काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले धनुषा जिल्लाको नेपाल–भारत सीमासँग जोडिएको जटही नाकाको दशगजा क्षेत्रभित्र भारतीय पक्षबाट भइरहेको प्रहरी चेकपोस्ट निर्माण कार्यप्रति आफूहरु र आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ । सोमबार दिउँसो मूलबाटो डट कमलाई प्राप्त विज्ञप्तिमा भारतीय पक्षबाट भैरहेको उक्त कार्य तुरन्त बन्द गर्न लगाई राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सरकार अघि सर्नुपर्ने बताइएको छ । विज्ञप्तिमा त्यसबारे नेपाली सुरक्षाकर्मीहरुद्वारा रिपोर्ट गर्दा पनि सरकारले ध्यान नदिएको कुरा प्रकाशमा आएको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भनिएको छ ।
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण)द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिको सुरुमा भनिएको छ– ‘भारतीय विस्तारवादले सीमा क्षेत्रमा ठूलो मात्रामा नेपाली भूभाग अतिक्रमण गरेको छ ।’ भारतको मिचाहा प्रवृत्ति र दादागिरीलाई थप प्रस्ट पार्दै विज्ञप्तिमा थपिएको छ– ‘केही वर्षयता थप नेपाली भूभाग अतिक्रमण गर्ने, सीमाक्षेत्र मिच्ने, दशगजाक्षेत्रका नदीहरुमा बाँध बाँधी नेपाली भूभागलाई डुबानमा पार्ने, दशगजा क्षेत्रमा नै बाटो बनाउने र सुरक्षा चौकी निर्माण गर्ने प्रक्रियालाई तीब्रता दिने काम हुँदै आएको छ । सीमा अतिक्रमणका गम्भीर समस्याबारे जनस्तरबाट समेत् बारम्बार आवाज उठे पनि सीमा सुरक्षाको प्रश्नमा सरकार मौन रहिआएको सन्दर्भ पनि स्पस्ट नै छ ।’
नेपालमाथि हैकम जमाउने र सीमा अतिक्रमणको कार्यलाई जारी राखिरहेको भारतीय रबैयालाई लिएर विज्ञप्तिमा उल्लेख गरिएको छ– ‘धनुषा जिल्लाको जटही नाकासित जोडिएको दशगजा क्षेत्रमा भारतीय पक्षबाट प्रहरी चेकपोस्ट निर्माण भइरहेको र त्यसबारे नेपाली सुरक्षाकर्मीहरुद्वारा रिपोर्ट गर्दा पनि सरकारले ध्यान नदिएको कुरा प्रकाशमा आएको प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । अतः हाम्रो पार्टी भारतीय पक्षबाट हुँदै आएका सीमा अतिक्रमणका साथै धनुषा जिल्लाको जटही नाका क्षेत्रमा भारतीय पक्षबाट बनाउन थालिएको चेकपोस्ट निर्माणको काम बन्द गरी नेपाली भूभागको सुरक्षा गर्नका लागि अबिलम्ब पहल गर्न तथा देशको राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन र दशगजा क्षेत्रमा बनाइएका बाँधहरु भत्काई नेपाली जनताको जनधनको रक्षा गर्नसमेत् सरकारसित जोडदार माग गर्दछ ।’ अहिले महली सागर बाँध लगायतका दशगजा क्षेत्रभित्र भारतले एकलौटी रुपमा बाँधेका बाँधहरुमा पानी जम्मा भई त्यस वरपरका ७०० बिघा जमीनमा रोपिएको धानबाली कुहिएर नस्ट भएको छ । त्यहाँका किसानहरु सहयोगका लागि हारगुहार गरिरहेका छन् भने बाँधमा पानी खतराको लेबलसम्म बढ्दै गइरहेको छ । स्थानीय जनताले महली सागर लगायतका बाँधहरु भत्काउनका लागि जनता एकजुट हुनुपर्ने र सरकारले साथ दिनुपर्ने कुराहरु उठाइरहेका छन् ।
त्यसै गरी देशभित्र शैक्षिक क्षेत्रमा देखिएको बेथिति र लापरबाहीलाई यंगित गर्दै सोही विज्ञप्तिमा भनिएको छ– ‘नेपाली जनता शैक्षिक क्षेत्रमा निजीकरण र व्यापारीकरणको गम्भीर मारमा पर्दै आएकोमा हाम्रो पार्टीले त्यसको विरोध र सार्वजनीकरणको पक्षमा आवाज उठाउँदै आएको छ । केही वर्षयता मेडिकल कलेजको सम्बन्धनको सम्बन्धमा कैयौं विवाद र बहसहरु चल्दै आएका छन् । यसै सन्दर्भमा डा. गाविन्द केसीको पटकपटकको अनसनको प्रक्रिया, त्यससम्बन्धी माथेमा आयोगको प्रतिवेदन, सदनमा विधेयकसम्बन्धी विवाद र हालै तीन सातायता पुनःजारी डा. केसीकोे अनसन, त्यसप्रतिका ऐक्यबद्धता तथा समर्थनमा जारी आन्दोलनले आज देश पुनः तातिन थालेको छ । साथै, डा. केसीको जीवनरक्षाको प्रश्न पनि गम्भीर बन्न गएको छ । परन्तु स्थिति यति गम्भीर र जटिल बन्दा पनि सरकारले खासै चासो देखाएको छैन ।’
देशमा राष्ट्रियता, जनतन्त्र र जनवीविकासँँग जोडिएर जनस्तरमा आएका सबै समस्याहरुको समाधानका उपायहरु अवलम्बन गर्न भन्दै विज्ञप्तिको अन्त्यमा भनिएको छ– ‘यसै क्रममा मेडिकल कलेजहरुको राष्ट्रियकरणको पक्षमा पनि आवाज उठ्न थालेको छ । तसथर्, यस प्रकारको गम्भीर र जटिल स्थितिमा सरकार पनि त्यसै अनुरुप गम्भीर बन्दै संपूर्ण शैक्षिक क्षेत्रका साथै मेडिकल कलेजहरुको राष्ट्रियकरण तथा गुणस्तरीयता स्थापित गरी समस्याको सही समाधान गर्न र डा. केसीले उठाएका जायज मागहरु समेतको समुचित सम्बोधन गरी उहाँको जीवन रक्षाका लागि विशेष ध्यान दिन हाम्रो पार्टी सरकारसित जोडदार माग गर्दछ ।’