पहिचानको पक्षमा सञ्चालित आन्दोलनप्रति क्रान्तिकारी माओवादीको ऐक्यबद्धता, पहिचानलाई आधार बनाई नयाँ ढंगले प्रदेशको नामांकन गर्न सरकारसित जोडदार माग

पहिचानको पक्षमा सञ्चालित आन्दोलनप्रति क्रान्तिकारी माओवादीको ऐक्यबद्धता, पहिचानलाई आधार बनाई नयाँ ढंगले प्रदेशको नामांकन गर्न सरकारसित जोडदार माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले सरकारको पहिचानविरोधी निर्णयको तीव्र विरोध गर्दै पहिचानको पक्षमा सञ्चालित न्यायपूर्ण आन्दोलनप्रति दृढ समर्थनका साथै त्यसप्रति ऐक्यबद्धतासमेत जाहेर गरेको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले बिहीबार एक वक्तव्य जारी ४ नं. प्रदेशको नामांकनसम्बन्धी पहिचानविरोधी निर्णय खारेज गरी पहिचानलाई आधार बनाई नयाँ ढंगले नामांकन गर्न सरकारसित जोडदार माग गर्नुभएको छ ।

वक्तव्यमा भनिएको छ, “हालै पूर्व नेकपा (माओवादी केन्द्र)को एमालेमा विलय भएपश्चात् बनेको नेकपा नामधारी पार्टीको ४ नं. सरकारको पहलमा सो प्रदेशलाई गण्डकी प्रदेशको रुपमा नामांकन गरिएको छ । कुनै पनि प्रदेशको नामांकन गर्दा त्यसको ऐतिहासिकता, जातीय, क्षेत्रीय तथा भाषिक अवस्थिति, सामाजिक आर्थिक अवस्था, पहिचान जस्ता विषयलाई आधार बनाइनु पर्दथ्यो । परन्तु, त्यसो गरिएन । हामी सर्वहारावर्ग र उत्पीडित जातिहरुको ऐक्यवद्धताको पक्षमा छौं । तसर्थ, हाम्रो पार्टी यस प्रकारको पहिचान विरोधी निर्णयको तीव्र विरोध र पहिचानको पक्षमा सञ्चालित न्यायपूर्ण आन्दोलनको दृढ समर्थनका साथै त्यसप्रति ऐक्यवद्धता समेत जाहेर गर्दछ । साथै। हाम्रो पार्टी ४ नंं प्रदेशको नामांकनसम्बन्धी उक्त निर्णयको खारेज गरी पहिचानसमेतलाई आधार बनाई नयाँ ढंगले नामांकन गर्नका लागि सरकारसित जोडदार माग गर्दछ ।”

जनयुद्ध र जनआन्दोलन तथा समग्र जातीय मुक्ति आन्दोलनको मूल मुद्दा पहिचानसहित संघीयतालाई वर्तमान ओली नेतृत्वको सरकारले पूरै उपेक्षा गरेको भन्दै वक्तव्यमा भनिएको छ, “तात्कालिक नेकपा (माओवादी)द्वारा सञ्चालित महान जनयुद्ध, सर्वहारावर्गको नेतृत्व र महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम सहितका उत्पीडित जनसमुदायको सहभागितामा नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने उद्देश्यमा आधारित थियो । जनयुद्ध, विभिन्न जनआन्दोलन र समग्र जातीय मुक्ति आन्दोलनको एउटा मूल मुद्दा पहिचानसहितको संघीयता पनि थियो । परन्तु, आज त्यसलाई पूरै उपेक्षा गरिएको छ ।”