काठमाडौं । प्रवुद्ध व्यक्ति समूहले सन् १९५० को सन्धिबारे अहिले के, किन र कसरी काम गरिरहेको छ ? त्यो पनि हामीलाई जानकारी छ । त्यहाँ कस्ता समस्या छन्, प्रमको भारत भ्रमणमा केके आदान÷प्रदान भए हामी त्यो पनि बुझ्दछौं ।
नेपालको संविधान निर्माण मस्यौदा समितिको सदस्य हुँ । कतिपय कुराहरु म पछिमात्रै खोल्नुपर्ला भन्ने ठान्छु । अहिले यतिमात्रै भन्न चाहन्छु कि संविधानका धारा र दफाहरु कस्ता लेखिनुपर्छ भन्ने दबावको समेत हामीले सामना गर्यौं ।
हाम्रा निर्णयहरुलाई कम्प्युटर टाइप गर्ने र अभिलेख गर्ने कर्मचारीहरुले पनि धम्कीको सामना गर्नु पर्यो । अब यति भनेपछि नेपालको परराष्ट्र सम्बन्ध कस्तो हुनुपर्छ भन्नेमा शायद धेरै रिसर्च गर्नु पर्दैन ।
चीनमा आयोजित बोआओ फोरममा नेपालको सहभागिता भएन । साङ्घाई को–अपरेशनमा पनि नेपाललाई निम्तो भएन । के हो यो ?
हामीले हाम्रो दक्षिणतर्फको सम्बन्ध पारस्परिक सम्मान, हित र स्वाभिमानका आधारमा मात्र अगाडि बढाउनुपर्छ ।
म गृहमन्त्रायलमा छँदा अनुभूत गरेको छु । त्यतिबेला १०९ सशस्त्र समूहहरु थिए, ती को र कहाँबाट परिचालन हुन्थे, सबै मलाई थाह छ । त्यसकारण यी कुराहरुलाई सम्झना गर्दै अब हामीले हाम्रा सम्बन्धका आयामहरुलाई अगाडि बढाउनुपर्छ ।
सबैभन्दा महत्वपूर्ण विश्वसनीयता भन्ने हुँदोरहेछ । म रक्षा मन्त्रालयमा छँदा चिनियाँ प्रतिनिधिमण्डल आएको थियो । त्यसमा उच्च सैनिक प्रतिनिधिमण्डलसँग भेट भयो रक्षा मन्त्रालयमा । मैले कस्ता कुरा सुनेको थिएँ, मैले के भनेको थिएँ, त्यो त म स्मरणमात्र गर्न चाहन्छु ।
हल्लाका लागि मात्र बीआरआई, रेल, सडक, आदि इत्यादि कुराहरुको गफ गर्नु हुँदैन ।
म सत्तापक्षकै सांसद हुँ । भारत भ्रमण गर्ने बेलामा पनि प्रधानमन्त्रीज्यूलाई मैले भनेको थिएँ, १९५० लगायतका सन्धि र सहमति नेपालको हित विपरीत छन् भनेर हामीले भन्न सकेका छैनौं भनेर ।
हाम्रो भारतसँगका सम्बन्धका आफ्नै आयामहरु छन् । चीनका सन्दर्भमा कुरा गर्दा हामीले जुन सहमति गरेका छौं, त्यसलाई हामीले दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ ।
बूढीगण्डकी र माथिल्लो कर्णाली नेपाल आफैंले बनाउनुपर्छ । हामीलाई कुनै जलाशययुक्त जलविद्युत आयोजना बनायौं र त्यसमा त्यहाँको प्रविधि र पुँजी एशियन इन्फास्ट्रचर एण्ड इन्भेस्मेन्ट बैंकको लगानीमा बन्दा नेपाललाई घाटा हुन्छ जस्तो मलाई चाँहि लाग्दैन ।
म सत्तापक्षकै सांसद हुँ । चीन संस्थापन पक्षसँग सम्बन्ध कायम गरेर स्थायित्व खोज्ने खालको कूटनीतिमा विश्वास गर्छ । तर हाम्रो तरिका कस्तो छ भने एउटा सरकारले १० बुँदे गर्यो, अर्को सरकारले त्यो अत्तोपत्तो नै पाउँदैन ।

म हिजो गृहमन्त्री थिएँ, एउटा कुरा भनें । दुईवर्षपछि गृहमन्त्री हुँदा मेरो पहिलेको कुरो अत्तोपत्तो छैन । अनि कसले विश्वास गर्छ ? यस्तो कुरा हाम्रो राज्य सञ्चालनमा कदापि हुनुहुँदैन । कि त बोल्नुहुँदैन, बोलेपछि त्यो काम गर्नुपर्छ ।
नयाँ जुन रेलमार्गको कुरा आइराखेको छ, मैले यसलाई कसरी बुझेको छु भने धमाधम चीनका रेल नेपालमा आउने, भारतसँग बनाए भारतका रेल आउने, यदि यस्तो हो भने यो रेलमार्ग नल्याए पनि हुन्छ । बाटो चाहिँ बनाइदिने हो, प्राविधिक सहयोग गर्ने हो । रेल नेपालको चलाउने हो । सीमाना सीमानामा भारतको रेल आउँछ भने त्यो नेपालको हितमा छैन । यो बन्द गर्नुपर्छ । जलमार्ग पनि भारतका स्टिमर ल्याएर कोशीमा चलाउने हो भने काम छैन । बन्द गरिदिए हुन्छ ।
(ने क पा का नेता रावलले मदन भण्डारी फाउन्डेसनद्वारा अनामनगरमा आयोजित कार्यक्रममा व्यक्त गरेको विचारको सम्पादित अंश )





























