अब डीएन्ए टेस्टको पालो शंकास्पद भीआईपीहरुको

प्रकाशित मिति : २०७५ भाद्र २८

काठमाडौं । निर्मला बलात्कार तथा हत्या छानबिन समितिको छानबिन निस्फल भएपछि अबको अनुसन्धानको तीर शंकास्पद भीआईपीतिर सोझिएको छ । जनताले ठोकुवा गरेका ती भीआईपीहरुको डीएन्ए परीक्षण अब एकमात्र अनुसन्धानको भरपर्दो विकल्प रहेको छ । यसका लागि वर्तमान प्रम ओली र तिनका गृहमन्त्री रामबहादुर थापा तयार छन् कि छैनन्, त्यो त हेर्न बाँकी नै छ ।

यदि यस घटनालाई ढाकछोप गरियो भने प्रधानमन्त्री ओली, गृहमन्त्री थापा, गृह सचिव, सहसचिव हरि मैनाली तथा शंकास्पद भीआईपी नोकरशाहहरु एस्पी डिल्लीराज विष्ट र सीडीओ कुमारबहादुर खड्का सामाजिक बहिस्कारमा पर्ने जनताले चेतावनी दिएका छन् ।

निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणका दोषीहरु पत्ता नलागेपछि निर्मलाका आमाबाबु न्याय खोज्दै काठमाडौं आएका छन् । उता अनुसन्धानका लागि हिरासतमा लिइएका मानसिक सन्तुलन ठीक नभएका दिलिपसिंह विष्टको डीएन्ए फरक भएकाले उनी दोषी नभएको ठहर सहित घर फर्काइएका छन् । निर्मलाका साथी भनिएका बम दिदीबहिनीहरु पनि घर फर्काइएका छन् ।

गृहमन्त्री थापाले निर्मला बलात्कार तथा हत्या छानबिन समितिबाट राजीनामा दिएका एक जना सदस्य वीरेन्द्र केसीको राजीनामा फिर्ता गराएर समितिमा रही काम गर्न पठाएका छन् । अर्कोतिर निर्मला बलात्कार र हत्याका सबै सबुत प्रमाणहरु प्रहरीहरुले नै मेटाइसकेका छन् । कानुनको नजरमा ‘आशंकित’ तर जनताका नजरमा ‘घोषित’ भीआईपीहरु सरकारकै संरक्षणमा छन् ।

निर्दोषिता प्रमाणित भई छुटेका मानसिक सन्तुलन गुमाएका दिलिपसिंह विष्टले समेत विना कसुर आफूलाई अभियुक्त बनाएर अनावश्यक दुख दिएको बताएका छन् । उनले आफ्नो उक्त घटनामा संलग्नता नै नभएको बारम्बार बताउँदै आएका छन् । दिलिपसिंहका दाजु खड्गसिंहले कारवाही प्रहरीलाई गरिनु पर्ने बताएका छन् ।