तराईका जिल्लाहरुमा प्रायजसो पुलहरु निर्माणका लागि सिन्डिकेट ठेक्का कम्पनी पप्पु कन्स्ट्रक्सनको लापरबाहीका कारण अहिलेसम्म धेरैले ज्यान गुमाउन पुगेका छन् । कतै निर्माण गरिएका पुलहरु भासिने त कतै पुलहरु निर्माणका लागि वर्षाेदेखि ठड्याएर राखेका पिलरहरुमा डुंगा ठक्कर लाग्नपुग्दा डुंगामा सवार मानिसहरु डुब्न पुगेका छन् । देशभर भएको भारी वर्षाका कारण नदीमा बाढी आएपछि डुंगाबाट नदी तर्नेहरुको डुबेर ज्यान जानेको संख्या बढ्दै गएको छ । त्यसमा पनि पप्पु कन्स्ट्रक्सन कम्पनीले निर्माण कार्य अधुरै छोडेका ठाउँहरुमा यस्ता दुर्घटनाहरु बढिरहेका छन् ।
गौर नगरपालिका वडा.न. ४ टिकुलियामा शनिबार मात्रै डुंगा दुर्घटना हुँदा पच्चीस जना बगेका थिए । बीस जनालाई स्थनीयले उद्दार गरे पनि पाचँजना भने डुबेर मृत्यु भएको थियो । यो दुर्घटना पप्पु कन्स्ट्रक्सन कम्पनीले वर्षाेदेखि निर्माणाधीन अवस्थामा राखिराखेको पुलको पिलरमा डुंगा ठोकिन जाँदा भएको थियो ।
यसरी काम नगर्ने पप्पु कन्स्ट्रक्सन कम्पनीलाई सरकारी पक्षले काम नगर्ने ठग ठेकेदारको लिस्टमा राखेको छ भने पप्पु कन्स्ट्रक्सनका ठेकेदार तथा वर्तमान संघीय सांसद हरिनारायण रौनियार भने सरकारले समयमा पैसा नदिएर पुल बन्न नसकेको आरोप लगाउने गरेका छन् । तर पप्पु कन्स्ट्रक्सनका डाइरेक्टर रौनियारले निर्माण गरेका पुलहरु कमसल सामाग्री प्रयोगका कारण भासिने र भाँचिने गरेका छन् ।