गृहमन्त्री थापा आफ्नै पार्टी अन्तरविरोधको शिकार

गृहमन्त्री थापा आफ्नै पार्टी अन्तरविरोधको शिकार

काठमाडौं । एकताका सबै कुरामा गृहमन्त्रालयको ‘रामबाण’ प्रयोग गरेर तह लगाइ छाड्ने उद्घोषका साथ कार्यभार सञ्चालन गर्न पुगेका गृहमन्त्री रामबहादुर थापा अहिले थलिंदै गएका छन् । केपी ओलीको सरकारलाई सफल बनाउन उनी कम्मर कसेरै लागि परेका देखिन्थे । जनयुद्धअबधिभर पुष्पकमल दाहालले भित्तामा पुर्याएर पाखा लगाएपछि केपी ओलीको पालामा गृहमन्त्री भएर आफ्नो ‘ख्वाब’ देखाइ छाड्ने ध्याउन्नमा उनी लागेका हुन् ।

संविधानसभाको संक्रमणकालमा थापा पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा रक्षा मन्त्री हुन पुगेका थिए । त्यसबेला पनि केही त ‘गरेरै देखाइदिने’ भनी उनी अघि बढ्न खोजेकै थिए । तात्कालीन प्रधान सेनापति रुक्माङ्गद कटवाललाई दाहालको सरकारबाट कारवाही गरी पदच्यूत गर्न पनि लगाए । तर उनकै मातहतमा रहेको सेनाले उनलाई र उनको सरकारलाई आधा रातमा राजीनामा दिने बनायो । तात्कालीन प्रधान सेनापति कटवालले उल्टै शक्ति देखाइदिए पछि पुष्पकमल दाहाल आधारातमा राजीनामा दिएर पारिवारिक निवासतिर भागेका थिए । थापा आफू खोसुवामा परेका थिए ।

सरकार छाडेर भागेको केही दिनपछि पुष्पकमल दाहालले त यतिसम्म पनि भनेका थिए कि ‘यो रामबहादुरले युद्धकालमा पनि सतायो र अहिले पनि सतायो । यसकै लिंडे ढिपीले हुँदाखाँदाको सरकार छोड्नु पर्यो ।’ पुष्पकमल दाहालको स्वीकारोक्ति छ कि जनयुद्धताका थापालाई बेलैमा तह लगाउन नसकिएको भए दाहालको यो उचाइ बन्ने नै थिएन । उनको संश्लेषण छ थापालाई सांस्कृतिक केसमा तह लगाएपछि बाबुरामलाई एकोहोरो गाली गरेर संसदीय शासनसत्तामा उक्लिन पाइयो ।

कटवाल प्रकरण र आन्तरिक अन्तरविरोधका कुरा अलि बढी चर्को र पेचिलो भएपछि थापाले दाहाल क्याम्प छाडेर एक्लै लुखुरलुखुर वैद्य क्याम्पमा छिरेका थिए । पछि केपी ओलीको मुखौटे राष्ट्रवादप्रति उनी निकै आकर्षित हुन पुगे । वैचारिक भन्दा पनि बढी सेन्टिमेन्टल र भोलाभाला स्वभावका उनी वैद्य माओवादीबाट ठूलै जमात लिएर दाहालको पार्टी माओवादी केन्द्रमा प्रवेश गरे । त्यहाँ गएपछि उनी एमालेसँग एकताका कुरा भित्रभित्रै गर्न लागे । यसबाट दाहाल निकै अत्तालिए । कांग्रेससँग आफ्नी पुत्री रेणुलाई जिताउन मिलेर दाहालले जे हर्कत गरे त्यसमा तीखो असमति राखे थापाले ।

‘पार्टी एकता’का कुरा चल्दा थापा एमालेतिर र दाहाल कांग्रेसतिर जस्ता देखिए । एमालेसँग एकता गर्ने पल्ला निकै भारी भएर गयो । थापाले बदला लिन थाल्यो भन्ने चिन्ताले दाहाल निकै तरंगित हुन पुगे । पारिवारिक स्रोतका अनुसार उनी कहिलेकाहीं रातमा बर्बराउन पनि थाले । थापा र जनार्दनसहितको ठूलो पङ्क्ति आफूकहाँ आउने भएपछि ओलीले दाहालको माखौल उडाउने र टेरपुच्छर नलगाउने गर्न थाले । दाहालका आगामी दिनहरु धरापमा परिणत हुने भए ।

