पाँच महिने सङ्गठन सुदृढीकरण तथा जनपरिचालन अभियानको अनुभूति कस्तो सङ्गाल्नु भएको छ ?
केन्द्रीय समितिले यो अभियान बनाएपछि हामी २ नम्बर प्रदेशमा यसलाई दृढतापूर्वक लागु गर्नका लागि अभियान चलायौं । यो अभियान शतप्रतिशत कार्यान्वयन गर्न सकेका त होइनौ र छैनौ पनि । यो अभियान जिम्मेवारीका हिसाबले ७५ प्रतिशत स्थायी समितिका साथीहरूले, ६० प्रतिशत पीवीएम साथीहरूले र ५० प्रतिशत सीसीएम साथीहरूले पूरा गर्नुपर्छ । हामीले यसलाई कार्यान्वयन गर्न राम्रो प्रयत्न पनि गरेका छौं ।
यो हालका नयाँ परिस्थितिमा नयाँ अभियान पनि हो । अभियानका क्रममा केही प्राविधिक समस्याहरू पनि रहे । काममा सोचेजस्तो चुस्तता र द्रुतता आउन सकेन पनि । तर कार्य क्षेत्रमा खटेका साथीहरूबीच सहकार्य र टिम स्पिरिटमा भने राम्रो सुधार भयो ।
जनताका बीचमा जाँदा कस्तो छ ?
जनताका बीचमा यो अभियानभन्दा अघि पनि गएका थियौं । त्यतिबेला जनताका बीचमा वर्तमान सत्ताधारीका देश र जनताविरोधी कामहरूको भण्डाफोर गरेका थियौं ।
यसले जनतामा हाम्रो सम्बन्ध भने राम्रो नै रहेको छ । चुनावको बेलामा पनि हामीले जनतालाई सचेत बनाएका थियौं । त्यतिबेला नै हामीले भनेका थियौं कि माओवादी केन्द्रको पार्टीमा लामो समयदेखि काम गरेकालाई चुनावमा टिकट पनि दिएको छैन । भर्खर आएकाहरूलाई टिकट दिएको छ । जनताले कुरा ठीक हो भनिरहेका थिए । हामीले भनेका थियौं– ‘चुनावमा ठूल्ठूला कुरा गर्ने नेता र तिनका पार्टीहरू कसरी नेपालको सीमा मिचिंदा पनि बोल्दैनन् र नदीनाला बेचिंदा र भूमि भारतले मिच्दा पनि बोल्दैनन् । यी गद्दार र देश बेचुवाहरू हुन् ।’ अहिले हामी जनताका बीचमा जाँदा तिमीहरूले ठीक भनेका रहेछौ भनेर जनताले यथार्थता महसुस गरिरहेका छन् । तपाईहरू नै अब सशक्त रूपमा आउनुपर्छ भनेर जनताले बोलाइरहेका छन् ।
प्रदेश नम्बर २ मा कुन–कुन ठाउँमा सीमा मिचिएका छन् ?
वीरगञ्जको छपकैयामा ५० बिगाह जमिन मिचिएको छ । मिचिएका ठाउँमा बकाइदा सीमा इलाका चिन्ह र पिलरहरू छन् । त्यहाँका जनताले सीडीओलाई निवेदन दिएका छन् । नगर प्रमुख र वार्ड अध्यक्षहरूलाई निदवेदन दिएका छन् । साथै आफ्ना जग्गा छुट्याइदिन माग गरेका छन् ।
हामीले यसका लागि अन्तरक्रिया कार्यक्रमहरू पनि ग¥यौं । तर कोही मानिसहरू पनि त्यहाँ उपस्थित भएनन् । अरु पार्टीका कोही पनि मानिसहरू आएनन् । भारतका विरुद्धमा बोले निशानामा परिने र जनताका विरुद्धमा बोले जनताले नछाड्ने भएपछि उनीहरूलाई निकै गाह्रो भएको देखिन्छ । आफूलाई मधेसका मसिहा भन्नेहरू, आफूलाई राष्ट्रवादी भन्नेहरू एमाले–माकेहरू कोही पनि आएनन् ।
जनतामा के सन्देश फैलियो भने अब जनताका पक्षमा क्रान्तिकारी माओवादीबाहेक अरु कोही पनि छैन । कार्यक्रम सिद्धिएपछि केही व्यापारीहरू पनि आए । केही बुद्धिजीवीहरू पनि आएर भेट गरे । उनीहरूको भनाइ थियो अब जनतासँग क्रान्तिकारी माओवादीबाहेक अरु कोही पनि छैन । हामीहरू खुलेर सहयोग गर्न सक्दैनौ, तर हामी तपाईहरूको साथमा छौं ।
सीमा इलाका दिउँसो नै मिच्ने गरेका छन् ?
