नवलपरासी । पश्चिम नवलपरासीमा युरिया मल अभाव भएको छ । धान गोडेर मल हाल्ने समयमा डिएपी पाइए पनि युरिया मल भने हाहाकार भएको हो । अन्तिम साउनमा युरिया मल अभाव हुदाँ कृषकहरु चिन्तित भएका छन् । उनीहरुले महंगोमा गुणस्तरहीन भारतीय युरिया मल प्रयोग गर्न बाध्य भएका हुन । सरकारी अनुदानको मल थोरै आउँदा यसक्षेत्रमा युरिया मल अभाव भएको बताइएको छ । अभाव नहुँदा समेत नवलपरासीका सहकारीहरुले चर्काे दरमा मल बेच्दै आएका थिए ।
तर, अभाव भएपछि झन् अधिक मूल्यमा भारतीय मल खरिद गर्न कृषकहरु बाध्य भएका छन् । मल अभाव नहुँदा समेत भैरहवामा ७ सय ४१ रुपैया प्रतिबोरा पाइने युरिया मल यहाँ ९ सय रुपैया प्रतिबोरा सम्म बेच्ने गरेको पाइएको थियो । परासीमा ८ सय १० मा बेचिएको अनुदानको युरिया मल बर्दघाटमा ९ सय रुपैयामा बेचिएको थियो । सरकारले युरिया मलमा प्रतिबोरा १ हजार १ सय ५३ रुपैया र डिएपीमा प्रतिबोरा १ सय ९७ रुपैया अनुदान दिदै आएको छ । त्यस बाहेक पनि सहकारीहरुले प्रतिबोरा २५ रुपैया ढुवानी पाउछन् । तर, ढुवानी खर्च पाउने भएपनि ढुवानी खर्चको बहानामा कृषकहरुलाई अधिक मूल्यमा मल बेच्ने गरेको पाइएको छ ।
साल्ट टे«डिङ कर्पाेरेशन लिमिटेड भैरहवाले रुपन्देहीका मल वितरक सहकारीहरुलाई ६ सय ८७ रुपैयामा र नवलपरासीका लागि ७ सय ४१ रुपैया प्रतिबोरा मल दिदै आएको छ । तर, नवलपरासीका लागि ७ सय ४१ पाइने युरिया मलमा २५ रुपैया प्रतिबोरा ढुवानीखर्च समेत फिर्ता दिने ब्यवस्था रहेको छ । त्यो मूल्यमा २५ रुपैया ढुवानी घटाउँदा नवलपरासीमा ७ सय १६ रुपैयामा युरिया आई पुग्ने हुदाँहुँदै परासीमा ८ सय १० र बर्दघाट क्षेत्रका सहकारीले नौ सयमा युरिया बेचेका थिए । जिल्ला सहकारी संघ नवलपरासीले युरिया ८ सय १० मा बेचेको बताएको छ भने बर्दघाटको माकर बहुमुखी सहकारी संस्थाले प्रतिबोरा ९ सय रुपैयामा बेच्ने गरेको भेटिएको छ । तर, पश्चिम नवलपरासीमा ९ सय मा युरिया मल बेच्नु महंगो भएको साल्ट टे«डिंग स्रोतले जनाएको छ ।
सरकारले अनुदानमा पठाएको मल यहाँका सहकारीहरुले महंगोमा बेच्दा समेत सरोकारवाला भने मौन रहेका छन् । माकर बहुमुखी सहकारी संस्था बर्दघाटका ब्यवस्थापक रघुनाथ चौधरीले ७ सय ४१ मा मल ल्याएर ८० रुपैया ढुवानी जोडदा मलमा अधिक नाफा खायो भन्न नमिल्ने दाबी गर्छन् । ८० देखि ९० रुपैया ढुवानी लाग्छ –उनले भने । त्यसमाथि अनुदानको मलै पाइँदैन, अहिले त एक दाना पनि अनुदानको युरिया छैन । युुरिया अभाव भएपनि गोदामहरुमा डिएपी मल भने पाइने गरेको छ । नेपाल सरकारको अनुदान संगै साल्ट ट्रेडिङ करर्पाेरेशन, कृषि सामाग्री कम्पनी र वितरक सहकारी गरि ४ तहका कारण पनि अनुदानको मल महंगो हुन पुगेको बताइएको छ ।
यसबारे जिल्ला प्रशासन कार्यालय बर्दघाट सुस्ता पश्चिमका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले अधिक मुल्यमा मल बेच्ने संस्थाहरुलाई कारवाही गरिने बताए । प्रमाण पेशभए कारवाही गर्छौ – उनले भने । त्यस्तै मल अभावका सम्बन्धमा साल्ट्र ट्रेडिङ कर्पाेरेशन लिमिटेड अञ्चल कार्यालय भैरहवाका सहायक प्रबन्धक ईश्वर आचार्यले आफूहरुसंग भएको युरिया मल शुक्रवार नै वितरण गरिएको जानकारी दिए । कृषि सामाग्री कम्पनी शाखा कार्यालय परासीको (७८–५२०१२) मा प्रतिक्रिया लिन सम्पर्क गर्दा कार्यालय प्रमुख भैरहवा गएको र त्यहाँ पनि युरिया मल नभएको प्रतिक्रिया आएको थियो ।