अहिले कम्युनिष्ट पार्टी कस्तो हुने भन्ने विषयमा धेरै चर्चा परिचर्चा हुन थालेको छ । वास्तवमा मुलुकमा यौटै कम्युनिष्ट पार्टी हुनु पर्ने हो, तर धेरै छन् । जनतालाई कुन कम्युनिष्ट पार्टी सही हो वा होइन भन्ने विषयमा निकै अन्यौलता छ । यो अन्यौलताबाट मुक्त नपारेसम्म जनताले खास आफ्नो वर्गको प्रतिनिधि छुट्याउन सक्तैनन् र कम्युनिष्ट आन्दोलन अगाडि बढ्न सक्दैन । तर यो जादुको छडीमा यो अन्यौलताको बादल फाट्न सक्तैन । यसको लागि ठोस नीति, सिद्धान्त र कार्यदिशा अनि कार्यदिशा अनुरुपको योजना र व्यवहारिक प्रयोगको आवश्यकता पर्छ । त्यसको साथ साथै त्याग र बलिदानको त्यत्तिकै आवश्यकता पर्छ ।
यतिबेला मुलुकमा धेरै कम्युनिष्ट पार्टी विद्यमान छन् । सबैले आफूमात्र सही भएको र अरु गलत भएको भनेर जनतामा काफी भ्रम छरेका छन् । जनता भने अन्धाले हाती छामे जस्तै भएका छन् । नेपालमा अहिले एकथरि “कम्युनिष्टहरु” उही पुरानै प्रतिक्रियावादी संसदीय व्यवस्थालाई निर्विकल्प ठानेर सत्तामा निर्लिप्त छन्, र उनीहरु नेपालमा जनवाद आयो, कम्युनिष्टको बहुमतको सरकार बनिसक्यो, मुलुकमा अब क्रान्तिको आवश्यकता छैन भनेर कोकोहोलो मच्चाइ रहेका छन् । अर्का थरी ‘कम्युनिष्टहरु’ कुरा क्रान्तिका, जनवादका, आमूल परिवर्तनका गर्ने काम वर्तमान सत्ताको तावेदारी गरी व्यक्तिगत स्वार्थ पूरा गर्न मरिहत्ते गर्ने गरेका छन् । अर्कोथरि कम्युनिष्ट राष्ट्र र जनताको मुक्तिको खातिर नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद र साम्यवादको लक्ष्यमा अघि बढेको, उत्पीडित सर्वहारावर्गको अधिनायकत्व कायम गरी मुलुकको सर्वाङ्गीण विकास–निकास गर्ने उद्देश्य लिएको क्रान्तिकारी पार्टी विद्यमान छ ।
त्यस्तै आफूलाई कम्युनिष्ट भन्दै आएका तर मार्ग निर्देशक सिद्धान्त र गन्तव्य नै थाहा नभएका कतिपय कम्युनिष्ट नामधारी पार्टीहरु पनि छन् । सबैले आफूलाई उत्कृष्ट अर्थात् सच्चा कम्युनिष्ट परिभाषित गर्दै आएका छन् । यो वा त्यो रुपमा जनता सबैतिर विभाजित हुन पुगेका छन् । सुन पसलका गहना देखेर ग्राहकहरु रनभुल्लमा परेझै कुन छापावाला सुन हो, कुन जलप लगाएको सुन हो, कुन पित्तल हो, सबै पहेंला र चम्किला देखिन्छन्, सही कुन छुट्याउन सामान्य ग्राहकलाई जति मुस्किल पर्छ, त्यत्तिकै मुस्किल सच्चा कम्युनिष्टको पहिचान गर्न जनतालाई भै राखेको छ ।
