काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनले एक वक्तव्य जारी गरी बंगलदादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका र अध्ययन पूरा गरी फर्केका नेपाली छात्राहरुको अस्मिता र आत्मसम्मानमाथि प्रश्न उठाई विवादास्पद अभिव्यक्ति दिने कानुन मन्त्री शेरबहादुर तामाङलाई पदबाट बर्खास्त गर्न ओली सरकारसँग माग गरेको छ । संगठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारी ८ साउनमा जारी गरेको वक्तव्यमा यस प्रकरणमा ओली सरकारले समेत सार्वजनिक माफी माग्नु पर्ने माग गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “बंगलदादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका र अध्ययन पूरा गरी फर्केका नेपाली छात्राहरुको अस्मिता र आत्मसम्मानमाथि प्रश्न उठाई दिइएको कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङको अभिव्यक्तिप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । बंगलादेशमा मेडिकल अध्ययन गर्न गएका विध्यार्थीहरुको अपमान हुने गरी आएको कानुन मन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार, अशोभनीय, मर्यादाहीन, असभ्य, घृणित तथा निन्दनीय रहेको हुँदा हाम्रो संगठन ओली सरकार र कानुन मन्त्रीको तीव्र भत्र्सना गर्दछ र खेद व्यक्त गर्दछ । र तत्काल ओली सरकारले माफी मागी त्यस्ता मन्त्रीलाई बर्खास्त गर्न समेत आव्हान गर्दछ ।”