किन संवेदनशील छैन कञ्चनपुर घटनामा सरकार ?

किन संवेदनशील छैन कञ्चनपुर घटनामा सरकार ?

काठमाडौं । शुक्रवार पनि कञ्चनपुरमा फेरि चारजना प्रदर्शनकारीलाई गोली हान्यो प्रहरीले । विद्यार्थीहरु, स्थानीय तथा छिमेकी र आफन्तहरुले नाराजुलुशसहित जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका बेला पुलिसले गोली हान्यो ।

कञ्चनपुरकी १३ वर्षिया अबोध बालिका निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याका अभियुक्त अझैं पनि भेटिएका छैनन् । स्थानीय प्रहरी र प्रशासनले अपराधी भनी उभ्याइएका मानसिक सन्तुलन नभएका स्थानीय दिलिपसिंह बिस्टलाई स्थानीय जनता र मृतक पन्तका अभिभावकहरु हत्यारा स्वीकार गर्न तयार नै छैनन् ।

विरोध मत्थर हुनेतिर होइन, बढ्दै गइरहेको छ । तर बहुमतको वाम भनिएको नेकपाका नेताहरु तथानाम बोलेर हिंडिरहेका छन् । सुदुर पश्चिमकै संघीय नेता भीम रावलले पनि समवेदनाहीन तरिकाले उक्त घटनाको खिल्ली उडाए । रावलले हत्यारा खोजीका लागि स्थानीयले गरेको विरोध प्रदर्शनमा विपक्षी रङ देख्न पुगे । बहुमतको मात छ । बन्दुकको साथ छ ।

जनता सोधिरहेका छन्– ‘त्यसो भए लुकाइएका हत्यारा वाम नेकपाका हुन् त ? कञ्चनपुरमा निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरिरहेको बताउने रावलको भनाइ पछाडि कतै हत्यारा लुकाउने दाउँ त छैन ?’

आम जनताको साझा प्रश्न छ । नेता किन यति असंवेदनशील ? यिनीहरुको संरक्षणमा यो सबै त भएको होइन ? तर सरकार र सरकारी नेताहरु भने बाक्लो पुलिस बल परिचालन र कर्फयुमा जुटेका छन् । आखिर किन मुछिदै छन् नेकपाका नेता र सरकार यो घटनामा ?