काठमाडौं, असार २८ । जारी विश्वकप फुटबलको सेमिफाइनलको खेलमा इंग्ल्याण्डलाई पराजित गर्दै क्रोएसिया विश्वकप फुटबलको फाइनलमा पहिलो पटक पुगको हो । इंग्ल्याण्डलाई २–१ ले हराउँदै क्रोएसियाले फाइनलको टिकट काटेको हो ।
२८ वर्षपछि सेमिफाइनलमा पुगेको इंग्ल्याण्डलाई क्रोएसियाले विश्वकपको फाइनलमा पुग्न एक पाइला छदैं रोकिदियो । यो सँगै अब इंग्ल्याण्ड तेस्रो स्थानको लागि बेल्जियमसँग खेल्ने छ ।

खेलको पाँचौं मिनेटमा कायरन ट्रिपियरले इङ्ल्यान्डका लागि गोल गर्दै शुरुवाती अग्रता बनाएका थिए । तर क्रोएसियाका इभान पेरिसिचले ६८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए पछि इंग्ल्याण्डका कप्तान ह्यारी केनले राम्रो अवसर पाएको थियो तर त्यो गोलमा परिणत हुन सकेन् ।
निकै नै प्रतिष्पर्धात्मक देखिएको खेलको निर्धारित समय सकिदासम्म खेल १–१ को बराबरीको स्थितिमा पुगेपछि अतिरिक्त समयमा थपिएको थियो । खेलको १०९ औं मिनेटमा मारियो मान्जुकिचले गोल गरे र क्रोएसियाको अग्रता २–१ बनाए । अन्ततः यही गोल नै निर्णायक बन्यो र क्रोएसियाको पल्लाभारी भयो ।

क्रोएसिया पहिलोपटक फाइनलमा पुगेको हो । यसअघि क्रोएसिया सन् १९९८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । क्रोएसिया सन् १९९० मा युगोस्लाभियाबाट छुट्टिएर बनेको देश हो । अब फाइनलमा आइतबार क्रोएसियाले फ्रान्ससँग भिड्ने छ ।
