दक्षिणपन्थी संशोधनवाद र विविध खाले अवसरवादको कालो बादल मडारिइरहेको वर्तमान अवस्थामा वास्तविक कम्युनिष्टमा हुनुपर्ने आधारभूत सर्तहरुबारे जनतालाई सुसूचित गर्नैपर्छ । कसैलाई व्यक्तिगत रुपमा गाली गलौज गरेर, आग्रह–पूर्वाग्रह राखेर निराधार कम्युनिष्टको व्याख्या विश्लेषण गर्नुभन्दा माक्र्सवादका आधारभूत सर्तहरुमा आधारित रहेर सच्चा कम्युनिष्ट को हो र को होइन भन्ने कुराको निक्र्यौल गर्नु पर्छ ।
अहिलेको उत्तर आधुनिकतावादी तथा उत्तर मार्क्सवादीहरुले जस्तोसुकै तर्क–कुतर्क दिए तापनि मार्क्सवादलाई भ्रष्टीकरण गर्न खोजे तापनि मार्क्सवादको सार्वभौम सिद्धान्त भनेर निम्न लिखित बुँदाहरुलाई विश्व सर्वहारा वर्गले मान्दै आएको छ र यी सिद्धान्तहरुलाई आत्मसात् गरेर अगाडि बढ्ने कम्युनिष्ट नै सच्चा कम्युनिष्ट हुन सक्छन् । ती सिद्धान्तहरु हुन् ः १) द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद, २) वर्ग संघर्ष, ३) सर्वहारा वर्गको अधिनायकत्व, ४) क्रान्तिमा सशस्त्र बल प्रयोगको भूमिका ।
एउटा सच्चा कम्युनिष्ट पार्टीको निम्ति यी नितान्त आधारभूत गाइड लाइन हुन् । त्यसको आधारमा मार्क्सवादले लेनिनवाद र माओवादसम्मको विकास गरेको छ । अहिलेको सन्दर्भमा मार्क्सवाद–लेनिनवाद–माओवादलाई अस्वीकार गर्ने कोही पनि सच्चा कम्युनिष्ट मानिदैन । यो कुनै व्यक्ति विशेषको मनोगत विश्लेषण नभएर सिंगो सर्वहारा वर्ग र द्वन्द्वात्मक भौतिकवादी विज्ञानको ठहर हो । यो सिद्धान्तलाई मार्ग निर्देशक सिद्धान्तको रुपमा आत्मसात् गरेर अगाडि बढ्नुपर्छ भन्ने मान्छेहरुलाई अहिलेका कथित कम्युनिष्टहरु जसले मूलतः मार्क्सवाद त्यागिसकेका छन्, खुश्चेभवादी बाटो समातिसकेका छन् र त्यो बाटो हिँड्न तम्सेका छन्, उनीहरुले जडसूत्रवादीको आरोप लगाउँदै आएका छन् ।
हुन त बाटो विराएका, विचारबाट विचलित भएका र आफ्नो वर्गप्रति घात गरी अर्को वर्गमा आत्मसमर्पण गरेका दक्षिणपन्थी अवसरवादीहरुले क्रान्तिकारीहरुलाई जड्सूत्रवादको आरोप लगाउनु उनीहरुको धर्म हो । यस्तो काम त माक्र्स, लेनिनको पालादेखि नै हुँदै आएको हो । यसबाट क्रान्तिकारीहरुलाई कुनै असर पर्दैन, बरु त्यो प्रवृत्तिबाट बच्न सघाउँनै पुर्याउँछ । रुसमा लेनिनको पार्टी (बोल्सेभिक)लाई मेन्सेबिकहरुले सँधै त्यही आरोप लगाए, चीनमा पनि माओविरुद्ध यस्ता मनगढन्ते आरोप नआएका होइनन् । नेपाली कम्युनिष्ट आन्दोलन पनि त्यसको अपवाद हुन सक्तैन । पूर्व माले अर्थात् झापाली समूहले ०३१÷३२ सालमा तात्कालिन नेकपा (एम.बि.ले नेतृत्व गरेको पार्टी) लाई पहिले दक्षिणपन्थी भनेर खुब बद्नाम गर्ने कोशिस गरे । पछि आफै दक्षिणपन्थी बाटो समाएर पञ्चायतपरस्त हुन थालेपछि त्यही पार्टी (एम.बि. नेतृत्वको)लाई जड्सुत्रवादी भन्न थालेको इतिहास ताजै छ ।
