काठमाडौं । बढ्दो महंगी, भ्रष्टाचार, अस्वाभाविक कर वृद्धिको विरुद्धमा संयुक्त महिला संघर्ष समितिद्वारा शुक्रबार कामाडौंको ईन्द्रचोकमा एक विरोध कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ । समसामयिक विषयहरुलाई लिएर संयुक्त रुपमा आयोजना गरिएको उक्त विरोध र्याली सुन्धारा, न्युरोडहुँदै इन्द्रचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
ईन्द्रचोकमा विरोध र्याली पुगेपछि स्थानीय जनताको समेत् सहभागिता थपिएपछि गरिएको भव्य कोणसभामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को तर्फबाट बोल्दै शारदा महतले देशमा वाम र कम्युनिष्ट नामको सरकार रहेको वर्तमान अवस्थामा हिजोका राणा तथा पञ्चायतको पालामा जस्तो जनताका हक, अधिकार र स्वतन्त्रतामाथि अतिक्रमण गरिएको बताइन् । लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र संघीयताको कुरा गरिए पनि त्यसको अनुभूति जनतामा नरहेको बताउँदै यदि सरकारको चाला यही हो भने यो फासिवादी अभ्यासमा अघि बढ्न थालेको कुरामा जोड दिइन् ।
हाल देशमा कोही पनि नागरिक पेशा, व्यवसाय, अध्ययन अध्यापन र ज्याला मजदुरी गर्दाका बखत सुरक्षित हुन नसकेको भन्दै कुन बेलामा के होला भनी भयभित हुनु पर्ने अवस्था सिर्जना भएको बताइन् । महतले त्यो त्रास, डर र जोखिम सबैभन्दा बढी महिलामा रहेको पनि बताइन् । देश आज आकाशिंदो महंगीको मारमा परिरहेको, भ्रष्टाचार संस्थागत हुँदै गइरहेको र तीन तहमा बनाइएका सरकारहरुले अस्वाभाविक रुपमा कर वृद्धि गरी जनतालाई मारमा परिरहेको कुरामा जोड दिंदै महतले यसको प्रतिरोधमा उत्रन जनतालाई आह्वान समेत् गरिन् ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीकी कुमारी शाहीले देश फासिवादी बाटोमा जान थालेकाले यसको प्रतिरोधको कुनै पनि विकल्प नरहेको भन्दै हिंजो जनयुद्ध लडेका नेताहरुका हातमा आज हत्कडी लगाइएको बताइन् । उनले आज दिन दाहाडै छोरी चेलीहरुको अस्मितामाथि धावा बोल्दै हत्या गरेर उनीहरुको जीवन नै सिध्याइदिने डरलाग्दो र भयावह अवस्थाको सिर्जना भएको भन्दै कैलालीकी एक १३ वर्षिया अबोध बालिकाको बलात्कारपछि गरिएको हत्याको एक महिना बितिसक्दा पनि दोषीको थाहपत्तो केही पनि नहुनुले देश नै सुरक्षित नभएको बताइन् ।
महिला शक्ति महासंघ नेपालकी मनु हुमागाईंले देशमा संघीय गणतन्त्र स्थापनाहुँदा जनता जत्तिको खुशी थिए, आज सरकारको काम र क्रियाकलापले जनता त्यत्तिकै त्रसित छन् भन्दै देशमा आज महंगीले सबैको ढाड सेकेको, महिला हिंसामा अकल्पनीय बढोत्तरी भएको, भ्रष्टाचार संस्थागत हुँदे गएकोे भन्दै यसैका लागि जनताले बलिदान नगरेको बताइन् ।
अखिल नेपाल प्रगतिशील महिलासंघकी जनक चालिसेले कञ्चनपुरको घटना र प्रहरी प्रशासनको निरीहताले आफूहरु कहीं पनि सुरक्षित र ढुक्क नभएको बताउँदै जनतामा व्यापक जनचेतना ल्याएपछि मात्र यस्ता समस्याहरुको पूरा हल हुनसक्ने बताइन् । देशमा महंगी र भ्रष्टाचार चुलिंदै गएको बताउँदै उनले यो वाम नामको सरकारले उल्टै वामहरुको बदनाम गरेको बताइन् ।
अनेम संघकी निमा पुनले देशमा समावेशीता र सहभागितामूलक शासन व्यवस्था आयो भनेर खुशी भएका जनताको त्यो खुशी पलभर पनि टिक्न नसकेको बताउँदै वाम नामको बहुमतको सरकार भएकै बेला देशमा महंगी आकाशिएको, भ्रष्टाचार मौलाएको, मूल्यवृद्धि अस्वाभाविक र तिर्न नसकिने गरी बढेको बताइन् ।
कुमारी शाहीको उद्घोषणमा सञ्चालित उक्त विरोध कार्यक्रम निमा पुनको अध्यक्षतामा सम्पन्न भएको थियो ।