नेकपा (विप्लव)का दर्जनौ नेता कार्यकर्ता गिरफ्तार

नेकपा (विप्लव)का दर्जनौ नेता कार्यकर्ता गिरफ्तार

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल कम्यनिस्ट पार्टी (विप्लव)का विभिन्न स्थानबाट दर्जनौं नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । उक्त पार्टीका सल्लाहकार समितिका अध्यक्ष इश्वरी दाहाल‘असारे काका’, पोलिट ब्युरो सदस्य पदम राई‘विकास’, भरत बम ‘रणवीर’, केन्द्रीय सदस्य मकर गुरुङ लगायत नेता कार्यकर्तालाई शान्तिपूर्ण रुपमा गरिएको कार्यक्रममा हस्तक्षेप गरी गिरफ्तार गरिएको छ । पक्राउ पर्ने अन्यमा नेकपा निकट जनगणतान्त्रिक सम्पर्क समाजका केन्द्रीय अध्यक्ष रत्न मगर, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव धिरेन्द्र उपाध्याय ‘भृकुटी’ लगायत रहेका छन् । पक्राउ परेका सबैलाई प्रहरी चौकी बालाजुमा राखिएको छ ।

यसैबीच, नेकपा (विप्लव)का महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले एक वक्तव्य जारी गरी सरकारको फासिवादी कदमविरुद्ध प्रतिरोध गर्न आह्वान गरेका छन् । उनले वक्तव्यमा भनेका छन्, ‘कम्युनिस्टका नाममा सामाजिक फासिवादको अभ्यास गरिराखेको केपी ओलीको सरकार गठन भएदेखि नै जनयुद्ध र जनआन्दोलनद्वारा प्राप्त सीमित राजनीतिक उपलब्धिहरू खोस्दै गएको छ । साथै संसदीय दलहरूले नै बनाएको भनिएको संविधानमा राखिएका प्रावधानहरूलाई यो सरकारले लत्याइराखेको छ ।”

विप्लवले सरकारलाई आफ्नो पार्टीका नेता कार्यकर्ता तुरुन्त रिहा नगरिए सशक्त संघर्षमा उत्रने चेतावानी दिएका छन् ।