चिनियाँ रेलको नेपालतिरको भागमा संभाव्यता अध्ययन सकियो

काठमाडौं । भारत र बेलायती देशहरु कसैले तराइबाट काठमाडौंसम्म त कसैले काठमाडौंमै भूमिगत रेल बनाउने कुरा गर्दैगर्दा चीन र नेपालको संभाव्यता अध्ययन टोलीले संयुक्त रुपमा नेपालतिरको संभाव्यता अध्ययनको काम सकिएको जनाएको छ ।

नेपालतिरको संभाव्यता अध्ययन सकिएपछि चीनतिरको तिब्बतीभागमा पनि संभाव्यता अध्ययन गरिने चिनियाँ टोलीले जनाएको छ । तर यो केही लामो समय लाग्ने निश्चित नै छ ।

हालको अध्ययनले भनेको छ नेपालमा संभाव्यता ठीक छ रेलका लागि । तर यहाँ केही प्राविधिक चुनौतिहरु छन् । एउटा त भूगोल र भौगर्भिक बनोट कच्चा छ । दोस्रो चीनको तिब्बतबाट नेपाल वा काठमाडौं आउँदा निकै ओह्रालो र भिरालो छ ।

तेस्रो भूकम्पीय जोखिम ज्यादा छ । चौथो, सुरुङ निर्माण र पुल निर्माण नै रेलको संभाव्यता अध्ययनले देखाएको छ । यी सुरुङहरु र पुलहरु निकै लामा र कठीन हुने छन् । पुलहरु मात्र १९ वा २० किलोमटरका लामालामा हुने छन् ।

अर्को कुरा तिब्बती प्लेटमा सुरुङ निर्माण कठीन छ । किनकि यो निकै साह्रो एउटै प्लेटले बनेको छ ।

नेपालमा पनि लाङटाङ राष्ट्रिय निकुञ्जबाट रेल जाने भएकाले कसरी लैजाने भन्ने समस्या आइपरेको छ ।