कानुन मन्त्रीलाई बर्खास्त गर्न अनेमसंघ (क्रान्तिकारी)को जोडदार माग

कानुन मन्त्रीलाई बर्खास्त गर्न अनेमसंघ (क्रान्तिकारी)को जोडदार माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले एक वक्तव्य जारी गरी
बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका र अध्ययन पूरा गरी फर्केका नेपाली छात्राहरुको अस्मिता र आत्मसम्मानमाथि गम्भीर प्रश्न उठाई वादास्पद अभिव्यक्ति दिने कानुन मन्त्री शेरबहादुर तामाङलाई मन्त्री पदबाट बर्खास्त गर्न ओली सरकारसँग माग गरेको छ । संगठनकी केन्द्रीय अध्यक्ष लक्ष्मी मुडभरीले मंगलबार जारी गरेको वक्तव्यमा यस्तो माग गरेकी हुन् ।

पेशालाई नै अमर्यादित बनाउने गरी कानुन मन्त्रीले दिएको अभिव्यक्तिको घोर विरोध एवम् तीव्र भत्र्सना गर्दै वक्तव्यमा भनिएको छ, “बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका र अध्ययन पूरा गरी फर्केका नेपाली छात्राहरुको अस्मिता र आत्मसम्मानमाथि गम्भीर प्रश्न उठाई पेशालाई नै अमर्यादित बनाउने गरी दिइएको कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङको अभिव्यक्तिप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । बंगलादेशमा मेडिकल अध्ययन गर्न गएका छात्राहरुको मात्र नभएर चिकित्सा शिक्षा अध्ययन गर्ने समग्र छात्राहरुकै अस्मितामाथि गम्भीर आघात पुग्ने गरी दिएको कानुन मन्त्रीको अभिव्यक्ति हदै गैरजिम्मेवार, अशोभनीय, मर्यादाहीन, असभ्य, घृणित तथा घोर निन्दनीय रहेको हुँदा हाम्रो संगठन ओली सरकार र कानुन मन्त्रीको घोर विरोध तथा तीव्र भत्र्सना गर्दछ । र तत्काल ओली सरकारले सार्वजनिक रुपमा माफी मागी त्यस्ता मन्त्रीलाई बर्खास्त गर्न समेत जोडदार माग गर्दछ ।”