काठमाडौं, असार २८ । अझै तीन, चार दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले मौसमविदले सतर्क रहन आग्रह गरेका छन् । मौसमविद विभूति पोखरेलका अनुसार मनसुन सक्रिय भएकाले पूर्वदेखि पश्चिमसम्म भारी वर्षाको सम्भावना रहेको छ ।
मौसमविद भन्छन्, ‘पूर्व, मध्य र पश्चिममा भारी वर्षाको सम्भावना छ त्यसैले अझै तीन, चार दिनसम्म सतर्क रहुन पर्ने देखिन्छ ।’ मौसम विज्ञान विभागले बिहीबारदेखि शनिबारसम्मको मौसमी अवस्थाबारे सूचना नै निकालेर जानकारी पनि दिएको छ । सूचनामा लेखिएअनुसार बिहीबार दिउँसोको समयमा देशभरि नै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना छ । साँझ र राति पनि देशभरि नै बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने छ ।
बिहीबार राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । शुक्रबार दिउँसो र साँझ मध्यम खालको वर्षाको सम्भावना रहे पनि रातिको समयमा भारी वर्षाको हुने अनुमान गरिएको छ ।
शनिबार दिउँसोको समयमा देशभरि नै बदली रही मध्य र पश्चिमी भूभागका धेरै स्थानहरु र पूर्वका केही स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना छ । साँझ र राति भने भारी वर्षाको सम्भावना रहेको छ ।