काठमाडौं । भारतीय स्वतन्त्रता दिवसका दिन गडचिरोली स्थित आरेवाडा पञ्चायत घरमा भाकपा (माओवादी)का छापामारहरुले गाडिदिएका काला झण्डाहरु अझै पनि झिकिएका छैनन् । गडचिरोली महाराष्ट्र राज्यअन्तर्गतको एउटा जिल्ला हो । आरेवाडा पञ्चायत गडचिरोली जिल्लाको सदरमुकामदेखि १८० किलोमिटर टाढा पर्दछ ।
जानकारी अनुसार गाउँलेहरुले स्वतन्त्रता दिवसको विहानै गाउँमा र त्यहाँको पञ्चायत घरमा यत्रतत्र काला झण्डाहरु देखेका थिए । यी काला झण्डाहरुमध्ये सबैभन्दा ठूलो झण्डा पञ्चायत घरमा गाडिएको थियो । झण्डा गाडेको खबर बेलैमा पाएपनि सरकारी कर्मचारी तथा प्रहरी र सेनाहरु त्यहाँ जान मानेका थिएनन् ।
सेनाप्रहरीका अनुसार यो ठाउँ माओवादी प्रभावित ठाउँ हो । त्यहाँ न त लामो समय मुकाम राखेर बस्न सकिन्छ, न त त्यहाँका जनताको विश्वास नै गर्न सकिन्छ । उनीहरु माओवादीको प्रभाव विस्तारै मुम्बइतिर सर्दै जान थालेको र महाराष्ट्र नै यसको प्रभावमुनि पर्न थालेको बताएका छन् ।
भारतीय सरकारी जानकारीअनुसार यो क्षेत्र नक्सलवादीको कर्वाहीको इलाकाभित्र पर्दछ । त्यहाँ जान र सुरक्षा दिन पनि कठिनाइ छ, नक्सलवादीको एक्सनमा पर्ने संभावना बढी रहन्छ । पुलिसहरुका अुसार सबैभन्दा बढी डर एम्बुशको नै हुन्छ ।
बरु भारतीय सेना र पुलिसहरुले स्थानीयहरुलाई ती काला झण्डाहरु झिकेर फाल्न र सरकारलाई सहयोग पुर्याउन आग्रह गरेका थिए । तर ती काला झण्डाहरु अझैं झिकिएका छैनन् । पुलिस तथा सेनाहरुले स्थानीयहरुसँग सञ्चार सेटहरुले राम्रो काम गर्न नसकेकाले यो घटनाबारे थाह हुन नसकेको बताएका छन् ।
गाउँले जनताहरुले झण्डा मात्र नभएर ठूलाठूला ब्यानरहरु पनि टाँगिएका बताएपछि सेना तथा प्रहरीहरु अझै त्रसित बनेको बताइएको छ । पुलिसका अनुसार माओवादीहरुले वास्तविक स्वतन्त्रता हुँदै नभएको र देशीय विस्तारवादी सामन्तवादीहरुको शोषणबाट मुक्ति नपाउँदासम्म स्वतन्त्रता नहुने बताएका भनी निकै त्रसित हुने गरेको बताइएको छ ।
ब्यानरमा भारतीय ‘फासीवादी’ तथा ‘ब्राह्मणवादी’ राज्य सत्ताका विरुद्ध लड्न जनतालाई आह्वान गरिएको छ ।