दाहाल रुँदै विद्यादेवी भण्डारीकहाँ पुगे । राजनीतिक आश्रयको भीख मागे । कुनै पनि र कहिल्यै पनि गल्ती नगर्ने हजार कसम खाए । नेता मदन भण्डारीको जन्मदिन पारेर उनीहरु सबै एमालेमा प्रवेश गरे । तर संघीय चुनावमा थापालाई उम्मेदवार हुनबाट बञ्चित गरियो । उनले दाहाललाई ‘कहिल्यै नसघाउने र विद्रोह गर्ने’ चेतावनी दिए । त्यसपछि दाहालले उनलाई राष्ट्रिय सभामा मनोनित गरे । थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री दिएपछि मात्र दाहाललाई सघाउने नत्रभने ‘कट्टी’ गर्ने चेतावनी दिए । दाहालको भागमा परेको गृहमन्त्रीमा दाहाल र थापाको रस्साकस्सी देखेपछि ओलीले जनार्दन शर्मालाई गृहमा प्रस्ताव गरेका थिए । यसले दाहाल र थापालाई झस्कायो र एकजुट बनायो । ओली अन्ततः थापालाई गृहमन्त्री बनाउन बाध्य भए ।

तर शासनसत्ताको कुरो न हो । वरिष्ठताको कुरा आयो । दाहाल बादललाई उपप्रधानमन्त्री बनाउन तयार भएनन् तर ओलीले सोको प्रस्ताव राखे । यसका विरुद्ध पूर्व माओवादी केन्द्रका महरादेखि जनार्दन र वर्षमान तथा शक्ति बस्नेतसम्म उठिबसे । बादल उपप्रधानमन्त्री बनाइएनन् । दाहालका सहयोगीहरुको दाहाललाई जबाफ थियो– ‘अडान र थल नभएको मानिसलाई काखी च्याप्नुस्, हामी बाहिरै बसौंला ।’ यो जबाफले दाहालको सातो उड्यो । उनले थापा उपप्रधानमन्त्री हुन नसक्ने कुरा राखे । यो ओलीका लागि ‘असार १५ को दहीच्युरा’ साबित भयो । उनले थापाको कानमा कनसुत्लो हालिदिए ।

थापा रौसिए । उनले यातायात सिण्डिकेट ठीक गरेर देखाइदिने बाचा गरे । हल्लाखल्ला पनि गरे । तर उल्टै सिण्डिकेटले उनलाई ढुस पारिदियो । सिण्डिकेट खोज्दै जाँदा उनी ओली र दाहालको दैलो नजिकै पुगे । झङ्ग झस्किएर फरक्क फर्किए ।
त्यसपछि उनी सुन तस्करको पछि लाग्न थाले । साना र ठूला माछाको कुरा पनि गरे । तर आफ्नै पार्टीका शीर्ष दुई नेता पनि तानिने भएपछि त्यो प्रयास पनि बालुमा खन्याएको पानी झैं भयो ।

उनी त्यसपछि ठेकेदारका पछि लागे । ठेकेदारहरुको पिछा गर्दा एकदिन शारदाप्रसादको आँगनमा पुगेछन् । यो दाहाललाई प्रदान गरिएको आलिशान निवास रहेछ । केपी ओली र दाहाल बसेर कुरा गरिरहेको बखत रहेछ । पटकै पटक आफ्नै निवासको वरिपरि मात्र घुमेको दख्दा दाहालले हप्काए छन् । ठेकेदारको किस्सा पनि यहीं सकियो ।

उनी त्यसपछि विचौलियाका पछि लागे । उर्दी पनि जारी गरे । ठाउँका ठाउँ कारबाही गरिने भनेर । तर उनको पार्टीको चन्दा जम्मा गर्ने उनीहरु नै रहेछन् । उनी त्यसबाट पनि पछि हट्न बाध्य भए ।

अन्त्यमा, उनी कञ्चनपुरको १३ वर्षिया बालिका निर्मला पन्तका बलात्कारपछिको विभत्स हत्या घटनाको छानबिनमा पनि असफल रहे । तात्कालीन नेपाली सेनाले असहयोग गरे झैं हाल उनकै मातहत गृहका कर्मचारीले पनि उनलाई टेरेनन् । उनले आफ्नै मन्त्रालयको सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरे । कञ्चनपुरका सीडीओ र डीएस्पीलाई फिर्ता बोलाए । नयाँलाई जिम्मा दिएर पठाए । तर अझैं पनि अनिश्चित छ हत्यारा पत्ता लाग्ने हो वा होइन ।

तर यो कुरा पक्कै हो कि गृहमन्त्री थापा आफ्नै पार्टीभित्रको अन्तरविरोधको नराम्ररी शिकार भइरहेका छन् ।