काठमाडौं, भदौ १३ । सागर पुनले निकै उत्कृष्ट ब्याटिङ गरे पछि एसिया कप छनोट खेलमा आज नेपालले ओमनलाई २२२ रनको बिजय लक्ष्य दिएको छ ।
मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनायो ।नेपालले आफ्नो सुरुवात सामान्य ग¥यो । ओपनिङमा उपकप्तान ज्ञानेन्द्र मल्ल र लामो समयपछि टिममा स्थान बनाएका सुवास खकुरेल थिए । उनीहरुले पहिलो विकेटका लागि मात्र ३१ रनको साझेदारी गर्न सके । खकुरेलले मात्र ४ रन बनाउदै आउट भए ।
कप्तान पारस खड्काले पनि आज अलि सम्हालिएर खेल्न सकेनन् । ज्ञानेन्द्रसँग २५ रनको साझेदारी गरेका पारस मात्र ८ रनमा आउट भए । तेस्रो विकेटका रुपमा आउट भएका ज्ञानेन्द्र ५ रनले अर्धशतक बनाउन चुके । ६० बलको सामना गरेका उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए ।
दिपेन्द्र सिंह ऐरीले आफ्नो व्यक्तिगत ९ रन बनाउदै आउट भए पछि नेपाल ८०/४ को स्थितिमा थियो । तर, सागर र आरिफ शेखले उत्कृष्ट पारी खेले । दुबैले पाँचौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै नेपालको पारी सम्हाले । ४५ औं ओभरको पहिलो बलमा पाँचौं विकेटका रुपमा आरिफ आउट भए । आरिफले व्यक्तिगत ३६ रन बनाए ।
रोहितकुमार पौडेल शुन्यमै आउट भए सोमपाल कामीले पनि ५ रन मात्र बनाए । तर, नवौं नम्बरमा आएका करण केसीले आक्रामक ब्याटिङ गर्दै मात्र ९ बलमा २४ रनको साझेदारी गरे ।
पाँच बल बाँकी छँदा सागर ८३ रनमा रनआउट भए । ८४ बलको सामना गरेका उनले ६ चौका र दुई छक्का हाने । करणले १० बलमा २६ रन बनाउँदा भने बसन्त रेग्मीले खाता नै खोल्न सकेनन् ।
ओमनका लागि विलाल खान, मुहम्मद नदिम र अजय भ्रिज्लाल लिल्चेताले समान २–२ विकेट लिए । यो समाचार बनाउँदै गर्दा ओमन ६ ओभर खेलेर २६/० को स्थितिमा छ ।