दोस्रो अभ्यास खेलमा नेपालले ब्लुमफिल्डलाई दियो ३ सय २४ रनको लक्ष्य

दोस्रो अभ्यास खेलमा नेपालले ब्लुमफिल्डलाई दियो ३ सय २४ रनको लक्ष्य

काठमाडौं, भदौ ८ । मलेसियामा हुन लागेको एसिया कप छनौट प्रतियोगिताको अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो दोस्रो अभ्यास खेलमा ब्लुमफिल्ड क्लबलाई ३ सय २४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २३ रन जोडेको हो । आज नेपालका लागि दिपेन्द्रसिंह ऐरी र सागर पुनले उत्कृष्ट ब्याटिङ गरेका छन् ।

नेपालका तर्फबाट उत्कृष्ट ब्याटिङ गर्ने क्रममा दिपेन्द्र सिंह ऐरिले सर्वाधिक १ सय २१ रन जोडे । उनले ९६ बलको सामना गर्दै ९ चौका र ५ छक्काको मद्दतमा १ सय २१ रन जोडेका हुन् । यस्तै सागर पुनले ८३ बलको सामना गर्दै ९२ रन जोडे । उनले ८ चौका र ३ छक्का प्रहार गरे । ८४ रनमा ४ विकेट गुमाइसकेको अवस्थामा नेपालका मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल विशाल योगफल तर्फ उन्मुख भएको थियो ।

दिपेन्द्र र सागरले पाँचौ विकेटका लागि १ सय ८५ रनको साझेदारी गरेका थिए । यस्तै अनिल शाह १७ , पारस खड्का २३, सुवास खकुरेल ९ तथा रोहितले ११ रन जोड्दा करन केसीले १२ बलमा २६ रन जोडेका थिए । यसअघि आर्मी क्लब विरुद्ध भएको खेलमा नेपाल ६७ रनले विजयी भएको थियो । आजको खेलमा ज्ञानेन्द्र मल्ल विनोद भण्डारी तथा सोमपाल कामीलाई टोलीमा समावेस गरिएको छैन ।