जानकारीमा आएसम्म अहिले भारतले चारवटा छुट्टाछुट्टै नक्शा बनाएको छ । नेपालमा केवल एउटै नक्शा छ । ब्रिटिश भारत छँदाको एउटा र भारत र नेपाल दुईपक्ष बसेर सन् २०७२/०७३ तिर काठमाडौंमा बनाएको दोस्रो हो । त्यो सीमा क्षेत्र भूगोलमा नै नगएर बनाइएको हो । तेस्रो चाहिं वि.सं. २०२३/२०२४ सिमानामा गएर बनाएको भनिएको छ । नक्शा आफूखुशी र जस्तोसुकै पनि बनाइएको छ ।
जनताका घरजमीन र नेपाल सरकारले दिएको लालपूर्जा के झुट्ठा हो । काठमाडौंमा बसेर बनाएको नक्शाअनुसार भारतले यति र उति भनेर दाबी गरिरहेको छ । पिलर पनि छँदैछ । दिनदाहाडै आएर नेपालको किसानहरूका बारीमा भारतीय सेनाले पिलर गाड्ने खाल्डो खनेको छ । स्थानीय जनताले विरोध गरेपछि काठमाडौंमा त्यसबारेमा छलफल भइरहेको छ । हाम्रो देशमा सरकार बनाएर बसेका दलालहरूको भारतको चाकरी गर्ने बानी र जनताप्रतिको वेवास्ताले पनि त्यसमा थप बल पुर्याएको छ । छपकैयाले यो दलाल प्रवृत्तिलाई नाङ्गै सतहमा ल्याएको छ ।
नेपालका सुरक्षाकर्मीहरू छैनन् त्यहाँ ?
सिमाना मिचेपछि स्थानीय जनताको ठूलो विरोध भयो । हामी जाँदा नेपालका सीमा सुरक्षकर्मीहरू पनि थिए । तर उनीहरू त्यहाँ नियमित बस्दैनन् । तर हामीपुग्दा सीमा विवादका कारणले त्यहाँ सशस्त्र र जनपथका प्रहरीहरु थिए ।
तर आश्चर्यको कुरा त के थियो भने हामीले सीडीओको अनुमति लिएर मात्र त्यहाँ जान पाएका थियौं । आफ्नै देशमा अनुमति लिएर जाँदा हामीलाई आश्चर्य लागेको थियो । यस्तो विडम्वना छ, देश र देशका नागरिकको । तर हामीहरु त्यहाँ पुगेर सीमा मिचिएका इलाकामा स्थानीय जनताको उपस्थितिमा कोणसभा ग¥यौं । र, अर्को कोणसभा वीरगञ्जमा आएर ग¥यौं । कोणसभा गर्दा त्यहाँका प्रहरी प्रशासन केही उत्तेजित भएकोजस्तो देखियो । कोणसभामा बोल्नेक्रममा हामीहरूले यो विरोध तिनीहरुको विरुद्धमा नभएको भनी प्रष्ट पा¥यौं ।
हामीले थप प्रस्ट पार्यौं– नेपाली जनताको जमीन भारतीय सेनाले दिउँसै आएर जसरी कब्जा गर्ने प्रयास गरेका छन्, त्यसको विरुद्धमा बोलेका छौं । तपाईहरूलाई थाहै छ पहिले नेपालको सिमाना छपकैयाभन्दा सीमा पारी रहेको गाउँमा थियो । त्यहाँका स्थानीयहरू भन्छन्– ‘हामीहरू नेपाली नै हौ, तर हाम्रो जमीन भारतले अतिक्रमण गरेर लिइसकेपछि हामी जबर्जस्त भारतीय नागरिक बनाइएका छौं ।’ यसरी हेर्दा हाम्रो सिमाना भारतीय भूमिमा पर्न जान्छ ।
