१.नेपालको कम्युनिष्ट आन्दोलनमा मूल ट्रेनमा कैयौं समयहरुमा विवादहरु हुने गरेका छन् । त्यसको इतिहासतर्फ नलागौं । मूल ट्रेन भनेको कम्युनिस्ट आन्दोलनको लक्ष्य र उद्देश्यमा पुग्नका लागि मार्क्सवादी लेनिनवादी सिद्धान्तअनुसार मूलभूत विषयमा सही पहिचान र त्यस अनुरुपको कार्यदिशाको निर्माण हो । नेपालमा कम्युनिस्ट बताउने सबै शक्तिहरुले समाजवाद र साम्यवादलाई आफ्नो अन्तिम गन्तव्य बताएका छन् । तर उनीहरुका बीचमा समाजवाद र साम्यवादमा पुग्नका लागि उचित कार्यदिशा के भन्नेमा भने दशकौंदेखि मतभेद रहेको छ । यस प्रकारको मतभेद नेपालको कम्युनिस्ट आन्दोलमा मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलनको नै मुख्य समस्याको विषय बन्दै आइरहेको छ । त्यही मतभेदका कारण कैयौं पटक पार्टीहरु विभाजनहुँदै आएका छन् ।
२. समाजवाद र साम्यवादमा पुग्ने लक्ष्य राखे पनि तत्कालिन राजनीतिक कार्यदिशा र कार्यक्रम परिस्थितिअनुकूल बन्छ वा बन्दैन, त्यो महत्वपूर्ण हुन्छ । वर्तमानमा गलत कार्यक्रम बनाएर भविष्य सुन्दर बन्दैन । कम्युनिस्ट आन्दोलनको उज्ज्वल भविष्यका लागि वर्तमानमा उज्ज्वल भविष्यसँग जोडेर कार्यदिशा निर्धारण गर्नु पर्दछ । विशेष गरेर समाजवाद र साम्यवादमा कसरी पुग्ने भन्ने सवाल निकै नै महत्वपूर्ण छ । वर्ग संघर्षको माध्यमबाट पुग्ने कि वर्ग समन्व्यको माध्यमबाट ? सिद्धान्ततः वर्गसंघर्षलाई स्वीकार गर्ने, तर वर्ग सघर्षको बाटो अवलम्बन नगर्ने, वर्ग सघर्ष भन्नेबित्तिकै हतियारवद्व आन्दोलन हो भनेर बुझिहाल्ने मनोदशाले अन्ततः वर्ग समन्वयलाई नै सहयोग गर्दछ । यस प्रकारको रुपमा वर्ग सघर्षको पक्षमा देखिएर सारमा वर्ग समन्वयको रथमा हिँड्ने समूहले तत्कालीन राजनीतिक कार्यदिशालाई कम्युनिस्ट पार्टीको रणनीतिक योजनालाई सहयोग पुर्याउने हिसाबले होइन, केवल कार्यक्रमका लागि कार्यक्रम मात्र बनाउने गर्दछन् । त्यो नेपालको सन्दर्भमा पनि लागू भएको छ ।
३. मार्क्सवाद–लेनिनवाद मान्नु, सिद्धान्तमा सशस्त्र सघर्षलाई स्वीकार गर्नु, लेनिनवादी सङ्गठनात्मक सिद्धान्तलाई सैद्धान्तिक हिसाबले मान्नुलाई मात्र मूल ट्रेन बताएर उम्कने कि समाजवाद र साम्यवादसम्म पुग्नका लागि मार्क्सवादी–लेनिनवादी सिद्धान्तअनुसार सङ्गठन, कार्र्यिदशा बनाउने र त्यसलाई व्यवहार लागू गर्ने ? यो टड्कारो विषय हो । नेपालमा कैयौं समुहहरुले सिद्धान्ततः मार्क्सवाद–लेनिनवाद र माओत्सेतुङ विचारधारालाई स्वीकार गर्दछन् । दीर्घकालीन सशस्त्र सघर्षलाई पनि स्वीकार गर्दछन् । सर्वहारा अधिनाकत्वलगायत माक्र्सवादका आधारभूत सिद्धान्तलाई लिखितम रुपमा स्वीकार गर्दछन् । तर, व्यवहारमा त्यस प्रकारको कार्यदिशा अबलम्बन गर्दैनन । यो निकै नै गम्भीर समस्या हो । यस्ता समुहहरुले असल क्रान्तिकारी कार्यकर्तामा असल कम्युनिस्टको भ्रम छरेर जानिँदो र नजानिंदो तरिकाले अन्ततः दक्षिणपन्थी अवसरवादलाई नै सहयोग पुर्याइरहेका