ठीक त्यस्तै अहिले कम्युनिष्ट विचार नै छोडेर गएका बाबुराम र मालेमावादी विचार सिद्धान्त र आफ्नो वर्गलाई नै परित्याग गरी दक्षिणपन्थी अवसरवादको सिकार भएका अर्थात् नयाँ जनवादी क्रान्तिप्रति कुठराघात गरी प्रतिक्रियावादी संसदीय आहालमा चुर्लुम्म डुबेका प्रचण्ड–बादल मण्डलीहरुले क्रान्तिकारी माओवादीलाई जडसुत्रवादी भन्नु र त्यसका विरुद्ध न्वारनदेखिको बल प्रयोग गर्नु उनीहरुको वर्ग चरित्र नै हो । उनीहरुको त्यो आरोपले सच्चा क्रान्तिकारीहरुको कतै रौं पनि हल्लिदैन । युद्धताका प्रतिक्रियावादी शासकहरुले माओवादीलाई आतंकवादीको आरोप लगाएर बदमान गर्न खोजेकै हो । माओवादीको लागि भने त्यो शब्द प्रिय नै बन्यो । त्यस्तै अहिले पनि उनीहरुका शब्दहरु हाम्रा निम्ति प्रिय नै छन् । तर सच्चा क्रान्तिकारीहरु जडसुत्रवादका विरोधी हुन्छन् भन्नेकुरा इतिहाससिद्ध भै सकेको छ । मालेमावाद जडसुत्रीय दर्शन सिद्धान्त होइन, यो त गतिशील विज्ञान हो ।
अब हामीले कस्तो कम्युनिष्ट पार्टी बनाउने ?
लेनिनको बोल्सेविक पार्टी बनाउने कि मार्तोभहरुको मेन्सेविक पार्टी बनाउने ? स्टालिनले नेतृत्व गरेको सोभियत कम्युनिष्ट पार्टी बनाउने कि खु्रश्चेभ–बे्रजनेभको दक्षिणपन्थी संशोधनवादी पार्टी बनाउने ? माओको जस्तो पार्टी बनाउने कि देङ मण्डलीहरुको जस्तो ? ओली–प्रचण्ड कम्पनीको जस्तो प्रतिक्रियावादमा पतन भएको दक्षिणपन्थी संशोधनवादीहरुको जस्तो कम्युनिष्ट पार्टी बनाउने कि मालेमावादी विचार–सिद्धान्तलाई आत्मसात् गरी वर्गीय तथा राष्ट्रिय मुक्तिको लागि समर्पित पार्टी बनाउने ? शब्दमा क्रान्तिकारी व्यवहारमा अवसरवादी पार्टी बनाउने कि सिद्धान्त र व्यवहारलाई सँगसँगै मिलाएर लैजाने क्रान्तिकारी पार्टी योद्धाहरुको जुझारु पार्टी बनाउने ? फैसला गर्नुपर्ने बेला आएको छ ।
वास्तवमा हामीले यस्तो कम्युनिष्ट पार्टी बनाउनु पर्छ । जो दुश्मनसामु कहिल्यै नझुकोस्, जस्ले मालेमावादी विचार राजनीति, सिद्धान्त र दर्शनलाई हमेसा आत्मसात् गर्दै हजारौं चुनौतीसँग जुध्न तयार होस् । हामीले त्यस्तो पार्टी बनाउनु पर्छ, जस्ले लेनिनले भन्नु भएको झैं आफ्ना गल्ती कमजोरीहरु बनाउँदै तिनीहरुलाई हटाउन प्रतिबद्ध होस्, त्यतिमात्र होइन स्वार्थ, आफूभित्रको फोहोर मैला हटाउन कन्जुस्याई नगरोस् र उदार नबनोस् । हामीले त्यस्तो पार्टी बनाउनु पर्छ, जो सिंगो सर्वहारा वर्ग, किसान, मजदुर, युवा, महिला, मुस्लिम, दलित, आदिवासी, जनजाति लगायतका तमाम उत्पीडित वर्ग समुदायको मुटुको ढुकढुकी बनोस् र उनीहरुकै नेतृत्व प्रदान गरोस् ।