तर उल्टै उनीहरू किन नेपालको सीमाभित्र पसेर नेपालीहरूका जमीन अतिक्रमण गरिरहेका छन् ? आफ्नो सीमाना अतिक्रमित हुँदा र जनताले सूचना दिंदा पनि नेपाल सरकार मौन रहनु आश्चर्यको कुरा बनेको छ । हामी नेपालीहरूको विरुद्धमा हुँदै होइन, भारतीय जनताको विरुद्धमा पनि छैनौ । हाम्रो विरोध भनेको भारतीय सरकारको मिचाहा र हेपाहा प्रवृत्तिका विरुद्ध हो । हामी नेपाली भूमि मिच्न दिदैनौं ।
सीमा अतिक्रण गर्न भारतीय सेनाले कस्तो क्रियाकलाप गरिरहेको छ ?
भारतीय सेनाहरूले छपकैया गाउँको पश्चिमतिर गएर जनताका खेतबारीका बीचमा आठ÷दशवटा पिलर गाड्ने खाल्डाहरू खनेका छन् । नेपाली जनताको लालपूर्जा भएको ५० बिगाह जमीन सिमाना पारी पर्ने गरी खाल्डोहरू खनिएको छ । यी सबै काम सीमा इलाकामा रहेको दशगजा क्षेत्रलाई मिचेर गरिएको छ ।
स्थानीय जनताको राय कस्तो छ ?
स्थानीय जनताहरु भन्छन्– ‘हामीहरूलाई नेपालमा सरकार छ भन्ने अनुभूति नै भएको छैन । हातमा हाम्रो लालपूर्जा छ, तर जमिन भने भारतले मिचिरहेको छ । हामीहरूले घरजग्गाको दस्तुर भने नेपाल सरकारलाई बुझाउने गरिरहेका छौं । तर नेपाल सरकार हाम्रो जग्गा जमीनको सुरक्षा र संरक्षण नै गरिरहेको छैन ।’ हामीहरू स्थानीय वडा कार्यालयमा पनि पुगेका छौं र जिल्ला कार्यालयहरूमा पनि धाएका छौं । तर सीमा क्षेत्रमा गएर हाम्रो जमीनको सुरक्षा गरिदिने र हामीहरूलाई साथ दिने सरकार र यसका स्थानीय निकायहरुले गरिरहेका छैनन् ।
नगरपालिकामा यो समस्या लिएर जाँदा सीमा मिचिएको कुरा सुन्नसम्म चाहेनन् । बरु उल्टै भारतमा लगिएका जग्गाको कर तिर्न हामीहरूलाई उर्दी दिएका छन् । स्थानीय सरकार र कर्मचारीहरुको एउटै भनाइ छ, काठमाडौंमा के फैसला हुन्छ त्यहीअनुसार गरौंला । हाम्रो जग्गा जमीन दिनदहाडै भारतले लगिरहेको छ । चुनावताका मधेसवादीका नाममा भोट माग्न आएकाहरू अहिले अनुहार पनि देखाउँदैनन् । हामी मधेसीका हकहितका कुरा गर्छौ भन्नेहरू भारतका मान्छे रहेछन् भनेर सुनाउने गर्छन् । उनीहरू भन्छन्– तपाईहरूले आवाज उठाइदिनु’भो, हामीहरू तपाईहरूलाई साथ दिन्छौं ।