हुन्छन् । दक्षिणपन्थी संशोधनवादमा विसर्जन भैसकेका समुहहरुले समाजवादी राज्य व्यवस्थाका लागि हामी छौं भनेर भ्रम छरिरहेको समयमा मार्क्सवाद–लेनिनवादको स्वीकारोक्तिको नाममा कैयौं कम्युनिस्ट समुहहरुले समेत छद्म रुपमा प्रकारान्तले दक्षिणपन्थीहरुको यात्रामा सारसंग्रहित हुने अवसरवादी यात्रा तय गर्दै गैरहेको वर्तमान परिदृश्यमा वास्तवमा क्रान्तिकारी पार्टी निर्माण एतिहासिक आवश्यकता हो ।
४. क्रान्तिकारी पार्टी निर्माण कुनै दस्तावेज मात्र तयार गरेर निर्माण हुँदैन । दस्तावेजमा मार्क्सवाद–लेनिनवाद–माओविचारधारा, लेनिनवादी सङ्गठनात्मक सिद्वान्त (जनवादी केन्द्रीयता), पार्टी नेतृत्व, सर्वहारा अधिनायकत्व, सर्वाहारा विश्व दृष्टिकोण, वर्ग संघर्ष, हिंसात्मक क्रान्ति (बलप्रयोगको सिद्धान्त) लाई लेखेर मात्र क्रान्तिकारी पार्टी निर्माण हुँदैन । क्रान्तिकारी पार्टी निर्माणको लागि माथि उल्लेखित प्रस्थापनाहरुलाई व्यवहारिक रुप दिनु पर्दछ । वर्तमान विश्व कम्युनिस्ट आन्दोलनमा मार्क्सवाद–लेनिनवाद र माओत्सेतुङ विचारधारालाई पथप्रदशक सिद्धान्त बताउने केही समुहहरु प्रतिक्रियावादी राज्यसत्ताको चौकीदार बन्नका लागि समेत तयार हुने, उत्पीडित जनताको पक्षमा भन्दा पनि शोषकहरुको राज्यव्यवस्थामा रमाउन चाहने व्यवहारिक प्रयोगहरु हुँदै आइरहेका छन् । ठोस परिस्थितिको ठोस विश्लेषण र कम्युनिस्ट आन्दोलनको रक्षात्मक अवस्थाको हवाला दिएर एउटा प्रतिक्रियावादी राज्यसत्ताको हिस्सेदार बन्ने कम्युनिस्ट आन्दोलनको नवीन प्रवृत्ति सर्वहारा वर्गको समाजवादी राज्यवस्थामा पुग्ने बाटो माथिको गम्भीर धक्का हो ।
५. नेपालमा विशेष गरेर तत्कालीन राजनीतिक कार्यदिशामा देखिने मतभेद नै मुख्य मतभेदको विषयवस्तु बनेर कम्युनिस्ट आन्दोलनमा टुट–फुट र विभाजनसमेत हुँदै आएको छ । रणनीतिक उद्देश्य पूरा गर्ने सवालमा भन्दा पनि तात्कालीन राजनीतिक कार्यदिशा के हुने भन्ने मतान्तरले नै कम्युनिस्ट आन्दोलन कैयौं शीराहरुमा विभाजन भएर दक्षिणपन्थी दिशा समात्दै घोर प्रतिक्रियावादमा विलिन भएका कैयौं तथ्यहरु हाम्रो अगाडि दिनको घाम झैं छर्लङ्ग छ्न । खास गरेर दुई लाइन संघर्ष सन्चालनमा देखिएको अधिभूतवादी चिन्तन र कम्युनिस्ट आन्दोलनको गम्भीर समस्यामा रहेको निम्न पुँजीवादी चिन्तनका कारणले कम्युनिस्ट आन्दोलनले नराम्रोसँग सेटव्याक खाँदै आएको छ । आफूलाई मार्क्सवादी–लेनिनवादी बताउने शक्तिहरुले पनि दुईलाइन सघर्षलाई ठोस ढङ्गले अगाडि बढाउने गरेको प्रयत्नहरु खासै पाइँदैनन् ।
