कञ्चनपुर । कञ्चनपुरको जिल्ला प्रशासन कार्यालय नजिकै प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा १४ वर्षीय सन्नी खुना छन् । घाइतेहरुको स्थानीय महाकाली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।
घाइते हुनेमा कविन्द्र शिह, सघुन सुवेदी, दामोदर खत्री, उमेश देउवालगायत रहेका छन् । अन्यको भने नाम खुल्न बाँकी छ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका वास्तविक हत्यारामाथि कारबाहीको माग गर्दै भएको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको छ । कञ्चनपुर प्रहरीले निर्मला पन्तको हत्या भएको २९ दिन वितिसक्दा पनि हत्यारालाई पक्राउ गरी सार्वजनिक गरेको छैन । वास्तविक हत्यारालाई कानुनी दायरामा ल्याउनुको सट्टा घटनालाई ढाकछोप एकजना निर्दोष मानसिक रोगी दिलिप बिष्टलाई हत्यारा भनि सार्वजनिक गरेपछि आन्दोलनले उग्र रुप लिएको हो । आन्दोलनले उग्र रुप लिएपछि कञ्चनपुरको जनजीवन प्रभावित बन्न पुगेको छ भने बजार, उद्योग, यातायात, शिक्षण संस्था बन्द रहेका छन् ।
शुक्रबार नेकपाका नेता भीम रावलले दिएको अभिव्यक्तिविरुद्ध कञ्चनपुरमा प्रदर्शन भएको थियो । विद्यार्थीले नाराजुलुसहित गरेको प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको जनाएको छ ।
बिहीबार पनि आन्दोलनका क्रममा गोली चल्दा ३ जना घाइते भएका थिए । लगत्तै, गृह मन्त्रालय प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र डिएसपीलाई फिर्ता बोलाएको थियो ।
यसअघि सरकारले बिहीबार पन्त बलात्कार प्रकरणको छानबिनका लागि सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
मैनाली नेतृत्वको समितिका पदाधिकारीहरू शुक्रबार बिहानै कञ्चनपुर पुगेर अनुसन्धान थालेका छन् । जिल्लास्थित सुरक्षा निकायका अधिकारीहरूको परिवर्तन र उच्च स्तरीय छानबिन समितिको गठनपछि आन्दोलन मथ्थर हुने अपेक्षा गरिएको थियो ।