‘शंकाको घेरामा रहेका भीआईपीहरुलाई बर्खास्तगरी छानबिनको बाटो खुलाइयोस्’ –अखिल क्रान्तिकारी, सुर्खेत

‘शंकाको घेरामा रहेका भीआईपीहरुलाई बर्खास्तगरी छानबिनको बाटो खुलाइयोस्’ –अखिल क्रान्तिकारी, सुर्खेत

काठमाडौं । कञ्चनपुर घटनाको सत्यतथ्य बेलैमा बाहिर ल्याउन शंकाको घेरामा रहेका भीआईपीहरुलाई बर्खास्त गरी कारबाहीको बाटो फुकुवा गर्न माग गर्दै अखिल क्रान्तिकारीले मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा एक विरोध र्यालीसहित कोणसभा भव्य रुपमा सम्पन्न गरेको छ । क्रान्तिकारीले सत्यतथ्य बेलैमा नल्याइए यसले देशभर आगो सल्काउने कुरा पनि निर्विवाद रहेको बताएको छ ।

प्रमुख अतिथि सीपी शर्माले कञ्चनपुर घटनाले नाटकीय मोड लिएको भन्दै यस आपराधिक घटनामा केवल सामान्य मानिस संलग्न नरहेको भन्दै सिंगो राज्य किन अपराधीको बचाउमा लागेको छ भनी प्रश्न गरे । उनका अनुसार यो घटनाले लहरो तान्दा पहरो गर्जाउने छ, यसको सत्यतथ्यको बिना ढिलाई छानबिन गरिनु पर्छ ।

घटनाका दोषीलाई तत्काल सार्वजनिक गरी कडा भन्दा कडा कारवाहीको माग गर्दै अतिथि प्रकाशउर्जाले अन्यायका विरुद्ध न्यायप्राप्तिका लागि आवाज उठाउन पनि नपाइने ‘वाम’ बहुमतको सरकार अपराधी लुक्ने र लुकाउने थलो नबनोस् भन्दै अबोध बालिका निर्मला पन्तको बलात्कार गरी हत्या गर्ने हत्यारालाई विना ढिलाइ तुरन्त सार्वजनिक गरी कारवाहीको दायरामा ल्याउन चेतावनी दिएका थिए ।

नेकपा क्रान्तिकारी माओवादी सुर्खेतका सचिव खडानन्द लामिछानेले कुनै पनि सरकार वा सरकारी मान्छे वा भीआईपी कानुनभन्दा माथि नरहेको कुरामा जोड दिए । उनले अपराध गरेको अपराधी कानुनको आँखामा भीआईपी वा राज्यको ठूलो मान्छे हुँदैन भन्दै कानुनका अगाडि सबै समान रहेको कुरा जाहेर गरे ।

विदयार्थी नेता ललितजंग थापाले प्रहरीको बर्बरताले सीमा नाघेको र यो अब आम जनताका लागि पनि असैह्य भएको बताएका छन् । जनतालाई गुमराहमा राखेर कुनै पनि काम गर्ने अधिकार राज्यका कुनै पनि तह र तप्काका अधिकारी होस् या राज्यका प्रमुख कसैलाई पनि छैन भन्दै विद्यार्थी नेता थापाले अपराधीलाई कानुनी कठघरामा ल्याइनु पर्ने कुरामा जोड दिएका थिए ।

आम जनताको जीउ नै सिरिङ्ग हुने त्यस्तो दर्दनाक घटना लुकाइरहनुमा शायद राज्यका उच्च ओहदाका भीआईपीहरुको संलग्नता हुनसक्छ भन्ने आशंकाले जनतामा गहिरो गरी घर गरेको कुरा राख्दै वक्ताहरुले शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका जनतामाथि गोली प्रहार गरी हत्या गर्नु र घाइते बनाउनुले यो गणतन्त्र दलाल तथा अपराधीहरुको दमनयन्त्रमा परिणतहुँदै गएको कुरामा जोड दिएका थिए । यसको सत्यतथ्य बेलैमा बाहिर नल्याइए यसले देशभर आगो सल्काउने कुरा निर्विवाद रहेको भन्दै शंकाको घेरामा रहेकाहरुलाई बर्खास्त गर्न र कारबाहीको बाटो खुला गर्न माग गरेका थिए ।

कार्यक्रम अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हिक्मत शाहीले सञ्चालन गरेका थिए ।