त्यस्तो पार्टी बनाउनु पर्छ जसमा कम्युनिष्ट निष्ठा आदर्श, नैतिकता, अनुसाशन, इमान्दारिता र त्याग वलिदान आदि गुणले सम्पन्न होस् । पार्टीको मुख्य नेतृत्वदेखि तल्लो पंक्तिसम्म लौह अनुशासन होस् । हामीले त्यस्तो पार्टी चाहिएको छ जस्ले दुश्मनलाई पनि चिनोस् र आफूलाई पनि चिनेर अगाडि बढोस् । हो, हामीलाई त्यस्तो पार्टी र नेतृत्वको खाँचो छ । हामीलाई मालेमावादी दर्शन सिद्धान्तलाई आफ्नै देशको सापेक्षतामा जनवादी क्रान्ति सम्पन्न गरी नयाँ श्रृखलामा माथि उठाओस्, त्यस्तो पार्टी र नेतृत्वको विकास गर्नु छ ।
के हामी त्यस्तो पार्टी बनाउँन सक्छौं ? अवश्य पनि सक्छौं र सक्नुपर्छ । हामीसँग इतिहासले जन्माएको त्यो पुँजी छ । हामीसँग दशवर्षे महान् जनयुद्धले जन्माएको त्यो मजवुत जग छ । हामीसँग जनआन्दोलनबाट खारिएर आएका दरिलो खम्बा छ । त्यतिमात्र हैन हामीसँग दुश्मनलाई एक एक गरेर ध्वस्त पार्ने धारिलो सैद्धान्तिक हतियार छ । हामीसँग चुनौतीका पहाडहरु भत्काउने दरिलो हिम्मत र आँट छ । हामीसँग उत्पीडनमा पिल्सिएर छट्पटाइरहेका मुक्तिको निम्ति निकास खोजिरहेको उत्पीडित जनता र सिङ्गो सर्वहारा वर्ग छ । यी सबैलाई संगठित गर्ने जिम्मेवारीबोधका साथ फिल्डमा होमिने क्रियाशीलताको खाँचो यतिबेला छ । पार्टी र क्रान्तिप्रतिको विश्वासको खाँचो यतिबेला छ । क्रान्तिकारी शक्तिहरु बीच दरिलो एकता र प्रतिवद्धताको खाँचो छ । यो पूरा गर्न हामी सबैको दायित्व र कतव्र्य हो । लेनिनले भन्नु भए झैं यदि हामीले आमूल परिवर्तन गर्नु छ भने क्रान्तिकारी पार्टी नै हुनै पर्छ ।
उपरोक्त सबै तथ्यहरुलाई ‘मिट गर्ने’ नेपालको वर्तमान सन्दर्भमा एक मात्र कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) देखिएको छ । अंक गणितीय हिसाबले कसैको नजरमा यो पार्टी सानो अर्थात् नगन्य होला । कार्यनीतिक दृष्टिले कमजोर होला, तर सबैलाई यो स्मरण होस् कि यो पार्टी हाम्रा विरोधीहरुले सोचे जस्तो कमजोर र सानो छैन । यो अरु जस्तो रुग्ण र मरन्च्यासे पनि छैन । योसँग गतिशील जीवन छ । मिसन र रणनैतिक दृष्टिले यो प्रतिक्रियावादी संसदीय व्यवस्थाको वैकल्पिक शक्तिको रुपमा यो जबर्जस्त स्थापि त हुने छ । यो इतिहासको अपरिहार्य आवश्यकता हो ।