डा. केसीको जीवन रक्षाको माग गर्दै गरिएको प्रदर्शनमा प्रहरी दमन

डा. केसीको जीवन रक्षाको माग गर्दै गरिएको प्रदर्शनमा प्रहरी दमन

काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै सोलिडारिटी फर प्रोफेसर गोविन्द केसी अलाइन्सले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप र दमन गरेको छ । शान्तिपूर्ण रुपमा गरिएको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार र अन्धाधुन्ध लाठी गरेको छ ।

बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले अश्रु ग्यास प्रहार गरेको हो । झडपमा तरुण दलका अध्यक्ष जितजंग बस्नेतसहित केही घाइते छन् । माइतीघर मण्डलाबाट शुरु भएको ¥याली बानेश्वर पुगेर कोण सभामा परिणत भएको थियो । विगत २२ दिनदेखि अनसनरत डा. केसीको जीवन रक्षाको माग गर्दै आयोजना गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, अधिकारवादी, चिकित्सक तथा विद्यार्थीहरू सहभागी छन् ।

¥यालीमा नयाँ शक्ति पार्टीका संयोजक पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधानन्याधीश सुशीला कार्की, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, त्रिविका पूर्वउपकुलपति डा केदारभक्त माथेमा, मानव अधिकारकर्मी कृष्ण पहाडी, लेखक खगेन्द्र संग्रौला, अभिनेत्री करिष्मा मानन्धर, मनिषा कोइराला लगायत रहेका थिए । यसबीच, डा.गोविन्द केसीले सरकारी तवरबाट कुनै पनि किसिमका स्वास्थ्य जाँच र सुविधा नलिने अडान लिएका छन् । स्वास्थ्य अवस्था प्रतिकुल रहँदा समेत डा केसीले कुनैपनि स्वास्थ्य जाँच तथा उपचार गर्न नमानेको डा. केसीका सहयोगी डा. विशाद दाहालले जानकारी दिएका छन् ।

यसैबीच, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ डा. गोविन्द केसीको स्वास्थ्य स्थितिको जानकारी लिन महाराजगञ्जस्थित टिचिङ अस्पताल पुग्नु भएको छ ।