६. कम्युनिस्ट आन्दोलनमा विषेश गरेर जुन समूह पार्टीभित्र बहुमतमा हुन्छ, वहुमतपक्षले अल्पमतपक्षलाई प्रायः अनुशासनको नाममा अनावश्यक लाञ्छना लगाएर यो वा त्यो बाहनामा कारवाही गर्ने र कारवाही पर्ने बित्तिकै उक्त पार्टी छाड्ने प्रवृत्तिले दुई लाइनको सघर्षलाई उचित ढङ्गले अगाडि बढाएको पाइँदैन । पार्टीभित्र मतभेदहरु हुन्छन्, तिनीहरुको मैत्रीपूर्ण तरिकाले समाधान गर्ने, बहस–छलफल चलाउने, मार्क्सवादी–लेनिनवादी पद्धतिअनुसार यसको सही निष्कर्षमा पुग्नु पर्नेमा त्यसको सैद्धान्तिक दुहाई दिएर व्यवहारिक हिसाबले त्यसलाई कार्यन्वयन गरेको पनि पाइँदैन । स्वस्थ र मैत्रीपूर्ण तरिकाले उल्लेखित समस्याको समाधान नगरिकन गुटबन्दी गरेर, कैयौं विधि–प्रक्रिया र पद्धतिहरु मिचेर कृतिम समाधान निकाल्ने कार्य नेपालको कम्युनिस्ट आन्दोलनमा निकै नै ठूलो समस्या बनेको छ ।
७. कम्युनिस्ट पार्टीको महाधिवेशन, राष्ट्रिय सम्मेलन वा भेलाहरुमा प्रस्तुत गरिने राजनीतिक प्रस्तावमा मूल ट्रेनको नाममा तत्कालीन राजनीतिक कार्यदिशामाथि यथेष्ट मात्रामा बहस–छलफल भएको कमै मात्रमा पाइन्छ । विश्व सर्वाहारा वर्गका महान् नेता क.माओत्सेतुङले राजनीतिक कार्यदिशा सही हुनु र नहुनुले सबै चिजको फैसला गर्दछ भनेका छन् । जो कोही पनि आफूलाई कम्युनिस्ट बताउने पार्टीले मार्क्सवाद–लेनिनवाद, समाजवाद र साम्यवाद त भनेकै हुन्छन् । घोर दक्षिणपन्थमा बिलिन भैसकेका देखि अवसरवादी बाटो समातेका कम्युनिस्ट नामधारी पार्टीहरुले (जसले हँसिया–हथौडा अङ्कित झण्डालाई आफ्नो झण्डा बताएर त्यसको प्लेटफर्म प्रयोग गरी नै रहेका छन् । आफूलाई समाजवादी व्यवस्थाको हिमायती बताउन छाडेका छैनन् । तर उनीहरुले तात्कालीन सङ्घर्षको पक्षलाई समाजवाद–साम्यवादमा पुग्ने संघर्ष गर्नका लागि कुनै गुणात्मक प्रकारका कार्यक्रमहरु बनाएका छैनन् । कम्युनिस्ट आन्दोलनको रक्षात्मक अवस्थाको हवाला दिएर ठोसमा क्रान्तिकारी कार्यदिशालाई रोक्ने पर्यत्न नेपालको कम्युनिस्ट आन्दोलनमा बारम्बार भैरहेको छ । कुनै पनि कार्यक्रमको तय गरेपछि त्यसपछिको अर्को स्टेप के हो भन्नेमा नै अन्यौल देखिन्छ । कुनै पनि कार्यक्रमलाई ठोस उचाइमा पुर्याउनभन्दा पनि उठान गर्ने र बीच बाटोमा नै छाड्ने प्रवृत्तिले नेपालको कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएको देखिन्छ ।
८. मार्क्सवादी–लेनिनवादीहरुले आफ्ना तत्कालका कार्यक्रमहरु बनाउँदा त्यसले कम्युनिस्ट पार्टीको रणनीतिक उदेश्यलाई सहयोग गर्दछ वा गर्दैन भन्ने सवालमाथि विशेष ध्यानदिएर कार्यक्रमहरु निर्धारण गर्ने र ती कार्यक्रमको उचित कार्यान्वयन गर्ने गर्दछन् । यदि ठोस परिस्थितिको ठोस विष्लेषणमा कार्यक्रमहरु नबनेको अवस्थामा त्यसमा आत्मालोचित हुँदै रणनीतिक उदेश्यलाई सहयोग गर्ने तत्कालीन कार्यक्रम बनाइन्छन् । कम्युनिस्ट पार्टीले गर्नु पर्ने पनि त्यही हो । तर विडम्बना भन्नु पर्छ, कुनै पार्टीले बनाएका कार्यक्रम पार्टीको रणनीतिक उद्देश्यलाई सहयोग गर्ने खालका थिएनन भने पनि त्यसको समीक्षा गर्ने र गल्ती स्वीकार गर्दै नयाँ शीराबाट अगाडि बढ्ने गरेको पाइँदैन । हामीले जे गरेका थियौं, सही गरेका थियौं भनेर अनेकांै उदाहरणको पर्दा हालेर गलतलाई पनि सही ठहर्याउने प्रवृत्ति नेपालको कम्युनिस्ट आन्दोलनको थप गम्भीर समस्या नै हो ।