एकै परिवारको ११ जना झुण्डिएको अवस्थामा मृत फेला

एकै परिवारको ११ जना झुण्डिएको अवस्थामा मृत फेला

सांकेतिक फोटो

काठमाडौं, असार १७ । नयाँदिल्लीमा एक भयानक घटना घटेको छ । एउटा घरभित्र ११ जनाको शव झुण्डिएको अवस्थामा फेला परेको छ र सबैको आँखा तथा मुखमा पट्टी बाँधिएको छ ।

बुराडीको सन्तनगर इलाकामा बालबच्चासहित ७ महिला र चार पुरुषको शव फेला परेको हो । सबै जना एकै परिवारका सदस्य रहेको स्थानीयबासीले बताएका छन् । प्रहरीले छिमेकीहरुसँग सोधपुछ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

आइतबार बिहान एकजना छिमेकीले घरको आँगनमा केही शव झुण्डिएको देखेपछि तुरुन्तै वरपरका बासिन्दालाई बोलाई प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुग्दा घरको ढोका खुल्लै थियो । केही शव घरको आँगनमा झुण्डिएको अवस्थामा थिए भने केही शव घरभित्र पंखामा झुण्डिएका थिए ।

किराना र फर्निचर पसल भएका उनीहरु सबै मिलानसार र शनिबार रातिसम्म पनि छिमेकीहरुले घरका सबै सदस्यलाई देखेको बताएका छन् । यो देख्दा यिनीहरु कुनै समस्यामा परेको भान हुँदैनथ्यो ।

प्रारम्भिक अनुसन्धानमा प्रहरीले यसलाई आत्महत्या भएको अनुमान गरेको छ । सामूहिक आत्महत्या गर्ने बेला एकअर्कालाई हेर्न र बोल्न नचाहेकाले सबैको आँखा र मुखमा पट्टी बाँधिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । तर, वास्तविकता भने पोस्टमार्टम रिपोर्टपछि मात्रै पत्ता लाग्ने छ ।