिएको एक वक्तव्यमा भनिएको छ, ‘मृत्युको कारण अझै आधिकारिक रूपमा पुष्टि भइसकेको छैन । तर प्रहरीको प्रारम्भिक अनुसन्धानमा सबैजनाले मदिरा सेवन गरेपछि अस्पताल भर्ना गरेको पाइएको छ ।’
स्थानीय सञ्चारमाध्यमले प्रहरीले घटनास्थलबाट विभिन्न ब्रान्डका मदिराका खोलहरू लगेको छ । उनीहरूले किनेको भनिएको मदिरा पसलबाट पनि प्रहरीले केही नमूना लगेको छ ।