रवि लामिछाने र ‘निशाचर लामकाने’

रवि लामिछाने र ‘निशाचर लामकाने’

काठमाडौं । रवि लामिछाने सरकारी गलत सोचका कारण चर्चामा छन् । परिचयका हिसाबले उनी न्युज २४ मा कार्यरत पत्रकार मात्र हुन् । उनी जन्मका हिसाबले नेपाली र हालका बसाइ प्रमाणपत्रका हिसाबले अमेरिकी हुनपुगेका छन् ।

उनको चर्चाले प्रम केपी ओलीको चीन भ्रमण ओझेलमा पार्न थालेको छ । राजनीतिक शक्तिका हिसाबले उनी त्यति शक्तिशाली मानिस पनि होइनन् । उनको उचाइ सरकारी मानिसहरु भन्दा माथि पनि छैन । तर उनले सरकार र सरकारी मान्छेहरुलाई उनको आफ्नै आलोचना गर्दै वरिपरि प्रदक्षिणा गर्न लगाइरहेका छन् । लाग्छ उनीविरुद्ध सिङ्गो राज्य लागि परेको छ ।

बुधवार प्रेस काउन्सिलमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनी नै केन्द्र बने, तर आलोचनाको । सरकारी मान्छे सबैले उनको खुलेरै आलोचना गर्न समय सकाए पनि । सरकारी मान्छेका काम कानुनी र लामिछानेका काम गैरकानुनी घोषणा गरिए ।

लामिछानेलाई अमुक व्यक्तिको कार्यकक्ष, घर, डेरा आदिमा घुसी विना अनुमति गोप्य कुरा चोरेको आरोप लगाइयो । राज्यका हर्ताकर्ता ती अमुक व्यक्ति को थिए, केही पनि भनिएन । बरु उल्टै लामिछाने अमेरिकी आप्रवासी रहेको र प्रेस काउन्सिलबाट पत्रकारिताका लागि परिचय पत्र नै नलिएकाले मुद्दा लाग्ने कुरा गरियो । यसका अतिरिक्त सरकारी मान्छेहरुको गाथगादी ताकेको आरोप पनि लगाइयो ।

रवि लामिछानेका कुरा मात्र होइन, अब सरकारमा आसिन ‘निशाचर लामकाने’ का कुरा पनि छन् । रवि पक्षधर यस्ता निशाचर लामकानेलाई भन्छन्– सरकारी नेताहरु सुन तस्करीका ठूला माछा हुन् । प्रहरीको संवेदनशील सङ्गठन यसमा मुछिएको छ । ब्ल्याकमेलिङको व्यापार नै फस्टाएको छ । हर क्षेत्रमा नयाँ सरकारी सिण्डिकेटको खेती मौलाउन थालेको छ । चाकरी र दलालीको माग छ । यसलाई ‘समाजवाद’ निर्माणको मखमली पर्दाले छोप्न निकै कसरत गरिएको छ । रवि लामिछाने देशको यो दूर्दशालाई सतहमा ल्याउन चाहन्छन् ।

यी कुराबाट थाह लाग्छ, रविले सरकारी ऐनविधानको छाता ओढेर गर्न थालिएका गलत र भ्रष्ट कुराहरुको उजागर गर्न लाग्दा उनी सरकारी फन्दामा पारिदै छन् ।